हेटौंडामा बाल साहित्य कार्यशाला
Tags: No Comments
मकवानपुर । हेटौंडामा बाल साहित्य कार्यशाला सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाको आयोजनामा दुईदिने बाल साहित्य कार्यशाला सुरु भएको हाे ।
कार्यशालाको पहिलाे दिन शुक्रबार निबन्ध लेखन भएको छ । सिद्धार्थ माविको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षक श्यामकुमार बानियाँले निबन्धका सैद्धान्तिक पक्ष, विद्यालय तहको पाठ्यक्रममा निबन्धको स्वरुपका साथै निबन्ध लेखनका सीपसम्बन्धमा सहजीकरण गरेका थिए । कार्यशालाका सहभागीलाई विभिन्न विषयमा निबन्ध लेख्न लगाई उत्कृष्ट निबन्धहरूलाई पुस्तकका रुपमा प्रकाशित गर्ने उद्देश्य रहेको कार्यशाला संयोजक छविलाल श्रेष्ठले बताएका छन् ।
कार्याशाला उद्घाटनमा बाेल्दै हेटाैडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले यस प्रकारका कार्यक्रम बालबालिकाको व्यक्तित्व विकासमा भूमिका रहने बताए । कार्यशाला अन्तरगत शनिबार ‘बालबालिकाले के पढ्ने र कसरी लेख्ने ?’ विषयमा बहस कार्यक्रम सञ्चालन हुँदैछ । बहसमा बाल साहित्य समाज नेपालका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरे, लेखक अनुराधा शर्मा, प्रकाशक रामचन्द्र तिमोथी र बाल साहित्यका अभियन्ता दीपक गौतमको सहभागीता रहनेछ ।
हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा बिहान ८ बजेदेखि हुने कार्यक्रममा मकवानपुरका कविहरूका शिक्षा सम्बन्धी कविता समेत वाचन हुनेछन् । कार्यशालामा उपमहानगरभित्रका २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ५० जना बढी विद्यार्थीको सहभागीता रहेको छ ।
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरले चुनावी कमाण्डर तोकेको छ । माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचन लक्षित कमाण्डर ताेकेकाे हाे । जिल्ला संयोजक सर्केश घलानको अध्यक्षतामा बसेको बैठकले मकवानपुरका १० वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ ।
बागमती गाउँपालिकामा जिल्ला संयोजक सर्केश घलान, बकैया गाउँपालिकामा केन्द्रीय सदस्य बिजय गौतम, हेटौंडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य प्रमिला पुलामी, मकवानपुरगढी गाउँपालिकामा केन्द्रीय सदस्य मानकुमारी नेपाली, भीमफेदी गाउँपालिकामा बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा केन्द्रीय सदस्य सन्तोष विष्टलाई स्थानीय तह चुनावमा कमाण्डरकाे जिम्मेवारी दिइएको छ ।
त्यस्तै कैलाश गाउँपालिकामा जिल्ला सचिव भीम पाख्रिन, राक्सिराङ गाउँपालिकामा प्रदेश कमिटिका सचिवालय सदस्य ओम घलान र मनहरी गाउँपालिकामा प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलानलाई जिम्मेवारी तोकेको नेकपा माओवादी मकवानपुरका नेता कमानसिं पाख्रिन (पृथक) ले जानकारी दिए । पार्टी केन्द्रीय सदस्य नारायण दाहालको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको विषेश आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले भरुवा बन्दुक र लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नं ५ का ५२ वर्षीय डिल बहादुर गोङ्वालाई एक नाले भरुवा बन्दुक र लागु औषध सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट मकवानपुरगढी ५ धादिङ्गबाट खटिएको प्रहरी टोलीले गाेङ्वाले घरभित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध अफिम जस्तो देखिने सेतो पदार्थ ७५ ग्राम, लागूऔषध गाँजा ७०० ग्राम र एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।
गाेङ्वालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ । मुल्यवृद्धिको विरोध र खरिद नियमावलीको केही बुँदाहरू संशोधनको माग सहित निर्माण व्यवसायी संघ मकवानपुरले शुक्रबार ज्ञापन पत्र बुझाएको हाे ।
संघका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन–पत्र बुझाएको हाे । वरिष्ठ उपाध्यक्ष कडेँलले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई नौ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले निर्माण सामग्रीमा अप्रत्याशितरुपमा भएको मूल्य वृद्धिका कारण व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । सार्वजनिक खरिद ऐनको संशोधनले साना निर्माण व्यवसायीलाई समस्या भइरहेको र यसले निर्माण व्यवसायीवीच ठूलो अन्तर पैदा गर्ने संघले जनाएकाे छ । सार्वजनिक ऐनमा आफूहरुले गरेको विरोधको सुनुवाइ तत्काल नभए निर्माण व्यवसायी थप आन्दोलित हुने कडेलले बताए ।
आन्दोलनको कार्यक्रमअन्तर्गत् शुक्रबार ७ प्रदेश महासंघ, ७७ जिल्ला संघ, एसोसिएट तथा वस्तुगत संघले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन संघका महासचिव बालकुमार मल्ल, कोषाध्यक्ष ईश्वर पाठक, उपमहासचिव भवनाथ अधिकारीलगायत निर्माण व्यवसायी जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
मकवानपुर । इजाजत प्राप्त हातहतियार चैत्रभित्र बुझाउनु पर्ने भएकाे छ । स्थानीय निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र बुझाउन् पर्ने भएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत्रभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धितलाई अनुराेध गरेकाे छ । प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले शुक्रबार सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेका हुन् ।
केन्द्रीय सुरक्षा समितिको वैठकबाट निर्णय अनुसार प्रशासन कार्यालय मकवानपुरले इजाजतपत्र प्राप्त हातहतियारहरू निर्वाचन पश्चात् फिर्ता हुनेगरी चैत्र मसान्तभित्र नजिकको प्रहरी इकाईमा बुझाउन सूचना जारी गरेकाे हो ।
