मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
लागू औषध सहित पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय निक्मा लामा, हेटौडा–१० घर भई हेटौंडा–८ बस्ने ३१ वर्षीय राजेश बिक र मकवानपुरढी गाउँपालिका वडा नम्वर ७ घर भई हेटौंडा–५ बस्ने २६ वर्षीय मानवीर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मकवानपुर प्रहरीको अनुसार, हेटौंडा–१३ का निक्मा लामालाई लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुफिन १ एम्पुल गरी ३ एम्पुललाई १ सेट बनाई राखेको अवस्थामा ११ सेटमा ३३ एम्पुल डाईजेपामसहित बुधबार पक्राउ गरेको हो ।
यस्तै, विहीबार हेटौंडा–४ स्कुलरोडमा पैदल हिडिरहेका हेटौंडा–१० बस्ने राजेश बिक र हेटौंडा–५ बस्ने मानवीर थिङको साथबाट लागूऔषध वनरेक्स २६ बोतल बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उक्त लागूऔषधसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । हेटौंडामा स्थानीय तह चौथो शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शहीद स्मृति गोल्डकप फुटबल जेठ १९ गतेदेखि २८ गतेसम्म हेटाैडामा सञ्चालन हुनेछ । प्रतियाेगिता सम्बन्धमा विहीबार पत्रकार सम्मलेन गरेर आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी गराइएकाे हाे ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा हुने फुटबल प्रतियोगितामा स्थानीय,राष्ट्रिय र अन्तराष्ट्रिय क्लब गरेर १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघका सल्लाहकार एवं प्रतियोगिताका संयोजक प्रताप विष्टले फुटबल संघको जिल्ला अधिवेशनको कारण प्रतियोगिता गर्न ढिलाई भएको बताउँदै जेठ १९ गतेबाट हुने गोल्डकपको तयारी तीब्र पारिएको बताए । यसवर्षबाट प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई प्रदान गरिने पुरस्कारको राशि बढाईएको छ । यसवर्ष प्रतियोगिताको विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने बताए । यसअघि,भएको तेस्रो गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख हात पारेको थियो ।
यसैगरि,प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले ५० हजार,विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगतामा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, फेन्च क्लब काठमाण्डौ, कुमारटाल युवा क्लब,सिमरा,सर्लाही बागमती युवा क्लब,विजय युथ क्लब हेटौंडा,चितवन ११ र विदेशी क्लब एबिनियर एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा मकवानपुरको १० वटै स्थानीय तहको आर्थिक सहयोग रहने छ ।
२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना जिल्ला फुटबल संघ मकवानपुरले गरेको थियो । उक्त संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । यसैगरि,२०७६ मा भएको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
मकवानपुर । मुल्य वृद्धिको विरोधमा आन्दोलनमा उत्रेको कारण प्रहरी गिरफ्तारमा परेका विद्यार्थी नेताहरु रिहा भएका छन् ।
मुल्य वृद्धिको विरोधमा मकवानपुर जिल्लाको हेटौंडा बजारमा आज सरकारी नम्बर प्लेट भएको सवारी नियन्त्रण गरी प्रहरीलाई चाबि बुझाउने कार्यक्रम अन्तरगत सडकमा उत्रेका अनेरास्ववियुका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सरकारले गरेको मूल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज आयोजना गरेको देश ब्यापि विरोध कार्यक्रम अन्तरगत हेटौंडामा सवारी नियन्त्रणको प्रयास गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
आन्दोलनका क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल सहित जिल्ला कमिटी उपाध्यक्ष भुवन मैनाली, जिल्ला कमिटी सचिव पुस्कर तिम्ल्सिना र युवा संघ नेता राजकुमार घिमिरेलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
आज बिहान मकवनापुर बहुमुखी क्याम्पस सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका उनीहरुलाई केही बेर अघि छाडिएको छ । सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रमहरु जारी राख्ने जनाएका छ।
