मकवानपुर । बैंककाे चर्को ब्याजको विरुद्धमा मकवानपुरका उद्योगी व्यापारीहरूले चरणबद्ध विरोधका कार्यक्रमहरु घोषणा गरेका छन् । आर्थिक मन्दीबाट राष्ट्रिय अर्थतन्त्र नै शिथिल भएको विषम परिस्थिमा चर्को बैंक ब्याजले सम्पूर्ण उद्योगी व्यवसायीहरु आर्थिक एवं मानसिक रुपमा प्रताडित हुनुपरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन घोषणा गरिएको हो ।
जिल्लाका राजनैतिक दल, विभिन्न संघ संस्था, संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुको छलफलबाट सामूहिक निष्कर्षमा पुग्दै चर्को बैंक व्याजको विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बताए ।
उनीहरूले फागुन २१ गते आज कालो ब्यानर र विरोध कार्यक्रमको पत्रसहित बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापन पत्र बुझाएका छन भने २४ गते बागमती प्रदेश स्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा शान्तिपूर्ण धर्ना गर्ने, २५ गते बैंकहरुमा धर्ना दिने भएका छन् ।
यसैगरी २८ गते बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने, २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने निर्णय गरेका हुन् ।
मकवानपुर । पछिल्लो समय मकवानपुर जिल्लामा जंगली जनावरको भयले सर्वसाधारणलाई हैरानीमा पारेको छ । बाघ र हात्तिको आक्रमणमा ज्यान जानेसम्मका घटना हुन थलेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा जंगली हात्तीको आक्रमणबाट १ जना घाइते भएका छन् । बुधबार राति हात्तीको आक्रमणबाट हेटौंडा–१८, मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएको मकवानपुर प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बुधबार राति सवा १० बजेको समयमा घर नजिकैकाे जंगलबाट निस्केको जंगली हात्ती धपाउने क्रममा वाईबालाई हात्तीले आक्रमण गर्दा घाइते भएका हुन् । वाईबाकोे हेटौंडा अस्पतालमा उपचार भइरहेकोे छ । उनको दुवै खुट्टा र ढाडमा भित्री चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
केही दिन अगाडी जंगली हात्तिको आक्रमणबाट मनहरीमा गाउँपालिकामा राधा अधिकारीको मृत्यु भएको थियाे । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्ती मनहरी हुदै हेटौंडा–१८ हर्नामाडी आसपासको क्षेत्रमा देखा परेको बताइएकाे छ । हर्नामाडी १८ मै दुई साता अघि बाघको आक्रमणबाट एक महिला घाइते भएकी थिइन ।
हात्ती र बाघको आक्रमण हुनथालेपछी सव डिभिजन वन कार्यालय, हात्तिसुडे मकवानपुरले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । कार्यालयले सचेत रहने उपाय सहित विभिन्न ९ बुंदे सूचना सार्वजनिक गरेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ ।
फाइनको लागि दुई एडिभिजन टोली मनाङ मस्याङ्दी र हिमालयन शेर्पा क्बलबीच प्रतिस्पर्धा हुँदैछ। हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मनाङ र शेर्पाले उपाधिका लागि भिड्ने छन् । खेल आज दिउँसो २ बजे सुरु हुनेछ ।
मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको हो । यी दुई टोलीको उपाधि भिड्न्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
यी दुबै टोली गोल्डकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन् । २०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लवले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको हो ।
खेलमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
मकवानपुर । जगली हात्तीकाे आक्रमणबाट मनहरी गाउँपालिका- वडा नम्बर -४ मा एक जना महिलाको ज्यान गएको छ ।
सोमबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारीको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनलाई हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार लागि ल्याइएकोमा थप उपचारको लागि चितवनको नयाँ मेडिकल कलेज रिफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हात्तीको आक्रमणबाट अधिकारी घाइते भएपछि स्थानीयबासि आक्रोशित बन्दै मनहरी– ३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा सोमबार तोडफोड समेत गरेका थिए। उनीहरूले सेनाले सुरक्षा गस्तीका लागि प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुर्याएका थिए।
आर्मी र निकुञ्जको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले हात्ती नियन्त्रणमा लिन र धपाउन बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित हुँदै उक्त घटना भएको हो । मकवानपुरको मनहरीमा पर्सा बन्यजन्तु आरक्षको हात्तिले बर्सेनि मानवीय क्षती गराउने गरेको भएपनि सरकार जिम्मेवार बनेको छैन ।
- गोपिनी दाहाल
मकवानपुर । बाल संरक्षण, मानव बेचविखन तथा ओसारपसार विरुद्ध बनेका कानुनी प्रावधानहरु पूर्ण रुपमा कार्यन्वयन नहुँदा अपेक्षित प्रगती हासिल हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
