मकवानपुर/ मानव बेचविखन जस्तो जघन्य अपराध रोकथाम कार्यमा माइती नेपालले संचालन गर्दै आएको सचेतनामुलक कार्यक्रम प्रभावकारी रहेको बताइएको छ ।
जीवनशैली रुपान्तरण तथा सीपमूलक तालिमबाट मानव बेचविखन रोकथाम कार्य संभव भएको सत्यलाई अनुसरण गर्दै माइती नेपालले सञ्चालन गर्दै आएको कार्यक्रम प्रभावकारी रहेको सहभागीहरुले बताएका हुन् ।
माइती नेपाल मकवानपुरले आयोजना गरेको नगरपालिकास्तरीय सुझाव समितिको बैठकमा यस्तो बताइएको हो । बैठकमा माइती नेपालसंग सहकार्य गरी काम गर्न आफूहरु पनि तयार रहेको हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामाले बताइन् । यस्ता कार्यक्रममा उपमहानगरपालिकाको नगरसभाबाट बजेट विनियोजन गरेर सहकार्यको लागि पहल गर्ने उपप्रमुख लामाले बताइन् । उनले लैंगिक हिंसा परिचालन कोषलाई प्रभावकारी बनाउन पहल गर्ने पनि बताइन् ।
कार्यक्रमम उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले पाठ्यक्रम निर्माण गर्ने सिलशिला रहेकोले मानवबेचबिखन विरुद्धको विषयवस्तु अन्तरगत के कस्ता सवाल राख्दा सान्दर्भिक हुने सो बारे लिखित रुपमा सुझाव माग गरे । संस्थाहरुले परियोजना सकिएपछि बैठक गर्नु भन्दा कार्यक्रम र बजेट पहिले नै उपलबध गराइएमा नगरपालिकाको रातो किताबमा समेत प्रकाशन सहज हुने उनले बताए ।
माइती नेपाल रोक्थाम गृह मकवानपुरको आयोजनामा माइती नेपाल मकवापुरले गत आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गरिएका कार्य प्रगती साथै आगामी योजनाबोरमा मंगलबार नगरपालिकास्तरीय सुझाव समितिको बैठक बसेको थियो । कार्यक्रममा माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले सहभागी समपूर्ण सरोकारवालाहरुलाई परियोजनाको बारेमा जानकारी गराएकी थिइन् ।

परियोजना अन्तरगत गतवर्ष ४० किशोरी तथा महिलाहरुलाई सिलाई कटाइ सम्बन्धी तालिम प्रदान गरिएको, तालिम प्राप्त किशोरीहरु मध्ये अधिकांशले सिलाई व्यवसाय सञ्चालन गरी आर्थिक उपार्जनमा लागेको, तालिम प्राप्त मध्ये २ जनालाई माइती नेपालको पहल र सिविन नेपालको सहयोगमा सिलाई सामग्री वितरण गरिएको, १ जना १४ बर्षको बालिका तथा निजको ६ महिनाको छोरीलाई मकवानपुरगढी गाउँपालिकाको सहयोगमा माइती नेपालको केन्द्रीय कार्यालयमा दीर्घकालिन संरक्षणमा राखिएको बारे जानकारी गराइएको थियो ।

यसैगरी उद्धार अन्तरगत गतवर्ष मकवानपुरको मनहरी गाउँपालिकाको १ जना ६ महिनाको बालकलाई भारतको राजस्थानबाट मनहरी गाउँपालिका, जिल्ला प्रहरी कार्यालय र माइती नेपालको सयुक्त पहलमा उद्धार गरी परिवारमा पुर्नमिलन गराएको, माइती नेपालको समन्वय र राडो नेपालको सहयोगमा हिंसाबाट प्रभावित २ जना किशोरीहरुलाई जनही १० हजार प्रदान गरिएको पनि जानकारी गराइएको थियो ।
हेटौडा उपमहानगरपालिका उपप्रमुख मिना लामाको अध्यक्षतामा संचालन भएको बैठक सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले सहजीकरण गर्नु गरेकी थिइन् भने महिला तथा बालबालिका महाशाख प्रमुख जगन्नाथ सापकाेटा, मानव अधिकार संरक्षणा तथा मानव बेचविखन विरुद्वकाे जिल्ला सञ्जाल अध्यक्ष आरती पाठक, हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबालगायत जिल्लाका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले ६९ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित हेटाैडाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्वर– ५ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ कमाने बस्दै आएका ३४ बर्षीय सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नम्वर– १ बस्ने ३३ बर्षीय अमरबहादुर गिरी र सोही स्थान बस्ने २६ बर्षीय इन्द्रबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उनीहरुलाई सोमबार साँझ प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ स्थित पालुङ बसपार्कबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ना १ ह ७६३८ नम्वरको अटोलाई चेकजाँच गर्दा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याइएको १० वटा पोकाको साढे ६९ किलो गाँजा फेला परेपछि प्रहरीले उक्त अटो नियन्त्रणमा लिनुको साथै गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकाेटा जानकारी दिए ।
