मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दोस्रो पूर्ण बैठक पुष १४ गते बुधबारबाट बागमती प्रदेश राजधानी हेटौंडामा हुने भएको छ ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु बागमती कमिटीका अध्यक्ष सन्तोष राना क्षेत्रीले पुष १४ र १५ गते हुने अनेरास्ववियुको दोस्रो पूर्ण बैठक हेटाैडा हुने जानकारी दिए । बैठकमा प्रदेश कमिटिको शपथ ग्रहण, प्रदेश कार्यलय उद्घाटन र २ दिवसीय आवसीय प्रशिक्षण कार्यक्रममा १० जिल्लाबाट ६५ जना प्रदेश सदस्यहरु सहभागिता रहने क्षेत्रीले बताए । उनले २ दिने प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको समेत जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रानाले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले भागबन्डाको नाममा मन्त्रालयहरु फुटाएर जनतामाथि व्ययभार थप्ने मात्र काम गरेको टिप्पणी गरे । उनले भने,‘समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा विरोधी पाँचदलीय अपवित्र गठबन्धनबाट बनेको राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारले राज्यमाथि अर्बो रुपैयाँको व्ययभार थपिने गरी मन्त्रालयको विभाजन र भागबण्डा संघीयता मूलमन्त्र विपरित छ ।’
यसैगरि,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं अनेरास्ववियु बागमती प्रदेश कमिटी सह–ईन्चार्ज सन्तोष पौडेलले राज्यले अर्बो लगानी गरेको सामुदायिक विद्यालयहरु नजिकै निजि लगानीका बोर्डिङहरुले अंग्रेजी शिक्षाको नाममा चर्को शुल्क अशुल्ने काम गरिरहेको बताए । उनले सामुदायिक विद्यालयको माध्यमिक शिक्षा तह सम्ममा सबैको निशुल्क पहुँच हुने भनिएता पनि निजि विद्यालयहरुको कारण धनिहरु निजि विद्यालय बोर्डिङ र पैसा नहुनेहरु सामुदायिक विद्यालयमा जानुपर्ने अवस्था रहेको बताए ।
उनले शिक्षामा सबैको समान पहुँच नभएको बताउँदै अनेरास्ववियुले शिक्षाको अवस्थाको अध्ययन,अुसन्धान गर्दै समान शिक्षाको लागि रचनाआत्मक आन्दोलनको कार्यक्रमहरु गर्ने बताए । उनले यसको लागि प्रदेशको सबै जिल्लाहरुमा अध्ययन,अनुसन्धान र तथ्याङ्क विवरणको संकलनको कामहरु भईरहेको बताए ।
अनेरास्ववियुको प्रदेश बैठक र प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल,एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे,एमाले केन्द्रीय सदस्यहरु ईश्वरी रिजाल,माधव ढुंगेल,रचना खड्का लगाएत नेताहरु सहभागिता रहने बताईएको छ ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय सदस्य आषिष अस्लामी मगर,नितेस लामिछाने, अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेल, अनेरास्ववियु मकानपुरका उपाध्यक्ष भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुँयाल,दिनेश हुँमगाई लगाएत अनेरास्ववियु मकवानपुरका पदाधिकारीको उपस्थिति रहेको थियो ।