समस्यामा परेकाहरुको पहिचान गरेर समस्याबाट उद्धार गरेपछि व्यवस्थापन तथा दीगो जीवनको लागि पहल गर्ने निकाय नहुँदा पीडित प्रभावितहरुको अवस्थामा सुधार आउन नसकेको बताइएको हो ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेललर्ड) ले हेटौंडामा आयोजना गरेको बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसारका मुद्दाहरुको सम्बन्धमा स्थानीय सञ्चारकर्मीहरु र स्थानीय सरकारबीच छलफल कार्यक्रममा यस्तो सवाल उठाइएको हो ।
मानव बेचविखन तथा ओसारपसारका विरुद्ध भएमा विद्यमान संघीय र स्थानीय कानूनहरू र यी मुद्दाहरूमा स्थानीय स्तरमा विद्यमान चुनौतीहरूका बारेमा छलफल गर्ने स्थानीय सञ्चार माध्यममा बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसारकासँग सम्बन्धित समाचारको प्रवृत्ति, पीडित प्रभावित मैत्री मिडिया रिपोर्टिङ र विद्यमान चुनौतीहरूबारे छलफल गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो दायित्वभन्दा मतको स्वार्थ बढी राखेको पाइएको गुनासो गरेको थिए ।
स्थानीय सरकारले बालबालिकाहरुलाई बालश्रमबाट उद्धार गरेर पनि व्यवस्थापनमा चासो नदिएको कारण बालबालिकाको अवस्था सुधार हुन नसकेको सहभागीहरुले बताए । बालबालिकाहरुको सवालमा रिर्पोटिङ गर्दा आमसञ्चारले गोपनीयताको ख्याल राख्दै आचार संहिताको पालना गरेपनी सामाजिक सञ्जालले गोपनीयताको ख्याल नगर्दा आफूहरुले आक्षप खेप्नुपरेको पत्रकारहरुले बताएका थिए ।
मानव बेचबिखन तथा ओसारपसारबाट उद्धार गरिएकाहरुलाई दीगो व्यवस्थापन गर्न उनीहरुको आयआर्जन तथा सिप विकास गरी जीविका निर्वाहको आधार तय गर्न सकेमात्रै पुनस्थापनाको चरणमा टेवा पुग्ने भएकोले यसतर्फ ध्यान दिन पत्रकारहरुले सुझावसमेत दिएका छन् ।
सेलर्ड मकवानपुर र शक्ति समुहको संयुक्त आयोजनामा सुरक्षाका लागि साथ साथ परियोजना अन्तर्गत बाल संरक्षण र मानव बेचविखन बिरुद्द स्थानीय तह र संचारकर्मीहरु संगको प्रशिक्षण सरोकारवाला निकाय, संचारकर्मिहरुसंग छलफल कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सेलर्डका फिल्ड प्रमुख जगन्नाथ सुवेदी, पत्रकार सरिता दाहाल, तथा हेटौडा उपमहानगरपालिका महिला शाखा प्रमुख विना ठिकेले सहजिकरण गरेका थिए ।
हेटौडा उपमहानगरपालिका महिला शाखा प्रमुख विना ठिकेले गत मंसिरयता मात्रै बालश्रमबाट ७ जना बालबालिकालाई परिवारमा पुनस्थापना गरेको तर उनीहरु मध्ये केही फेरी श्रममा फर्केको बताइन् ।
कार्यक्रममा सेलर्डका सुवेदीले मानव वेचविखन सम्बन्त्री कानुनमा बेश्यावृत्तिको शब्द प्रयोग गरिनु हरेक व्यक्तिमा भएको आत्मसम्मान प्रति चोट पु¥याएको बताए । व्यक्तिको आत्मासम्मान र गोपनीयताको सवालमा सधैं ध्यान दिनुपर्ने उनले बताए । नेपालका बालगृहमा बालबालिकाहरु असुरक्षित हुने गरेको सहभागीहरुले बताए ।
यसैगरी संचारिका समूह नेपालकी बागमति प्रदेश अध्यक्ष पत्रकार सरिता दाहालले मानव बेचविखन, ओसारपसार तथा बालबालिकाको अधिकार उल्लंघनका विषयमा पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता भित्र रहेर प्रसार, प्रकाशन गर्नुपर्ने, बालअधिकारको उल्लंघन र बालबालिको हित प्रतिकुल नहुने गरि सुचना प्रकाशन गर्नुपर्ने बताइन् ।
समाजप्रति संचारमाध्यमको दायित्व पुरा गर्न सदा सचेत हुनुपर्ने पत्रकार दाहालले बताइन् । विभिन्न सामाजिक संजालका कारण पत्रकार आचारसंहितामा आच आउने गरेको र यस्ता सवाल पत्रकारहरुको लागि भने चुनौतीको रुपमा रहेको उनले बताइन् ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्ड राष्ट्रिय स्तरमा कार्यरत एक गैर सरकारी संस्था हो। यस संस्था आफ्नो स्थापना कालदेखि नै मानवअधिकारको रक्षा, कानूनी शासनको स्थापना र सबैका लागि न्यायमा पहुँच स्थापना गर्नका लागि कार्यरत रहेको सुवेदीले बताए ।
सेलर्ड नेपालका न्याय तथा फौजदारी न्याय प्रणाली, मानव अधिकार र अनौपचारीक न्याय प्रणालीका विषयमा अध्ययन अनुसन्धान तथा वकालत गर्दै महिला, बालबालिका तथा सिमान्तकृत समुदायको न्यायमा सहज पहुँचको प्रवर्धनका लागि निशुल्क कानूनी सहायता, न्याय क्षेत्रका सरोकारवालाहरुको क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु संचालन गर्दै न्यायमा सबैको पहुँच स्थापना गर्ने उद्देश्यले कार्यरत रहेको सुवेदीले बताए । यस संस्था, संयुक्त राज्य अमेरिकाको विदेश विभाग अन्तर्गतको मानव बेचविखनको नियन्त्रण र अनुगमन कार्यालय तथा एक्प्याट नग्जम्बर्गको सहयोगमा र शक्ति समूह समेतको सहकार्यमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको बाल अधिकार परिषद्सँगको संयुक्त संयोजनमा सुरक्षाको लागि साथ साथ परियोजना आगामी २०८० भदौसम्मको लागि मकवानपुरमा पनि काम गर्दै आएको छ ।
