मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजा र गाडीसहित ५ जनालाई पक्राउ गरेकाे छ । भीमफेदी गाउँपालिका वडा नं २ भैँसे चेकपोष्टस्थित सडकबाट आइतबार प्रहरीले बा ०३ ००१ च ११४४ नम्बरको टाटा योद्धा गाडीबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको हो ।
फागुन १५ गते आइतबार भैसे प्रहरी चाैकीबाट खटिएकाे प्रहरी टाेलीले भीमफेदीबाट हेटौंडा तर्फ आउँदै गरेको उक्त गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ९ किलो ८ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले गाडीमा सवार भीमफेदी गाउँपालिका वडा नं ५ बस्ने ३२ वर्षीय सवीन रिजाल, २५ वर्षीय सोमसिं घलान, ६० वर्षीया जुठीमाया घलान, ६७ वर्षीय मानबहादुर घलान र ५० वर्षीय संचारसिं घलानलाई पक्राउ गरेको छ ।
उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद लिइ थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर । माइती नेपाल मकवानपुरले आगामी १ बर्ष सञ्चालन हुने मानव बेचविखन रोकथाम परियोजना बारे हेटौंडा उपमहानगरपालिकासँग पूर्व सहमति बैठक गरेको छ ।
परियोजना अन्तरगत बेचविखनमा परेका वा बेचबिखनको जोखिममा रहेका, विद्यालय छाडेर बसेका वा छाड्ने अवस्थामा रहेका, जबरजस्ती श्रम गर्न बाध्य तथा यौन हिंसा र दुर्ब्यवहारमा परेका महिला, किशोरीहरुलाई उद्धार गरी आबधिक सेल्टरको सहयोग, सिपमुलक कार्यक्रम तालीम प्रदान गर्ने उदेश्य रहेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।
आगामी १ बर्ष सन्चालन हुने परियोजना मार्फत किशोरीहरुलाई उनीहरुको बौद्धिक क्षमतामा बृद्धि गरी सबै खाले हिंसाको विरुद्धमा महिला अभियानकर्ताको रुपमा स्थापित हुन सहयोग गर्ने, सरकारी तथा गैर सरकारी संस्था, महिला तथा बालबालिकाहरुसँग सम्बन्धित संस्थाहरु र संजालसँग सहकार्य र समन्वय गरी मानव बेचविखन र सबै खाले हिंसा विरुद्ध लड्न एक्यवद्धता गर्ने लामाले बताइन् ।
परियोजना अन्तरगत उद्धार गरिएका तथा जोखिम अवस्थाका ४० जना महिला तथा किशोरीहरुलाई आवासीय सेवा सहित सिलाई कटाई तालिम प्रदान गर्ने, सिलाई कटाई तालिममा सहभागीहुनेहरुको लागि शैक्षिक एक्सपोजर भ्रमण आयोजना गर्ने,
परामर्श प्रदान गरी मानव बेचबिखन बिरुद्धको अभियानकर्ता वा परामर्शकर्ताको रुपमा विकास गर्ने, सहभागी हुने ४० जना महिला तथा किशोरीहरुको लागि नेतृत्व विकास संचार, सामुहिक गतिशीलता र सहजीकरण, महिला तथा किशोरीहरुको अधिकार सम्बन्धी भएका कानुनी प्राबधानहरु र मानब बेचबिखन बिरुद्ध कानुनी ज्ञान सम्बन्धी जानाकारी गराइने छ।
परियोजना संञ्चालित क्षेत्रमा रहेको सरकारी संयन्त्र परियोजना परामर्श समितिसँग वैठक आयोजना गरी कार्यक्रमको गत बर्षको प्रगति विवरण र यस बर्षको योजनाबारे जानाकारी गराई प्राप्त सुझाब र सल्लाहलाई कार्यक्रममा संलग्न गर्ने पनि लामाले बताइन् । सचेतनाको लागि मानब बेचबिखन बिरुद्ध सचेनात्मक रेडियो कार्यक्रम, जिङ्गल निर्माण गर्ने, रेडियोवाट प्रसारित गर्ने र उक्त कार्यक्रम निर्माण गर्दा स्थानिय भाषालाई पहिलो प्राथमिकता दिईने उनले बताइन् ।

विद्यालयमा किशोर तथा किशोरीहरुलाई मानव बेचबिखन र सुरक्षित बसाईसराई बारे जानकारी प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा मनाईने विभिन्न दिवस तथा सचेतनात्मक अभियानहरु संञ्चालन गर्ने, विश्व एड्स दिवस,बाल दिवस,मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस, लैगिंक हिंसा विरुद्धको दिवस, अन्तराष्ट्रिय महिला दिवस उद्धार तथा रोकथाम गरिएका महिलाहरुलाई पुर्नमिलनको समयमा परामर्श सेवा प्रदान गर्ने लामाले बताइन् ।
हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामाको अध्यक्षतामा भएको बैठकमा लामाले मानव बेचविखन तथा असुरक्षित बसाइसराई न्यूनिकरण सम्बन्धमा पैरवी कार्यक्रम गर्ने, मानव बेचविखन तथा असुरक्षित बसाइसराई न्यूनिकरण सम्बन्धमा सरोकारवालासंग समन्वय गरेर अगाडी बढ्ने, स्थानीय सरकारसँग समन्वायत्मक बैठक आयोजना गरी मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा सहकार्य गरेर अगाडि बढिनेछ।
यसैगरी होटल व्यवसायी र यातायात कर्मीहरुसंग मानव बेचविखन, लैगिंक हिंसा, बाल श्रमशोषण तथा जवरजस्ती श्रमका विरुद्ध सचेतनामुलक गोष्ठीहरु संञ्चालन गरिने छ । यो परियोजनाबाट प्रत्यक्ष रुपमा ४ हजार ५ सय जना र अप्रत्यक्ष रूपमा २४ हजार जना लाभाविन्त हुने लामाले बैठकमा जानकारी दिइन्।
