मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् । खड्गीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले नियुक्ति दिएका हुन् ।
शुक्रबार पिप्ले क्याम्पा रंगशालामा भईरहेको प्रदेश स्तरीय खेलकुल प्रतियोगिता अन्तरगत फुटबलकाे मकवानपुर र दाेलखा विचकाे खेलका क्रममा हजारौं दर्शकको सामु भण्डारीले खड्गीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य खड्गीले यसअघि जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। कानुनतः जिल्ला खेलकुद विकास समितिको अध्यक्षको पदावधि २ बर्षको हुनेछ।
मकवानपुर । मध्यवर्ती क्षेत्र खारेजको माग गर्दै हेटौंडामा विरोध प्रदर्शन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२, १३ र १४ का स्थानीयहरुले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै प्रभावित वडाका संर्घष समितिले विरोध प्रर्शन गरेका हुन् । निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्र विस्तारले मानव बस्ती क्षेत्रलाई नै प्रभावित पार्ने र मानवीय सुरक्षा नै नरहेको भन्दै स्थानीयहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।
संर्घष समितिको विरोध प्रर्दशनलाई सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले समर्थन गरेकाे छ । उनीहरुले हेटौंडा–१३ पदमपोखरीमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सेनाको क्याम्प राख्ने तयारी गरिएकाले सो कदम तत्काल रोक्न माग गर्दै विरोध गरेका छन् । स्थानीयले निकुञ्जले क्याम्प राखेर आतंक सिर्जना गर्न खोजेको र स्थानीयलाई दुःख दिने नियत राखेको भन्दै त्यसको विरोध गरेका हुन् । यसविषयमा वडा, उपमहानगर, प्रदेश तथा संघीय प्रतिनिधिलाई समेत जानकारी गराइसकेका बताइएको छ ।
निकुञ्जको सुरक्षाका लागि सेनाको क्याम्प मानववस्तीको बीचमा नभइ चुरेको डाँडापारी राख्न उनीहरुले आग्रह गरेका छन् । निकुञ्जले स्थानीहरुसँग छलफल नै नगरी मध्यवर्ती क्षेत्र विस्तार गर्दै मानिसहरुलाई दुःख दिने उद्देश्यले बस्तीको बीचमा सेनाको क्याम्प राख्ने तयारी गरेकाले संघर्ष समिति बनाएर विरोधमा उत्रिएको उनीहरुको भनाई छ ।
निकुञ्जले क्याम्प खडा गरेपछि स्थानीयलाई घाँसदाउरा तथा गोठालो जान समेत अवरोध सिर्जना गर्ने भएपछी स्थानीयवासी त्यसको विरुद्धमा उत्रिएका हुन् । हेटौंडा–१२, १३ र १४ नम्वर वडाका स्थानाीय जनप्रतिनिधिहरुले पनि आफूहरुसँग समन्वय नै नगरी निकुञ्जले काम गरेको बताएका छन् । यसअघि पनि निकुञ्जले स्थानीय तह र वडासँग कुनैपनि समन्वय नगरी एकलौटी रुपमा आफ्नो काम गरिरहेकाले तत्काल त्यसलाई रोकेर छलफलमा आउन हेटौंडा १३ का वडा अध्यक्ष मनोज कुमार वाइवाले आग्रह गरे ।
विरोध प्रदर्शनका क्रममा सामुदायिक वनमा भइरहेको प्रतिगमन बन्द गर, संरक्षण क्षेत्र विस्तार बन्द गर, मानव अधिकारको सम्मान गर, वन्यजन्तु आतंक नियन्त्रण गर, प्रदेश वन ऐन संसोधन गर, मानव अधिकार विरोधी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र राष्ट्रिय पर्सा निकुञ्ज मध्यवर्ति क्षेत्र खाजेर गरलगायतका नाराहरु लगाइएको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटाैडामा वडा स्तरीय नेतृत्व तथा क्षमता बिकास तालिम सुरु भएकाे छ । जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडाकाे १९ वटै वडाहरुमा गठित वडा स्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा क्षमता बिकास तालिम सुरु भएकाे हाे ।
तालिमको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । तालिम उद्घाटन गर्दै पाैडेलले हरेक ब्यक्ति आत्मनिर्भर हुनुपर्ने बताए । ‘आत्मनिर्भर हुन हरेक मान्छे कुनै न कुनै आय आर्जन हुने पेशामा लाग्नुपर्छ ।’ उनले भने–‘तालिम लिएपश्चात यसलाई दैनिक जिवनमा लागू गरिनु आवश्यक छ ।’
