मकवानपुर । हेटाैडाकी सुस्मिता थापा हत्याकाण्डका आराेपित अरुण कार्की पुर्पक्षको लागि थुनामा राख्न कारागार पठाइएकाे छ ।
हेटौँडा–४ कर्राकी सुस्मिता केसी थापाको हत्या आरोपमा सुस्मिताको जेठी नन्द दुर्गा कार्कीको श्रीमान अरुण कार्की जिल्ला अदालत मकवानपुरमा साेमबार हाजिर भएका थिए । सोमबार जिल्ला अदालतमा हाजिर भएपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो ।
मगलबार न्यायाधिस सिता अधिकारीकाे इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हाे । सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका कार्की मंगलबार भएको थुनछेक बहसपछि पुर्पक्षकाे लागि थुनामा राख्ने आदेश भएको श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।
यसअघि बुहारी सुस्मिता थापाको हत्या आरोपमा उनको ससुरा प्रकाश थापा, सासू तुलसाकुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापालाई पुर्पक्षको लागि कारागार पठाइएको थियो । फरार रहेका अरुण कार्की आफै अदालतमा हाजिर भएसँगै सुस्मिता हत्याकाण्डमा आरोपितहरु सबै पक्राउ परिसकेको छ ।
हत्यामा संलग्न भनिएका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसी कुमारी थापालाई १२ बर्ष जेल सजाय, अर्की नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको थियो ।

