मकवानपुर । मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने आफूहरूको मुख्य द्येय रहेको बताएका छन् ।
नगरको विकासका काममा कुनै कन्जुस्याई आफूहरूबाट नहुने उनले बताए । नागरिकको सेवा व्यवस्थित गर्न र पालिकाको सर्वाङ्गिण विकासका लागि निर्वाचित पदाअधिकारी हरदम प्रतिवद्ध रहेको बताउँदै कुनै गुनासो भए त्यसलाई सम्बोधन गरेर अघि बढ्ने नगर प्रमुख विष्टले प्रतिवद्धता जनाए ।
थाहा नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै विष्टले यस्तो बताएका हुन् ।
एसएमएस मिडिया प्रालिको संयोजनमा बज्रवाराहीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशु, लैङ्गिक समानता, पूर्वाधार विकास, अनुगमन व्यवस्थापन, प्रशासनिकलगायतको सवालहरुमा नागरिकहरुले पालिका र वडा समिति लक्षित प्रश्न गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख विष्टले पालिकाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदनमा बेरुजु बढेको प्रसंग उल्लेख गर्दै बेरुजू भन्ने वित्तिकै यसलाई खाइमासेको रुपमा नलिन नागरिकहरुलाई आग्रह गरे । विष्टले बेरुजु, यसका किसीम र बेरुजु हुनुको कारणको विषयमा समेत नागरिकहरुलाई सुझाएका थिए । एकीकृत रुपमा पालिकाको विकास र प्रगतीमा जनप्रतिनिधीहरु उत्तरदायी हुने र नागरिकहरु कर्तव्यनिष्ट भएर काम गर्न सके सफलता हाम्रै सामु रहेको प्रमुख विष्टले उल्लेख गरे ।

यसअघिको पहिलो जननिर्वाचित कार्यकालको स्मरण गर्दै विष्टले भने–‘बेरुजु कम हुनु, सेवा प्रवाह, सूचना प्रविधिको प्रयोगलगायतको क्षेत्रगत रुपमा संघीय सरकारदेखि जिल्ला समन्वय समितिसम्मको तहबाट पुरस्कृत थाहा नगरपालिकाको साख कायम राख्न जनप्रतिनीधि, कर्मचारी र नागरिकको पनि उत्तिकै भूमिका हुन्छ, म तपाइहरुबाट यहि चाहान्छु ।’ कार्यसम्पादनको क्रममा केही त्रुटि भए त्यसलाई सुधारेर जनमुखी काम गर्न थाहा नगरपालिका सँधै तयार रहेको उनको भनाइ थियो ।
थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पालिकामा न्यायिक कार्यसम्पादनका कार्यहरु निरन्तर भैरहेको कार्यक्रममा जानकारी गराए । मेलमिलापकर्ताहरुको गुनासो समेत सम्बोधन गर्दै उपप्रमुख गोपालीले वडास्तरमा गठित मेलमिलाप केन्द्रलाई वडाकै एक बलियो अंगको रुपमा स्थापित गर्न वडाध्यक्षहरुलाई निर्देशन दिए ।
पालिकाबाट हुने योजनालगायतको अनुगमनको कार्यमा नागरिकलाई समेत सहयोग गर्न आग्रह गरे । पालिका र वडा संयन्त्रबाट भएको अनुगमनमा के त्रुटि गर्छ भनेर बस्नुभन्दा पनि कुनै समस्या भए हाकाहाकी आफूलाई भेटेर वा फोनमै पनि नागरिकले भन्न सकिने उपप्रमुख गोपालीको भनाइ थियो ।
योजना तर्जुमा, संचालन, फरफारकको क्रममा प्रक्रिया र कागजात पुगेको खण्डमा कुनै कर्मचारीबाट दुःख दिन खोजे त्यसको रिपोटिङ आफूलाई सिधै गर्न समेत आम नागरिकहरुलाई आग्रह गरे । बजार अनुगमन, सचेतनालगायतका कार्यक्रमहरुमा पनि पालिका प्रतिवद्ध रहेको गोपालीको भनाइ रहेको थियो । पालिकाको सेवा प्रवाह र विकास कार्य मजबुद बनाउन कर्मचारीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले उनीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिएको बताए ।
नगरको आन्तरिक आय वृद्धि गर्न सके पालिकाले सोचेका नवीनतम कार्य गर्न सकिने बताउँदै यस कार्यमा नागरिकहरुले कर्तव्य निर्वाह गर्ने सवालहरुमा गम्भीर हुन आग्रह गरे । ग्रामिण भेगको नगरपालिका भएकोले भौगोलिक रुपमा सेवाका कुनै ढिलासुस्ती भए त्यसलाई सच्याउन पालिका तयार रहेको उल्लेख गर्दै रिक्त दरबन्दी पदपूर्तिका लागि लोकसेवा आयोगसंग कर्मचारी माग गरिने उनको भनाइ थियो ।
आफू भर्खर थाहामा सरुवा भई आएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत गिरीले नगरपालिकाको विकास, सेवा प्रवाह, सुशासन र पारदर्शी कार्यको लागि आफू प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा उठेका सवालहरुमा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, कृषि विकास शाखा प्रमुख संजय तिवारी, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, डाक्टर शक्ति चौरसिया, लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, वडाध्यक्षहरु हेरमान गोपाली, राजेन्द्रभक्त श्रेष्ठ, हिरा बहादुर गमाललगायतले उत्तर दिएका थिए ।
सो अवसरमा सार्वजनिक सुनुवाई सम्बन्धी कार्यविधिको अनुसूचीमा आधारित सर्वेक्षण प्रतिवेदन, सेवा प्रवाहको सूचक समेटिएको प्रतिवेदनहरुको समेत प्रस्तुतिकरण गरिएको थियो ।
थाहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियर सन्तोष बोहरा, रोजगार संयोजक कुमार नेगी, ५ नम्बर वडा अध्यक्ष विष्णु बहादुर गुरुङ, ९ नम्बर वडाध्यक्ष राजकुमार बलामी, पशु विकास शाखा प्रमुख राघवेन्द्र मिश्र, सूचना अधिकारी सुरज कुमार भुजेल, योजना शाखा प्रमुख प्रकाश कुमार लामा, ६ नम्बर वडा सचिव सुनिल लामिछाने तथा वडा र नगरपालिकाका कर्मचारी तथा जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर भीमफेदीमा रहेको क्षेत्रीय कारागारका १ जना कैदी बन्दीको मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका वर्ष ३५ का समीर परियारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर घर भएका परियार बुधबार एक्कासी बहोस भई ढलेकोले उपचारको लागि प्रहरी नायब निरीक्षक लाल बहादुर सुनार सहित २ जानको टोलीले कारागार सुरक्षाको सवारी साधनमा उनलाई हेटौडा अस्पतालमा ल्याइएको थियो ।
परियारको उपचारको क्रममा दिउसो १२:२० बजेको समयमा डाक्टारले मृत्यू घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटौंडामा बुधबार बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । बाघको आक्रमणबाट घाइते हुनेमा हेटौंडा-१५ बुद्धचोकका १७ बर्षीय सुमन घलान र ६५ बर्षीय कृष्णबहादुर थिङ रहेका छन् ।
हेटौडा १५ स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएकोमा बाख्रालाई बाघले आक्रमण गरेपछि धपाउन खोजेका बेला उनीहरुलाई बाघले आक्रमण गरेको मवानपुर प्रहरीले जनाएकाे छ । घाइते घलान र थिङकाे हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
बाघकाे आक्रमणबाट घलानकाे दाहिने कुम, ढाडकाे बायाँ, छातीमा चाेट लागेकाे अवस्था मध्यम रहेकाे तथा थिङकाे घाटीमा गहिरो लागेकाेले अवस्था गम्भिर रहेकाे बताइएकाे छ । थिङलाई थप उपचारका लागि भरतपुर पठाउने तयारी समेत भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय राजधानीबाट तराइलाई जोड्ने द्रुतमार्ग (फास्टट्रयाक) को निरीक्षण गरेका छन् ।
प्रम दाहालले ३ मन्त्रीसहित द्रुतमार्गको निरीक्षण गरेका हुन्। संघीय राजधानीबाट तराइलाई जोड्ने फास्टट्रयाक निर्माण स्थलको अवलोकनका क्रममा प्रम दाहालले कामको रफ्तार बढाउन निर्देशन दिएका छन् । निरीक्षणका क्रममा बोल्दै प्रचण्डले दु्रतमार्ग निर्माणको काम सन्तोषजनक भएको बताए ।
काठमाडौबाट मकवानपुरको बुदुनेमा नेपाली सेनाको हेलीकोप्टर मार्फत आईपुगेका प्रचण्डले दु्रतमार्गको काम सन्तोषजनक भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित दु्रतमार्गको निरीक्षणका लागि उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वला सहितको टोलीले निरीक्षण गरेको हो ।

