मकवानपुर । मकवानपुर प्रहरीले ६९ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित हेटाैडाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्वर– ५ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ कमाने बस्दै आएका ३४ बर्षीय सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नम्वर– १ बस्ने ३३ बर्षीय अमरबहादुर गिरी र सोही स्थान बस्ने २६ बर्षीय इन्द्रबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उनीहरुलाई सोमबार साँझ प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ स्थित पालुङ बसपार्कबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ना १ ह ७६३८ नम्वरको अटोलाई चेकजाँच गर्दा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याइएको १० वटा पोकाको साढे ६९ किलो गाँजा फेला परेपछि प्रहरीले उक्त अटो नियन्त्रणमा लिनुको साथै गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकाेटा जानकारी दिए ।
३४ बर्षीय मोक्तान अटो चालक हुन् भने अन्य दुई जना लागूऔषध गाँजा ओसारपसारमा संलग्न भएको पाइएकाेले प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

