मकवानपुर । मकवानपुरमा स्थानीय तहबाटै विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको फारम भर्न सकिने भएको छ । सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले मकवानपुरका १० वटा पालिकाबाटै फाराम भर्ने व्यवस्था मिलाएको हाे ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको लागि अनलाइन फारम भर्नेको भिडभाड बढेको र साइबरहरूले मनपरि ढंगले रकम लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहबाटै फारम भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
स्थानीय तहहरूको सहयोग र समन्वयमा स्थानीय तहमै ई–पासपोर्ट र राष्ट्रिय परिचयपत्रको निःशुल्क अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयमा विहीबारकाे पत्रकार सम्मेलनमा प्रजिअ पाण्डेले बताए ।
शुक्रबारबाटै जिल्लाको १० वटै स्थानीय तहबाट निःशुल्क ई–पासपोर्ट र राष्ट्रिय परिचयपत्रको लागि अनलाइन फारम भर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । इन्टरनेटको पहुँच भएकाहरूले घरबाटै फाराम भर्न सकिने छ । आफै अनलाइन फारम भर्न नसक्नेले आफ्नो पालिकाबाट निःशुल्क अनलाइन फारम भर्ने सेवा लिन जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेकाे सूचनामा भनिएकाे छ ।
‘आफ्नै स्थानीय तहमा निःशुल्क अनलाइन फाराम भर्न सकिन्छ ।’ प्रजिअ पाण्डेले भने । मंगलबार जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग बैठक बसेर स्थानीय तहबाटै ई–पासपोर्ट र राष्ट्रिय परिचयपत्र लागि अनलाइन फाराम भर्न सकिने वातावरण मिलाइएको पाण्डेले जानकारी दिए ।

मकवानपुर । संघीय सरकारले प्रदान गर्ने बजेट उपलब्धतामा ढिलाई हुंदा अस्पतालको सेवा प्रवाह समस्या भएको बताईएको छ ।
हेटौंडा अस्पताल विकास समिति अध्यक्ष राजेश प्रसाइले यस्तो बताएका हुन् । अस्पतालले बर्षमा १४ करोड बराबरको कारोवार गर्ने र हाल ९ करोड रुपियाँ संघीय सरकारबाट रोकिदा समस्या भएको प्रसाईले बताए । अस्पतालको बारेमा व्यापक जनगुनासो आएपछि अनुगमनमा पुगेका हेटौंडा उपमहानगरपालिका नगर प्रमुख र उपप्रमुखसंग प्रसाइले यस्तो बताएका हुन । संघीय सरकारबाट आउनुपर्ने पैसा आए सेवा र जनगुनासोलाई व्यवस्थापन गर्न सकिने उनले बताए ।
अहिले अस्पतालमा स्वास्थ्य बिमाको औषधि वितरणमा समस्या भएको उनले बताए । “यो बिषयमा समस्या ठेकेदारलाई पैसा दिन नसक्दा भएको हो” उनले भने । औषधिको ठेक्का पारेको ‘एक्सिस्’ फर्मलाई ८० लाख रुपियाँ दिन नसक्दा औषधि आउँनै समस्या भएको उनले बताए ।
अस्पतालले दिने सेवामा समस्या नभएको उनको दाबि छ। अध्यक्ष प्रसाईले भने “सेवामा कुनै समस्या छैन, दैनिक बिरामिको चाप बढ्दो रहेपछि जनशक्तिमा व्यवस्थापनमा भने समस्या रहेको उनले बताए ।
विभिन्न समस्याका बाबजुत जनताको समस्यालाई समाधान गर्न उपमहानगपालिका तयार रहेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । अहिले देखिएको समस्यालाई कम गर्दै व्यवस्थापनको पाटोमा ध्यान दिन अस्पताल व्यवस्थापनलाई नगर प्रमुख लामाले आग्रह गरीन् ।