सबै युवाले देशमा नै बसेर पसिना बगाउनुपर्ने भन्दै पाैडेलले व्यवहारिक सिप आर्जन गरेर रोजगारीकाे बाटाेमा जानुपर्ने बताए ।नेपालमा बसेर काम गर्न लाज मान्ने परिपाटी रहेको तर बिदेशमा गएर जस्ताेसुकै काम गर्न नहिच्किने बानी रहेकोले यसलाई सुधार गर्न पनि युवाहरु अगाडी बढनुपर्ने पाैडेलले बताए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले युवाहरुका कारण धेरै परिबर्तन सम्भव भएको बताइन् । उनले तालिमबाट दक्ष जनशक्ति उत्पादन हुनेमा आफू बिश्वस्त रहेको बताएकी छिन् । युवा क्लबका पदाधिकारी तथा सदस्यहरु लक्षित तालीम २ चरणको हुने र ३ दिनसम्म सञ्चालन गरिने जिल्ला युवा समितिका अध्यक्ष दाहालले जानकारी दिए । तालिममा प्रशिक्षक रिपेश दाहाल र राज शाहीले सहजीकरण गरेका छन् ।
जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका वडाध्यक्ष रामकुमार पुडासैनी, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, ७ नम्बर वडाध्यक्ष राजन थापा, १० नम्बर वडाध्यक्ष किताप सिंह लामा, हेटौंडा उपमहानगरपालिका शिक्षा बिकास महाशाखाका अधिकृत रामचन्द्र खड्का लगायतले तालिमकाे सम्बन्धमा विचार व्यक्त गरेका थिए । ।
मकवानपुर । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवावानपुरको मनहरी गाउँपालिका वडा नंबर ६ मा बस दुर्घटना भएको हो ।
हेटौंडाबाट चितवन तर्फ गईरहेको ना ४ ख ४४५४ नंबरको बस आज बिहान ८ बजेर २० मिनेटमा दुर्घटना हुँदा बसमा सवार दुई जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।
मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नंबर ४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
दुर्घटनामा परेर अन्य ९ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
उक्त दुर्घटना विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन विवरण संकलन भईरहेको र दुर्घटनाको कारण हालसम्म नखुलेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका दर्जनाै युवा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । कैलाश गाउँपालिका वडा नंबर ५ मा दर्जनौँ युवा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
एमाले कैलाश ५ नंबर वडाले गरेको वडा भेला कार्यक्रममा उनीहरु कांग्रेस,माओवादी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।उनीहरुलाई एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल र एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष लाल बहादुर थापाले स्वागत गरेका हुन् ।
नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले जनताले देखेको सपना एमालेले मात्र पुरा गर्ने बताएका छन् । कैलाश गाउँपालिका वडा नंबर ५ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडलले नेकपा एमालेनै देश विकासको मुल आधार भएको बताए । उनले एमाले संग तुलना गर्न मिल्ने कुनै पनि पार्टी नभएको बताए । एमाले सरकारबाट बाहिरिए पनि देशब्यापी रुपमा पार्टी प्रवेशको लहर नरोकिएको उनले बताए । ‘देश बिकास गर्न सुखी नेपाली समृद्ध नेपाल बनाउने नारा सहित एमाले अगाडि बढिरहेको छ’ पाैडेलले भने ‘अबको निर्वाचनमा नारालाई थप सार्थकता बनाउन एमालेले बहुमत ल्याउनु पर्छ ।’
उनले माधब नेपालले पार्टी फुटाएको नभई भरिलो रुखबाट केही सुकेको पात मात्र झरेको टिप्पणी गरे । उनले पार्टीबाट दुई जना गएपनि दुईसय जना थपिएको बताए । पार्टि फुटेको नभई पार्टीबाट नगन्य मान्छे अलग भएको पौडेलको भनाई छ । नेकपा एमाले कमजोर नभएको र मुलुक कै सबैभन्दा शत्तिशालि पार्टी भएको उनको दावी रहेकाे छ । उनले भनेः माधब नेपालको पार्टीमा केही मान्छे गएको भएपनी फर्किने क्रम जारी छ ।
‘विकासका क्रम सरकार बाहिर भएपनी जारी रहने भन्दै एमाले मात्र विकाशको सम्बाहक रहेको छ’ पाैडेलले भने ‘विकास खोजेर आउँदैन, आफैंले खोज्नुपर्छ, स्थानीय जनप्रतिनिधि राम्रो भए विकास राम्रो हुन्छ ।’ ‘देशलाई विकास र समृद्धि बनाउने एमाले हो । अरु कुनैको भिजन छैन अलमलिएका छन्’ पौडेलले भने ।