सरकारले आइतबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ । यो संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ र ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।
प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गर्नुअघिसम्म १० वटा सरकारी सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएको सवारीको चाबी प्रहरीमा बुझाउने कार्यक्रम रहँदै गर्दा विद्यार्थी नेताहरू पक्राउ परेको उनले जानकारी दिए ।
मकवानपुर । थाहा नगरपालिका नगरकार्यपालिका निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन ।
कार्यपालिका सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृतका १ जना निर्वाचित भएका हुन । नगरपालिकाकामा निर्वाचित भएका प्रमुख उपप्रमुख वडा अध्यक्ष र सदस्य रहने नगरसभा सदस्य मध्ये ५ जना महिला तथा दलित अल्पसंख्यक समुदायबाट ३ जना सदस्यको निर्वाचन गरि कार्यपालिकालाई पुर्णता दिनु पर्ने कानुनी प्राबधान छ ।
कार्यपालिका महिला सदस्य ५ जनाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका मात्रै ५ जना उम्मेद्वार निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रितु कार्कीले ३३ मत, अञ्जु श्रेष्ठले ३३ मत, अनिता बलले ३३ मत, चन्द्रमाया थिङले ३३ मत र पवित्रा कार्की ठकुरीले ३१ मत प्राप्त गरी निर्वाचित भएका हुन । त्यस्तै नेकपा एमालेका उर्मिला कामीले १८ मत, सानुमैंया बिश्वकर्माले १८ मत, शर्मिला बस्नेतले २० मत, बिमला पाख्रिनले १८ मत, कान्छीमाया वाईवाले १८ मत प्राप्त गरेका थिए ।
दलित/अल्पसंख्यक ३ जना सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका १ जना निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रामप्रसाद बिश्वकर्मले ३४ मत, राम दर्जीले ३४ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीका जनक बहादुर कामीले २९ मत प्राप्त गरेका थिए । साथै एमालेका अशोक खाती चनाराले २२ मत प्राप्त गरेका थिए ।
कार्यपालिका महिला सदस्य र दलित/अल्पसंख्यक कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेद्वारी दिएको थिएन भने मतदान प्रक्रियामा समेत सहभागी भएको थिएन ।
अब थाहा नगरपालिका नगर कार्यपालिकामा नेकपा माओबादी केन्द्रबाट १४ जना, नेपाली काङ्ग्रेसबाट ४ जना, नेकपा एमालेबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट १ जनाको प्रतिनिधित्व रहनेछ ।
मकवानपुर । आगामी आर्थिक वर्षको लागि संघीय सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महत्वकांक्षि योजानाहरु देखाएर संघीय सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदाँ बागमती प्रदेश सरकार पनि बजेट निर्माणमा जुटेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्नका लागि धमाधम काम भइरहेको जनाएको छ । प्रदेशका सबै मन्त्रालयमा अहिले बिभिन्न शाखाका कर्मचारी, महाशाखाका प्रमुखहरु, सचिवहरु र मन्त्रीहरुलाई अहिले बजेटको चटारोले भ्याइनभ्याइ भएको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजान मन्त्रालयले हरेक मन्त्रालयलाई बजेटको शिलिङ तोकेको छ । त्यही शिलिङमा रहेर बजेट निर्माण गर्ने काम भइरहेको कर्मचारीको भनाइ छ ।
आर्थिक मन्दीको कारण देखाउँदै मन्त्रालयहरुले यसअघि पाइरहेको बजेटको शिलिङ भन्दा आउँदो आर्थिक वर्षका लागि तोकिएको बजेटको शिलिङ घटेको छ ।
पहिले सात वटा मात्र मन्त्रालयहरु रहेको र अहिले दोब्बर थपीएको करण पनि पहिलेका वर्षहरुमा पाउँदै आएको बजेटको शिलिङ घटेर आएको हो ।
बजेट निर्माणका लागि हरेक क्षेत्रमा संघसंस्था र सम्बन्धित क्षेत्रका विज्ञहरुसंग छलफल गरिरहेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण पाण्डेले बताए ।
“सबैको सुझावका आधारमा बजेट निर्माण गर्नेगरी दिनहुँजसो छलफल गरिरहेका छौ” पाण्डेले भने । आर्थिक मामिला मन्त्रालयले मन्त्रालयको खर्चहुने क्षमताका आधारमा बजेटको शिलिङ तोकेको छ । त्यही अनुसार मन्त्रालय र मकातहतका कार्यालयहरुले बजेट निर्माण गर्ने कामहरु गर्दै आएका छन् ।
संघीय सरकारले जस्तै प्रदेश सरकारले पनि बजेट अघि प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले यसको काम पनि रफ्तारमा भैरहेको प्रदेश सरकारले जनाएका छ ।