मकवानपुर । नेपाली कांग्रेसकाे महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशनमा सभापतिका ३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। आइतबार मकवानपुर जिल्ला सभापति पदका लागि आनन्दराम पराजुली, जयराम लामिछाने र बुद्ध लामाले आफ्नो प्यानलसहित उम्मदेवारी दर्ता गराएका हुन्।
पराजुलीको उम्मेदवारी दर्ता प्रस्तावकमा दिनेश उपाध्याय र समर्थकमा निलम बजगाई देवकोटा रहेका छन् । पराजुलीको प्यालनबाट जिल्ला उपसभापतिमा भीम लामा र रमेश गिरी छन् । यस्तै सचिवमा मान बहादुर पाटा मगर र यतिराज सापकोटा रहँदा सहसचिवमा कृष्णप्रसाद दाहाल र मिरा स्याङ्तान रहेका छन् ।
सभापतिका अर्का उम्मेदवरा लामिछानेको प्रस्तावकमा देव कुमार श्रेष्ठ र समर्थकमा इश्वरनाथ पौडेल रहेका छन् । लामिछानेको प्यानलबाट जिल्ला उपसभापतिमा धर्मराज लामिछाने र आनन्द कठायत रहेका छन् भने सचिवमा इश्वर कुमार पाठक र भीमसेन महत रहेका छन् । सहसचिवको उम्मेदवार इन्दिरा न्यौपाने र रत्नबहादुर गोले रहेकाे बताइएकाे छ ।
सभापतिका अर्का उम्मेदवार लामाको प्रस्तावकमा प्रभात दाहाल र समर्थकमा रामबाबु बानियाँ छन् । लामाको प्यालनबाट जिल्ला उपसभापतिमा गोपीलाल विश्वकर्मा र रामबाबु बानियाँ रहेका छन् । यस्तै सचिवमा अर्जुन प्रसाद चौलागाई र प्रदिप कोइराला रहँदा अर्जुनप्रसाद तिवारी र ताराचन्द्र बजगाई सहसचिवको उम्मेदवार छन् ।
उपसभापतिमा चन्द्रबहादुर पौडेल र सहसचिवमा सुमन कार्कीले एकल उम्मेदवारी दर्ता गराएका छन् । अधिवेशन अन्तर्गत मतदान फागुन १६ गते सोमबार विहान ८ बजेबाट सुरु हुने कार्यतालिका छ ।
मकवानपुर/ वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गम १ लाख नगद सहित मकवानपुरमा सम्मानित हुने भएका छन् ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट यसवर्ष जङ्गमलाई सम्मान गर्न लागेको हो । आइबार हेटौंडामा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै उक्त पुरस्कार जङ्गमलाई प्रदान गर्ने निर्णय भएको सार्वजनिक गरिएको हो ।
हेटौंडाका व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिदै आइरहेको छ । जसको राशी एक लाख रुपैयाँ रहेको छ ।
२०१० सालमा भक्तपुरमा जन्मिनु भएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।
उनलाई २७ फागुनमा यो सम्मान प्रदान गरिने भएको छ । उक्त पुरस्कार सँगसँगै अन्य १० वटा पुरस्कार पनि प्रतिष्ठानको व्यवस्थापनमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले जानकारी दिए ।
२०६४ सालमा वरिष्ठ संगीतकार अम्बर गुरुङलाई पुरस्कार प्रदान गरि सुरु गरिएको पुरस्कार गतवर्ष नेपाली भाषी भारत दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार तुल्सी थापा, मुक्तिगोविन्द वैद्य, गायिका शुशिला मानन्धर, उपाध्यक्ष विष्णुगोपाल महर्जन, कोषाध्यक्ष निरा शर्मा, पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिले शनिबार हेटौंडामा पद तथा गोपनीयताको सपथ लिएको छ । ८१ सदस्यीय कमिटिलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपालीले पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।
सपथ लगत्तै भएको नगर कमिटिको प्रथम पूर्ण बैठकले नगर अधिवेशनबाट चयन हुन बाँकी दुई उपाध्यक्ष र सचिव चयन गरेको छ । बैठकले उपाध्यक्षमा प्रदिप अर्याल र गुणराज घिमिरे (शंकर) र सचिवमा भुवन खनाललाई चयन गरेको हो ।
