मकवानपुर । पछिल्लो समय मकवानपुर जिल्लामा जंगली जनावरको भयले सर्वसाधारणलाई हैरानीमा पारेको छ । बाघ र हात्तिको आक्रमणमा ज्यान जानेसम्मका घटना हुन थलेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा जंगली हात्तीको आक्रमणबाट १ जना घाइते भएका छन् । बुधबार राति हात्तीको आक्रमणबाट हेटौंडा–१८, मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएको मकवानपुर प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बुधबार राति सवा १० बजेको समयमा घर नजिकैकाे जंगलबाट निस्केको जंगली हात्ती धपाउने क्रममा वाईबालाई हात्तीले आक्रमण गर्दा घाइते भएका हुन् । वाईबाकोे हेटौंडा अस्पतालमा उपचार भइरहेकोे छ । उनको दुवै खुट्टा र ढाडमा भित्री चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
केही दिन अगाडी जंगली हात्तिको आक्रमणबाट मनहरीमा गाउँपालिकामा राधा अधिकारीको मृत्यु भएको थियाे । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्ती मनहरी हुदै हेटौंडा–१८ हर्नामाडी आसपासको क्षेत्रमा देखा परेको बताइएकाे छ । हर्नामाडी १८ मै दुई साता अघि बाघको आक्रमणबाट एक महिला घाइते भएकी थिइन ।
हात्ती र बाघको आक्रमण हुनथालेपछी सव डिभिजन वन कार्यालय, हात्तिसुडे मकवानपुरले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । कार्यालयले सचेत रहने उपाय सहित विभिन्न ९ बुंदे सूचना सार्वजनिक गरेको छ ।

