मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा धर्मेन्द्र दाहाल चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरको बुधबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे ।
अधिवेशनबाट समुहकाे उपाध्यक्ष विजय पौडेल, सचिव बलराम पुडासैनी, कोषाध्यक्ष सरला अधिकारी र सहसचिव उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै समूहको सदस्यहरु मिना श्रेष्ठ, बिक्रमकुमार बानियाँ, दिलबहादुर लामा, अनिष चौँलागाई, सुशन लामिछाने र राजन कटुवाललाई चयन भएका छन् ।

सोही अवसरमा अधिवक्ता एवम् पत्रकार ऋषि केबीको स्वर्गीय पिता रामहरि केशीको स्मृतिमा ‘स्वर्गीय रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७’ स्थापना गरिएको छ । समूहले यस बर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगद २ हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरेको छ।
स्वर्गीय केबीको बुहारी पुन्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रममा समूहका बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सल्लाहकार बालकृष्ण अधिकारीलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेकपा (माओवादी केन्द्र) कैलाश गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । कैलाश गाउँपालिका ६ नम्बर वडा कमिटीको आयोजनामा वडा स्तरीय जन वर्गीय संघटन (जबस) भेला तथा प्रशिक्षण भएकाे हाे ।
६ नम्बर वडास्थित मजुवामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, दलित, गरिब, सुकुम्बासीहरुको मुक्ति र अधिकारको निम्ति लड्ने पार्टी माओबादी मात्र भएको बताए ।
समाजवाद उन्मुख संवैधानिक संघीय गणतान्त्रिक व्यवस्थालाई संस्थागत विकास र समृद्धि गराउन वडा र गाउँलाई माओवादीमय बनाउने अभियानमा लाग्न उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे । माओवादी बिचारबाट मात्रै वडा र गाउँ विकास र समृद्धि सम्भव रहेको पाख्रिनले बताए ।
भेलाले जीवन मोक्तानकाे अध्यक्षतामा २५ सदस्यीय वडा वाइसीएल कमिटी घोषणा गरेको छ । कमिटिको उपाध्यक्षमा राम बहादुर पाख्रिन, सचिवमा गणेश घलान, सह–सचिवमा देविन्द्र थापा मगर, कोषाध्यक्षमा सुष्म रुछाल मगर, सदस्यहरुमा डम्बर बहादुर घले, सहादेव कार्की, प्रशान्त वाइबा लगायत रहेका छन् ।
वडा पार्टी कमिटी अध्यक्ष तुलराज दर्लामी मगरले सञ्चालन गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कैलाश गाउपालिका कमिटी इन्चार्ज बाल कुमार मल्ल, गाउँपालिका अध्यक्ष लालसिं गुरुङ, सदस्य बुद्धिराज गिरी, अमर घले, वाइसीएल गाउपालिका कमिटी अध्यक्ष मिलन तामाङ लगायतका आतिथ्यता रहेको थियो ।
मकवानपुर । हेटाैडाकी सुस्मिता थापा हत्याकाण्डका आराेपित अरुण कार्की पुर्पक्षको लागि थुनामा राख्न कारागार पठाइएकाे छ ।
हेटौँडा–४ कर्राकी सुस्मिता केसी थापाको हत्या आरोपमा सुस्मिताको जेठी नन्द दुर्गा कार्कीको श्रीमान अरुण कार्की जिल्ला अदालत मकवानपुरमा साेमबार हाजिर भएका थिए । सोमबार जिल्ला अदालतमा हाजिर भएपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो ।
मगलबार न्यायाधिस सिता अधिकारीकाे इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हाे । सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका कार्की मंगलबार भएको थुनछेक बहसपछि पुर्पक्षकाे लागि थुनामा राख्ने आदेश भएको श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।
यसअघि बुहारी सुस्मिता थापाको हत्या आरोपमा उनको ससुरा प्रकाश थापा, सासू तुलसाकुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापालाई पुर्पक्षको लागि कारागार पठाइएको थियो । फरार रहेका अरुण कार्की आफै अदालतमा हाजिर भएसँगै सुस्मिता हत्याकाण्डमा आरोपितहरु सबै पक्राउ परिसकेको छ ।
हत्यामा संलग्न भनिएका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसी कुमारी थापालाई १२ बर्ष जेल सजाय, अर्की नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले चाेरी मुद्दाकाे फरार प्रतिवादी १ जनालाई पक्राउ गरेकाे छ ।
मकवानपुर जिल्ला अदालतको २०७७ साल पुष २४ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३ लाख जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी भुपाल थिङलाई पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर हेटाैडा वडा नं. ३ बस्ने थिङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २८ गते हेटाैडा १४ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराइएकाे प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
पक्राउ परेका थिङले जरिवाना वापतकाे ३ लाख रुपैया तिर्न नसकी जरिवानाको कैद समेत गरी २ बर्ष १० महिना १५ दिन कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी मकवानपुर पठाईएको दासले जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । प्रहरीले सार्वजनिक अपराध मुद्दा र चाेरी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७२ साल पुष १२ गतेको फैसलाले सार्वजनिक अपराध मुद्दामा २ हजार ३ सय ७५ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी लिलानाथ न्याैपानेलाई पक्राउ गरिएकाे हाे । हेटाैडा उपमहानगरपालिका वडा नं. १४ बस्ने न्यौपानेलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २९ गते हेटाैडा १४ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
यस्तै मकवानपुर जिल्ला अदालतको २०७८ साल बैशाख ८ गतेको फैसलाले चोरीमुद्दामा १० महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मिलन स्याङतानलाई पक्राउ गरिएकाे छ । भिमफेदी गाउँपालिका वडा नं. ६ बस्ने स्याङतानलाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २८ गते भिमफेदी ६ बाट पक्राउ गरिएकाे प्रहरी निरीक्षक दासले जानकारी दिए ।
पक्राउ परेका न्याैपाने र स्याङतानलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको मकवानपुर प्रहरीले जनाएकाे छ ।