जनगुनासो धेरै भएको भन्दै त्यो रोक्ने पाटोमा लागेर काम देखाउन उपमहानगरको सहयोग रहने लामाले प्रतिबद्धता जनाइन् । उनले दैनिक आउँने बिरामी उपचार बिनै फर्कन पर्ने अवस्थालाई चिर्न जरुरी रहेको भन्दै अस्पताल परिसरमा उपमहानगरले प्रसुति बाल अस्पताल सञ्चालन गर्ने तयारी भैरहेको बताइन् ।
उपमहानगर जिम्मेवार ढंगबाट लागेको भन्दै व्यवस्थित स्वास्थ्य अवस्था बनाउँनका लागि के गर्न सकिन्छ सहकार्य गरेर अधि बढ्न तयार रहेको उपप्रमुख राजेश बानियाँले बताए । उनले जनतालाई सुबिधा दिने कुरामा उपमहानगरले कुनै कसर बाँकी नराख्ने बताए ।
हेटौंडा अस्पतालमा रहेको बेथितीको बिषयमा जनस्तरबाटै हुँदै आएको दवाबपछि हेटौंडा उपमहानगरपालिकाले चासो लिएको हो । बुधबार हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले अस्पताल व्यवस्थापन समितिसँग अहिलेको अवस्थाको बारेमा चासो लिएका हुन् ।
बिरामिले टिकट, औषधी, उपचार पद्धतीको बिषय लिएर जनस्तरबाट आएको आवाजलाई चासो लिदै छलफल गरीएको हो । उपमहानगरमा भएको छलफलमा हेटौंडा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश प्रसाईले आर्थिक अवस्थाको कारण समस्या भएको बताएका थिए । उनले केन्द्र सरकारवाट आउँनु पर्ने स्वास्थ्य बिमा मार्फतको ६ करोड र कोरोनाको समयमा फिल्डमा खटिएका कर्मचारीको ३ करोड रुपियाँ नआउँदा समस्या भएको प्रसाइले बताए ।
मकवानपुर / बकर इदका अवसरमा सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मालम्बीको पर्व बकर इदमा बिदा दिने व्यवस्था अनुसार, असार २६ गते बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्। उनले बुधबार सूचना प्रकाशित गरी मुस्लिम आयोगका अनुरोधमा बिदा दिइएको जनाएका छन्।
मकवानपुर । राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि मकवानपुरमा सेवाग्राहीले अनलाइन फाराम भर्नुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको लिङ्क मार्फत अनलाइन फाराम भर्न भनिएको छ ।
सूचनामा अनलाइन फाराम भरिसकेपछी फारममा दिइएको मितिमा मात्र बायोमेट्रिकको लागि सक्कल कागजात सहित कार्यालयमा उपस्थित हुन उल्लेख गरिएको छ ।
नेपाल सरकारले ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालयमा एकाबिहानैदेखि लाइन बस्नेहरुको घुइचो लाग्ने गरेको थियो ।
अनलाइन फारम भर्नु पर्ने भए पछि कार्यालयमा हुने भिड कम हुने छ भने सेवाग्राहीले विभिन्न किसिमका सास्ती भोग्नु नपर्ने भएको छ ।

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ बिधेयक २०७९ र बिनियोजन बिधेयक २०७९ सर्बसम्मत पारित भएको छ ।
आज बसेको नगरपालिकाको एघाराैं अधिशेसनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ बिधेयक २०७९ र बिनियोजन बिधेयक २०७९ सर्बसम्मत पारित गरेको हो ।
उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रमहरु र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपियाँ बजेट सार्वजनिक गरेको थियो ।
नगरको विकासको लागि विभिन्न ठुला तथा साना अधुरा योजनाहरु, नयाँ योजनाहरु सम्पन्न गर्न तथा अगाडि बढाउन अब बाटो खुलेको छ । विनियोजन विधेयक पारित भएसँगै अब नगरको विकासले रफ्तार लिने नगरप्रमुख मिना कुमारी लामाले बताइन् । “जनताको हितमा जनताले चाहेको विकास अब अघि बढ्ने छ” उनले सक्षिप्त प्रतिक्रिया दिंदै भनिन् ।
