मकवानपुर । हेटौंडामा बाल साहित्य कार्यशाला सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाको आयोजनामा दुईदिने बाल साहित्य कार्यशाला सुरु भएको हाे ।
कार्यशालाको पहिलाे दिन शुक्रबार निबन्ध लेखन भएको छ । सिद्धार्थ माविको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षक श्यामकुमार बानियाँले निबन्धका सैद्धान्तिक पक्ष, विद्यालय तहको पाठ्यक्रममा निबन्धको स्वरुपका साथै निबन्ध लेखनका सीपसम्बन्धमा सहजीकरण गरेका थिए । कार्यशालाका सहभागीलाई विभिन्न विषयमा निबन्ध लेख्न लगाई उत्कृष्ट निबन्धहरूलाई पुस्तकका रुपमा प्रकाशित गर्ने उद्देश्य रहेको कार्यशाला संयोजक छविलाल श्रेष्ठले बताएका छन् ।
कार्याशाला उद्घाटनमा बाेल्दै हेटाैडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले यस प्रकारका कार्यक्रम बालबालिकाको व्यक्तित्व विकासमा भूमिका रहने बताए । कार्यशाला अन्तरगत शनिबार ‘बालबालिकाले के पढ्ने र कसरी लेख्ने ?’ विषयमा बहस कार्यक्रम सञ्चालन हुँदैछ । बहसमा बाल साहित्य समाज नेपालका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरे, लेखक अनुराधा शर्मा, प्रकाशक रामचन्द्र तिमोथी र बाल साहित्यका अभियन्ता दीपक गौतमको सहभागीता रहनेछ ।
हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा बिहान ८ बजेदेखि हुने कार्यक्रममा मकवानपुरका कविहरूका शिक्षा सम्बन्धी कविता समेत वाचन हुनेछन् । कार्यशालामा उपमहानगरभित्रका २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ५० जना बढी विद्यार्थीको सहभागीता रहेको छ ।

