मकवानपुर । हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीको भैंसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडक खण्ड अन्तर्गत कुलेखानी जलाशयको ड्याम मुनी सिमखेलामा बेलिब्रिज निर्माणकाे कार्य सुरु भएकाे छ । आइतबारबाट सिमखोलामा बेलिब्रिज जडान सुरु गरिएको हाे ।
गत वर्षकाे ११ र १२ असोजकाे अविरल वर्षासँगै आएको बाढीले सिमखाेलामा रहेकाे पुल क्षतिग्रस्त भएकाे थियाे । पहिले भएकाे पुलकाे दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राख्न लागिएको हो । आइतबार बिहानदेखि जनशक्ति र उपकरण प्रयोग गरेर बेलिब्रिज जडानको काम भइरहेको छ । पुल एक सातामा निर्माण सम्पन्न हुने पुल भएर सवारीसाधन सञ्चालन गर्न बढीमा दुई साता लाग्ने यातायात पूर्वाधार निर्देशनालयले जनाएकाे छ ।
सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे-भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डुखोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको छ । सिमखोलामा ६० मिटर लामो बेलिब्रिज हाल्नुपर्ने भएकाले २ वटा बेलिब्रिज झिकेर ल्याएको पूर्वाधार निर्देशनालयले जनाएकाे छ । साउनको पहिलो साता नै बेलिब्रिज हालेर सवारी साधन आउजाउ गराउने लक्ष्यका साथ काम भइरहेको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश सरकारले सिमखोलामा बेलिब्रिज निर्माणका लागि ठक्का आह्वान गरेकाे थियाे । यातायात पूर्वाधार निर्देशनालय हेटौंडा मार्फत सो पुल निर्माणका लागि ठेक्का आह्वान भएको थियाे । बेलिब्रिज निर्माणका लागि निर्देशनालयले १६ फागुन २०८१ मा टेन्डर आह्वान गरेको थियाे । माण्डु खोलाको बेलिब्रिज निकालेर ल्याउने र सिम खोलामा उक्त पुल अड्याउनका लागि निर्माण गरिने पक्की टेको र पहुँच मार्ग निर्माण गर्न टेन्डर आह्वान गरेकोमा गौरव इन्जिनियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । घट्टेखोला र माण्डु खोलामा पक्कि पुल निर्माण गरेर सञ्चालनमा आइसकेकाेले त्यसस्थानमा रहेको बेलिब्रिज सिमखोलामा प्रयोगमा ल्याइएकाे बताइएकाे छ ।
सिमखाेलाकाे पुल बाढीकाे कारण क्षतिग्रस्त भएपछि गत असोजबाटै पुल भत्किएकाे स्थान भन्दा केही तलबाट खोलामा डाइभर्सन निर्माण गरेर सवारी सञ्चालनमा गरिएकाे छ ।