यस अघि भएको अधिवेशनबाट अध्यक्षमा तीर्थ थापा, उपाध्यक्ष सोनी गुरुङ, सह सचिव राजकुमार बानियाँ र कोषाध्यक्ष तारादेवी मोक्तान चयन भएका थिए । बैठकले २७ सदस्यीय नगर सचिवालय पनि गठन गरेको छ । सपथ ग्रहण तथा प्रथम पूर्ण बैठक नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य नेपालीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका उपाध्यक्ष प्रेम बहादुर पुलामीको विषेश आतिथ्यतामा भएको हो । बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका संयोजक सर्केश घलान, सचिव भीम पाख्रिन, मकवानपुर १ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज ललित घलानलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अधिवेशनमा पार्टी सचिव बुद्ध लामाले समेत सभापति पदमा उम्मेदवारी घाेषणा गरेका छन् । पार्टी सचिव लामाले शनिबार हेटौंडा–५ स्थित हेटौंडा रिसोर्टमा घोषणा सभा आयोजना गरेर फागुन १५ गतेदेखि हुने अधिवेशनमा सभापति पदकाे लागि आधिकारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
लामाले सभापति पदमा सहमतिको प्रयास भइरहेकोले कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको नेतृत्वमा चुनावमा जाने सहमति जुटेकाे अवस्थामा आफू ब्याक हुने समेत उम्मेदवार घाेषणा कार्यक्रममा लामाले बताए । लामाले लामिछाने लामो संघर्ष गरेर निरन्तर राजनीतिमा क्रियाशील रहेको भन्दै लामिछानेकै नेतृत्वमा आफूहरु जान तयार भएको प्रष्ट पारेका छन् ।
‘सहमतिकाे प्रयास असफल भए चुनावमा लामिछाने दाई जानुहुन्न मलाई सहयोग गर्नुहुन्छ, म पनि सभापति पदमा उम्मेदवारी दिन्छ् ।’ लामाले भने । उनले आफ्नो नेतृत्वमा निवर्तमान सभापति इन्द्रबहादुर बानियाँले जिल्लामा स्थापित गराएको कांग्रेसको गरिमालाई आँच आउन नदिने गरी काम गर्ने बताए ।
कार्यक्रममा जिल्ला कोषाध्यक्ष गोपीलाल विक, प्रवक्ता प्रदीप कोइराला, सह सचिव रामबाबु बानियाँ, महिला नेतृ जानकी लामा, नेता प्रभात दाहाल, सुनिल दाहाल, प्रतिनिधि सभा २ का प्रदेश सभा क्षेत्र ख का सभापति रन्जन कालाखेती, क्षेत्र १ प्रदेश सभा ख का सभापति राजेश बानियाँ लगायतले भनाइ राखेका थिए ।
प्रतिनिधि सभा क्षेत्र २ का सभापति लोक बहादुर मोक्तानको अध्यक्षता तथा पार्टीको कार्यबहाक सभापति विष्णु प्रसाद लामिछानेको प्रमुख अतिथ्यतामा घोषणा कार्यक्रम भएकाे हाे ।
यस अघी शुक्रबार जिल्ला सभापति पदका लागि आनन्दराम पराजुलीले उम्मेदवारी घाेषणा गरेका थिए । शुक्रबार नै सभापति पदमा जयराम लामिछानेले प्यानल र प्रतिवद्धता सहितकाे उम्मेदवारी घाेषणा गरिसकेका छन् ।
कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनकाे निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली सार्वजानिक गर्ने रहेकाे छ भने सोमबार विहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने नेपाली काँग्रेस निर्वाचन जनाएको छ ।
मनाेनयन दर्ता गर्ने समयसम्म सहमति कायम हुन नसकेमा कांग्रेस मकवानपुर सभापतिका लागि ३ जना उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनिया र केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्यायले सहमतिकाे लागि प्रयास गरिरहेकाे बताइएकाे छ ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेकाे छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगमले यस बर्ष ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरेकाे हाे ।