३४ बर्षीय मोक्तान अटो चालक हुन् भने अन्य दुई जना लागूऔषध गाँजा ओसारपसारमा संलग्न भएको पाइएकाेले प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दोस्रो पूर्ण बैठक पुष १४ गते बुधबारबाट बागमती प्रदेश राजधानी हेटौंडामा हुने भएको छ ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु बागमती कमिटीका अध्यक्ष सन्तोष राना क्षेत्रीले पुष १४ र १५ गते हुने अनेरास्ववियुको दोस्रो पूर्ण बैठक हेटाैडा हुने जानकारी दिए । बैठकमा प्रदेश कमिटिको शपथ ग्रहण, प्रदेश कार्यलय उद्घाटन र २ दिवसीय आवसीय प्रशिक्षण कार्यक्रममा १० जिल्लाबाट ६५ जना प्रदेश सदस्यहरु सहभागिता रहने क्षेत्रीले बताए । उनले २ दिने प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको समेत जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रानाले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले भागबन्डाको नाममा मन्त्रालयहरु फुटाएर जनतामाथि व्ययभार थप्ने मात्र काम गरेको टिप्पणी गरे । उनले भने,‘समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा विरोधी पाँचदलीय अपवित्र गठबन्धनबाट बनेको राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारले राज्यमाथि अर्बो रुपैयाँको व्ययभार थपिने गरी मन्त्रालयको विभाजन र भागबण्डा संघीयता मूलमन्त्र विपरित छ ।’
यसैगरि,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं अनेरास्ववियु बागमती प्रदेश कमिटी सह–ईन्चार्ज सन्तोष पौडेलले राज्यले अर्बो लगानी गरेको सामुदायिक विद्यालयहरु नजिकै निजि लगानीका बोर्डिङहरुले अंग्रेजी शिक्षाको नाममा चर्को शुल्क अशुल्ने काम गरिरहेको बताए । उनले सामुदायिक विद्यालयको माध्यमिक शिक्षा तह सम्ममा सबैको निशुल्क पहुँच हुने भनिएता पनि निजि विद्यालयहरुको कारण धनिहरु निजि विद्यालय बोर्डिङ र पैसा नहुनेहरु सामुदायिक विद्यालयमा जानुपर्ने अवस्था रहेको बताए ।
उनले शिक्षामा सबैको समान पहुँच नभएको बताउँदै अनेरास्ववियुले शिक्षाको अवस्थाको अध्ययन,अुसन्धान गर्दै समान शिक्षाको लागि रचनाआत्मक आन्दोलनको कार्यक्रमहरु गर्ने बताए । उनले यसको लागि प्रदेशको सबै जिल्लाहरुमा अध्ययन,अनुसन्धान र तथ्याङ्क विवरणको संकलनको कामहरु भईरहेको बताए ।
अनेरास्ववियुको प्रदेश बैठक र प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल,एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे,एमाले केन्द्रीय सदस्यहरु ईश्वरी रिजाल,माधव ढुंगेल,रचना खड्का लगाएत नेताहरु सहभागिता रहने बताईएको छ ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय सदस्य आषिष अस्लामी मगर,नितेस लामिछाने, अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेल, अनेरास्ववियु मकानपुरका उपाध्यक्ष भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुँयाल,दिनेश हुँमगाई लगाएत अनेरास्ववियु मकवानपुरका पदाधिकारीको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नं. ८ का २४ जना एमालेमा प्रवेश गरेका छन् । मंगलबार नेकपा एमाले पार्टी कार्यलय हेटाैडामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यहरु सहित स्थानीन तहमा वडा अध्यक्षका उम्मेद्वार, वाईसिएल नेपालका जिल्ला सदस्य सहित एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा वडा अध्यक्षका उम्मेद्वार धर्मराज पुडासैनी, जिल्ला सदस्य परमानन्द मिश्र, माओवादी केन्द्रका नगरकमिटि सदस्य सादुराम राउत, होमनाथ खनाल, माओवादी केन्द्र हेटौँडा ८ का वडा सचिव सुजन कार्की, वडा कमिटि सदस्यहरु साधुराम ग्यावा, सुर्य खनाल, रिता अधिकारी, वाईसियल जिल्ला सदस्य विराज गौतम, सन्तोष डंगोल लक्षु उप्रेती, अमृत डिडमडुम, प्रदिप मिश्र लगाएतका दुई दर्जन माओवादी नेता कार्यकर्ता छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल सहितका टोलीले स्वागत गरेका थिए ।
मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । पिप्ले युवा क्लबद्वारा निर्माण हुँदै गरेकाे क्याम्पा रंगशालाको सोमबार जाेशीले अवलाेकन गरेका थिए । अवलोकन पछि जोशीले उक्त रकम सहयोगको घोषणा गरेकाे पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।
स्थानीय सरकार, विभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा नागरिकस्तरबाट निर्माणाधिन रंगशालाका लागि नियमितजसो सहयोग प्राप्त भइरहेको क्लबका अध्यक्ष घिमिरेले बताए ।क्याम्पा रंगशालामा ३ हजार ५ सय दर्शक क्षमताको आरसीसी प्यारापिट तथा ३ हजार दर्शक क्षमताको फलामे ट्रसको प्यारापिट बनाइँदै छ । जोशीले उपलब्ध गराउने घाेषणा गरेकाे रकमबाट फलामे ट्रसको प्यारापिट नै निर्माण गरिने अध्यक्ष घिमिरेले बताए ।