मकवानपुर । हेटौंडा जेसिआईकाे आयोजनमा भएकाे अपहिल साईक्लिङ च्यालेन्जमा मान बहादुर थापा मगर प्रथम भएका छन् । हेटौडा जेसिजकाे सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार हेटाैडा ५ सिचाईटाेलबाट मनकामना मन्दिरसम्म भएकोमा अपहिल साईक्लिङ च्यालेन्ज प्रतियाेगितामा थापा मगरले १७ मिनेट ३९ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै प्रथम भएका हुन् ।
मकवानपुरगढी वडा नम्बर ४ स्थित धार्मिक स्थल मनकामना मन्दिरसम्म भएकाे प्रतियोगितामा शुशिम चित्रकारले १९ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वितीय र प्रेम राजवंशीले २१ मिनेट २६ सेकेन्डमा दूरी पार गर्दै तृतीय भएका थिए। प्रतियाेगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः नगद क्रमश ९ हजार ६ हजार र ३ हजार तथा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। प्रतियाेगितामा १७ जना साईक्लिस्टहरुले सहभागिता जनाएका थिए।
जेसिआई हेटौडा वर्ष २०२२ का अध्यक्ष पवन कुमार कंसाकारको सभाध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यता रहेकाे थियाे । मकवानपुरगढी वडा नम्बर-४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा जेसिआई हेटौडा पुर्व अध्यक्ष रवि नेपाल, राजदेव वानिया, मकवानपुर जिल्ला साईक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई हेटौंडा जेसिजका महासचिव विकेश लाल श्रेष्ठले सहजिकरण गरेका थिए।
यसैगरी, सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भदौं १९ गते आइतबार लागु औषध सचेना कार्यक्रम र सीप विकास तालिम कार्यक्रम गरिने, २० गते रक्तदान कार्यक्रम र हेटौंडा अस्पतालमा फलफुल वितरण ,भदौं २१ गते जेसीज र बैंकर्सहरु बीच मैत्रीपूर्ण फुटसल कार्यक्रम, खुला पौडी प्रतियोगिता र सरसफाई कार्यक्रम रहेको अध्यक्ष कंसाकारले जानकारी दिए ।
यस्तै भदाै २२ गते वृक्षारोपण कार्यक्रम र अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता, २३ गते अम्बिकादेवी स्मृती हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिने जनाइएको छ। भदौं २४ गते मधेश प्रदेश र बागमती प्रदेश छुट्याउने चुरियामाई मन्दिर नजिक स्वागत बोर्ड राखिने र हेटौंडा ९ मा ट्राफिक सचेतना कार्यक्रम गरिने हेटौडा जेसिजले जनाएको छ। भदाै २५ गते जेसीज सप्ताह कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको कसांकारले बताए ।
मकवानपुर । मकवानपुर जिल्ला सहित देशैभर डेंगु संक्रमण बढ्दै गएकाे छ । गत साउन महिनादेखि अहिलेसम्म मकवानपुर जिल्लामा ५ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सबैभन्दा बढी संक्रमित जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ रहेका छन् ।
हेटाैडा उपमहानगरपालिका क्षेत्रमा डेंगु संक्रमण बढ्दै गए पछि उपमहानगरपालिकाले नियन्त्रण अभियान सुरु गरेकाे छ ।स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरले शनिबार डेंगु नियन्त्रण अभियान सुरु गरेको हो । नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएकाे हेटाैडा उपमहानगरपालिकाले जनाएकाे छ ।
आज शनिवारबाट ४ दिन लामखुट्टेकाे लार्भा नष्ट गर्ने अभियान सुरु गरिएकाे स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले जानकारी दिए । डेंगु संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने तथा लार्भा बनाउने भएकाेले सफा पानी जम्ने सवारी साधनका टायर, गमला, पानी जम्ने ठाउँ पहिचान गरी लामखुट्टे नष्ट गर्न स्प्रे गरिने तथा जनचेतना समेत फैलाउन सूचना प्रभाव गरिने उनले बताए । शनिबार हेटाैडा ४ क्षेत्रका माेटर ग्यारेज तथा माेटरसाइकल मर्मत केन्द्रहरुमा रहेका प्रयाेग नआउने टायरहरु नष्ट गरिएकाे उपमहानगरपालिकाले जनाएकाे छ ।
हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर ४ र ५ मा सवारी साधन बनाउने ग्यारेजहरु धेरै रहेको तथा जनघनत्व समेत बढी भएको कारण यहाँ बढी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । डेंगुको कारण हालसम्म मकवानपुरमा कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरुमा डेंगु बिरामीको चाप बढेकाेले उपचारमा समस्या हुँदै गएकाे उनले जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडामा ७४ किलाे गाँजा सहित २ जनालाई पक्राउ गरेकाे छ । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १० मा पिकअप गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० राप्तीपुल नजिकबाट चितवनबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९४२ नंबरको तरकारी बोक्ने गाडीबाट ७४ किलो ७ सय ग्राम लागुऔषधसहित २ जना पक्राउ परेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गाडी चालक नुवाकोट बिदुर-१३ बस्ने ३१ वर्षीय प्रकाश तामाङ,गाडीमा सवार पर्सा ठोरी-३ बर्मानगर बस्ने ३४ वर्षीया चन्द्र कुमारी श्रेष्ठ रहेका छन् । प्रहरीले उनिहरुको साथबाट नगद ३१ हजार ७ सय रुपैयाँ फेला पारेको जनाएको छ । पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्याम प्रसाद शर्माको अर्ध कदको सालिक शुक्रबार अनावरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा शर्माको सालिक अनावरण गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्वर्गीय शर्माको अर्ध कदको सालिक अनावरण गरेका हुन । ‘नेपाली माटो सुहाउँदो माक्सवादी बिचार प्रवाह गर्दै साहित्य, राजनीति र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्वपूर्ण योगदान दिएका छन्’ सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले भने-‘समाज परिवर्तनको लागि बिचार महत्वपूर्ण विषय भएकाले यस्ता अभियान्ताहरुको सधैँ सम्मान गर्नुपर्छ ।’
प्रतिष्ठानका उपाध्यक्ष इन्द्र प्रसाद नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष सुर्यचन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
१९८६ असार ६ गते मकवानपुरको तत्कालिन मन्थली गाविसमा जन्मिएका शर्माको आइमाई साथि लगायत साहित्यिक तथा राजनीतिक गरि दर्जन बढि पुस्तक प्रकाशित छन् ।
मकवानपुर । आसन्न प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरका २३ जनाको नाम सिफारीस गरेको छ । जिल्लाको चार क्षेत्रको लागि २२ जनाको नाम सिफरीस गरेको हो ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ नं क्षेत्रको प्रदेशसभा क बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चालागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने , सीता बिष्ट सिफारीस भएका छन् ।
यसैगरी प्रदेशसभा ख बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक, कुमार केसीको नाम सिफरीस भएको जिल्ला कमिटी सचिव नविन सिग्देलले बताए ।
यसैगरी प्रतिनिधिसभा २ नं क्षेत्रको प्रदेशसभा क को लागि बलराम बल, विष्णु ढकाल र चमेली बलको नाम सिफारीस भएको छ । प्रदेशसभा ख को लागि भने लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्का सिफारिस गरिएको सिग्देलले बताए ।
चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार उम्मेद्वार सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटीका सचिव सिग्देलले बताए ।
प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझाव सहित केन्द्रीय र प्रदेश कमिटी मार्फत केन्द्रीय कमिटीमा पठाईने छ ।
एमालले मकवानपुरले आज एकैदिन चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकले नाम टुङ्ग्याएको हो ।
बैठकमा केन्द्रीय कमिटीका सदस्य तथा जिल्ला ईन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटी उपसचिव महेश बर्तौला, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पदाधिकारीहरूले सहजिकरण गरेका थिए ।