शनिबार ५ साहित्यिक श्रष्टालाई विभिन्न साहित्य सम्मानबाट मम्मानीत गरेकाे संगमले २ जनालाई साहित्य पुरस्कारबाट सम्मानित गरेकाे छ। संगमले आफ्नाे ३ सय १६ औं साहित्य सन्ध्यामा उक्त सम्मान तथा पुरस्कार प्रदान गरेकाे हाे ।
यस वर्षकाे मकवानपुर साहित्य श्री सम्मानबाट मकवानपुरे युवा साहित्यकार सुवास खनाल सम्मानित भएका छन् । संगमले स्थापना गरेकाे उक्त सम्मान १५ हजार ५ सय ५५ रुपैयाँ राशीकाे रहेकाे छ । यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति सम्मानबाट चितवनका साहित्यकार मनोज भण्डारी सम्मानित भएका छन् । साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ ।
हाल अमेरिका निवासी मकवानपुरका दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको १० हजार राशीकाे सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य सम्मानबाट मकवानपुरका साहित्यकार दीपक गौतम सम्मानित भएका छन् । यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैयाँ राशीकाे मङ्गलादेवी श्रेष्ठ स्मृति नारी साहित्य सम्मानबाट साहित्यकार रुकु कार्की सम्मानित भएकाे संगम अध्यक्ष अनिता न्याैपानेले जानकारी दिइन् ।
यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यसवर्षबाट स्थापना गरेको १० हजार रुपैयाँ राशीकाे मुक्क्ति–तारा साहित्य सम्मानबाट समिक्षक घनश्याम घिमिरे सम्मानित भएका छन् । यो सम्मान पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने गरि स्थापना गरिएकाे न्याैपानेले बताइन् ।
यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारकाे राशी ५ हजार रुपौयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ ।
न्याैपानेका अनुसार शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिएकाे छ । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई १ जनालाई प्रदान गरिदै आएको छ ।
साहित्यकार तुल्सी थापाकाे विशिष्ट आथित्यता तथा संगम अध्यक्ष न्याैपानेकाे सभाध्यक्षतामा भएकाे ३ सय १६ औ साहित्य सन्ध्या तथा सम्मान कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्यहरुले मन्तव्य सहित साहित्यिक रचना वाचन गरेका थिए । कार्यक्रममा सम्मान तथा पुरस्कार संस्थापक सहित साहित्यकारहरु शम्भु बास्काेटा, मिन प्रसाद लामिछाने, देवराज तिवारी, राजकुमार लामिछाने, ह्याग्रिव आचार्य, शान्ति प्रीयवन्दना, पुरुषाेत्तम आचार्य, राम अविकास, सुनिल गाैतम, चिरञ्जिवी लामिछाने, विश्वनाथ सन्जेल, भावना सापकाेटा, भवानी तिमल्सिना,गंगा सापकाेटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यस वर्षकाे भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्यकार हरिकला उप्रेती सम्मानित गरिने यस अघी नै सगमले निर्णय गरेकाे छ । वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा सङ्गमले स्थापना गरेको २१ हजार १ सय ११ रुपैयाँकाे उक्त सम्मानकाे लागि अर्याल परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उक्त सम्मान आगामी फागुन १९ गते विहीबार अर्यालकाे स्मृति दिवसकाे दिन प्रदान गरिने न्याैपानेले बताइन् ।