मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ । मुल्यवृद्धिको विरोध र खरिद नियमावलीको केही बुँदाहरू संशोधनको माग सहित निर्माण व्यवसायी संघ मकवानपुरले शुक्रबार ज्ञापन पत्र बुझाएको हाे ।
संघका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन–पत्र बुझाएको हाे । वरिष्ठ उपाध्यक्ष कडेँलले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई नौ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले निर्माण सामग्रीमा अप्रत्याशितरुपमा भएको मूल्य वृद्धिका कारण व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । सार्वजनिक खरिद ऐनको संशोधनले साना निर्माण व्यवसायीलाई समस्या भइरहेको र यसले निर्माण व्यवसायीवीच ठूलो अन्तर पैदा गर्ने संघले जनाएकाे छ । सार्वजनिक ऐनमा आफूहरुले गरेको विरोधको सुनुवाइ तत्काल नभए निर्माण व्यवसायी थप आन्दोलित हुने कडेलले बताए ।
आन्दोलनको कार्यक्रमअन्तर्गत् शुक्रबार ७ प्रदेश महासंघ, ७७ जिल्ला संघ, एसोसिएट तथा वस्तुगत संघले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन संघका महासचिव बालकुमार मल्ल, कोषाध्यक्ष ईश्वर पाठक, उपमहासचिव भवनाथ अधिकारीलगायत निर्माण व्यवसायी जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