बैठकमा माइती नेपाल मकवानपुरको फिल्ड सुपरभाइजर मन लामा, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, सामाजिक विकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा, समाज कल्याण शाखा प्रमुख भैरव कुमाल, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सञ्जाल संयोजक आरती पाठक, हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाईबा, साना हातहरू नेपालका डिकम्बर रुपाचालगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस मकवानपुर जिल्लाकाे नयाँ कार्य समितिकाे लागि भएकाे मतदान कार्यक्रम सकिएकाे छ । सोमबार अपरान्न १२ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।
मकवानपुरकाे सभापति सहित ४८ पदका लागि भएको निर्वाचनमा १ हजार ७ सय ७५ मत खसेको छ । जिल्लामा रहेकाे कुल १ हजार ८ सय ५१ मतदाता मध्ये ७६ जना मतदाता मतदान कार्यक्रममा अनुपस्थित रहेका थिए । मतगणना कार्य समेत नेपाली काग्रेस पार्टी कार्यालयमा आज रातीबाटनै सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यसमिति सदस्यमा ८ जना निर्विरोध
कांग्रेस जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । चुनावी प्रकृया अन्तर्गत आइतबार भएको मनोनयन दर्तापछि जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएको कांग्रेस निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएको छ ।
निर्विरोध निर्वाचित हुने सदस्यहरुमा दलित तर्फ डम्बर बहादुर विक, थाहा नगरपालिका महिला तर्फ सुनमाया भोम्जन, मकवानपुरगढी गाउँपालिकाको महिलातर्फ भीमकुमारी न्यौपाने, ईन्द्रसरोवर गाउँपालिकाको महिला तर्फ निर्मला रुम्बा र खुलातर्फ बिष्णुकुमार कार्की, राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी र बागमती गाउँपालिकाको खुलातर्फ शेरबहादुर राना मगर ‘क्षितिज’ र बकैया गाउँपालिकाको खुल्ला तर्फ सेतेमान वल रहेका छन् ।
जिल्ला सभापति सहित बाँकी पदहरुका लागि भने सोभबार चुनाव भएकाे हाे । निर्वाचनमा ४८ पदका लागि १ सय १५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नयाँ नेतृत्वकाे लागि १ सभापति पदमा ३ जना, २ जना उपसभापति पदका लागि ७ जना, २ जना सचिव पदमा ६ जना र २ जना सहसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै भूगोल तथा कल्स्टरमा गरी ९२ जना सदस्यहरुको उम्मेदवारी परेको थियो ।
सभापति पदमामा आनन्दराम पराजुली,जयराम लामिछाने र बुद्ध लामा, प्यानल सहित प्रतिस्पर्धामा रहेका छन् ।
मनोनयन शुल्क ४ लाख ३९ हजार
जिल्ला अधिवेशनमा मनोनयन शुल्क बापत् ४ लाख ३९ हजार रुपैयाँ उठेकाे छ । सभापति पदमा ३० हजार, उपसभापति पदमा ४९ हजार, सचिव पदमा ४२ हजार र सहसचिव पदमा ४२ हजार गरी पदाधिकारी उम्मेदवारी मनाेनयन दर्ता १ लाख ६३ हजार संकलन भएको हो । यस्तै सदस्य पदका लागि ९२ जनाले तीन हजारका दरले मनोनयन दर्ता शुल्क २ लाख ७६ हजार संकलन भएको छ।
मकवानपुर / साना हातहरू नेपालकाे आगामी ५ बर्ष सञ्चालन हुने कार्यक्रम बारे प्रारम्भिक पूर्व सहमति बैठक हेटौंडामा भएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध बोर्डर मनिटरिङ कार्यक्रम पूर्व सहमति बैठक सोमबार हेटौंडामा गरिएको हो ।
परियोजना अन्तरगत सिमा निगरानी, अनुगमन, जनचेतना, कानुनी उपचारको लागि सहायता तथा सहजीकरण लगायतका कार्यक्रम २०८३ चैत महिनासम्म सञ्चालन हुने सम्पर्क ब्यक्ति डिकम्बर रुपाचाले बताए। हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकमा स्टेसन म्यानेजर तथा सम्पर्क ब्यक्ति रुपाचाले कार्यक्रमको उदेश्य बारे जानकारी गराएका थिए । परियोजना अन्तरगत मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणको लागि कार्य गर्ने, सुरक्षित वैदेशिक रोजगारको लागि परामर्श गर्ने, वैदेशिक रोजगार सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने जस्ता क्रियाकलाप गर्ने रुपाचाले बताए ।

बैठकमा माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामा, फिल्ड सुपरभाइजर मन लामा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, सामाजिक विकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा, समाज कल्याण शाखा प्रमुख भैरव कुमाल, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सञ्जाल संयोजक आरती पाठक, हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाईबालगायतको उपस्थिति रहेको थियो ।
चुनावी चहलपहलः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुर जिल्लाकाे नयाँ कार्यसमितिको लागि मतदान भएको छ । हेटौंडा-१ को चौकीटोलमा मतदान ताेकिएकाे समय भन्दा ३ घण्टा ढिलो सुरु भएको हो । निर्वाचनमा १ हजार ८ सय ५३ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नेछन् । मतदान कार्यक्रम बेलुका ५ बजेसम्म जारी रहने कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ । नेतृत्वको लागि सभापतिमा आनन्दराम पराजुली, जयराम लामिछा र बुद्ध लामाकाे प्यानल चुनावी मैदानमा छ । तस्विरः सहिखबर



