मकवानपुर । मकवानपुरकाे हेटौंडामा माइ काेरा च्यालेन्ज २०२५ आयोजना गरिएकाे छ । हिमालयन राइडर्स सोसाइटी हेटौंडाकाे आयोजना तथा हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे सहकार्यमा शनिबार हेटौंडामा उक्त च्यालेन्ज गरेकाे हाे ।
काेरा च्यालेन्ज साइकल यात्रमा हेटौंडा ४ स्थित भुटनदेवी माविबाट सुरु भइ पारिजातपथ,पशुपति मन्दिर, भुटनदेवि मन्दिर, बुद्धचाेक, कान्तिराजपथ, चौघडा, गैरीगाउँ, शिवम् सिमेन्ट, हटियाचोक, चिसापानी, कमाने, शान्तिनगर भैरवरोड बुद्धचोक हुदै होटल दरबार चौकीटोल पुगेर समापन गरिएकाे थियो ।
साइकल यात्रा ४ नं. वडाध्यक्ष नवीन सिग्देलले उद्घाटन गरी सुरु भएकाे थियाे । २७ किमिकाे साइकल यात्रामा २ सयजनाकाे सहभागिता रहेकाे हिमालयन राइडर्स सोसाइटी हेटौंडाका अध्यक्ष राजु थापाले बताए ।
साइकलमा हुइकिने ६ जनालाई सम्मान
जागिर, व्यवसाय तथा व्यक्तिगत कामकाे लागि साइकलकाे प्रयोग गरी वातावरण जोगाउन महत्वपूर्ण भूमिका निभाएको भन्दै हिमालयन राइडर्स सोसाइटी हेटौंडाले ६ जनालाई सम्मान गरेको छ । माइ काेरा च्यालेन्ज २०२५ काे समापन कार्यक्रममा १ जना पत्रकारसहित ६ जनालाई सम्मान गरिएकाे हाे ।
२४ वर्षदेखि निरन्तर दैनिक कामकाजकामा साइकल प्रयोग गरिरहेका पत्रकार गोविन्द न्यौपाने, ३० वर्षदेखि साइकल प्रयोगकर्ता हेटौंडा–६ रामनगर निवासी स्कुल अफ मेनेजमेन्टमा कार्यरत आइतमान मुक्तान, १४ वर्षदेखि साइकलकाे प्रयोग गर्दै आएका सिटी कलेज हेटौंडामा कार्यरत हेटौंडा–६ का रामप्रसाद पोखरेल, सिटी कलेजका शिक्षक सिन्धुपाल्चोक चौतारा निवासी लक्ष्मण तामाङ, १४ वर्षदेखि साइकल प्रयोग गर्दै आएका मकवानपुर क्याम्पसका प्राध्यापक जयराम गौतम र रिलायन्स सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययनरत हेटौंडा–५ पिप्ले निवासी दीक्षान्त सुवेदीलाई सम्मान गरिएकाे हाे ।
शनिबार उनीहरुलाई हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देल, साइकल संस्कृति समुदाय नेपालका अध्यक्ष डा. तारालाल श्रेष्ठ र सोसाइटीका अध्यक्ष राजु थापामगरलगायतले सम्मानित गरेका हुन् ।