यता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान पनि दु्रतमार्ग निरिक्षण कार्यक्रममा पुगेका थिए ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत आएका दाहालले आज भीमफेदी गाउँपालिका–८ महादेवटारमा फाष्ट ट्रयाक अन्तरर्गत बनिरहेको सुरुङ मार्ग, मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ मा निर्माण भइरहेको सुरुङ मार्ग र बकैया–५ पावस र रानीवन खर्कटेमा बकैया खोलामाथिको निर्माण कार्य भइरहेको पुलको स्थलगत अनुगमन गरे ।
अनुगमनका क्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणा, सुरक्षानिकायका प्रमुखहरुको सहभागिता रहेको थियो।
राष्ट्रिय योजना अन्तरगतको फास्ट ट्रयाक २०७४ बैशाख २१ देखि नेपाली सेनाको जिम्मेवारीमा निर्माण भैरहेको छ ।
मकवानपुर । गैसस मकवानपुरले नववर्ष २०८० को अवसरमा शुभकामना आदनप्रदान तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुर प्रमुख ललित घलालनले मकवानपुर जिल्लामा गैससहरूको सहकार्य अन्त्यन्तै प्रभावकारी रहेको बताए ।
गैरसरकारी संघसंस्थाहरूको योगदान समाजिक विकासमा महत्वपुण रहेको गैसस मकवानपुर पुर्व अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी नेतृ मुनु सिग्देलले बताइन् । गैससहरूले सामाजिक सचेतना अभिवृद्धि संगै सबैखाले बिकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।
कोरोना महामारीको समयमा व्यक्ति बचाउका लागि होस् वा शैक्षिक अभियानहरूमा गैससहरूको सहकार्य सकारात्मक भएको सहभागीहरूले बताए ।
स्थानीय जनप्रतिनिधिहरूसंग शुभकामना आदनप्रदानसंगै परिचयात्मक कार्यक्रमले गैससकर्मीहरूलाई आगामी दिनमा कार्यक्षेत्रमा सहजता होस् भनेर कार्यक्रम गरिएको गैसस मकवानपुर उपाध्यक्ष कुमारी वाईबाले बताइन् ।

मकवानपुर रिकभरीङ समूहको व्यवस्थापनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला बार एशोसियन अध्यक्ष अप्सरा बस्नेत, राप्रपाका नेता सिताराम बर्तौला, भूमी आयोगका जिल्ला अध्यक्ष बिष्णु दाहाल, हेटौंडा उपमहानगरपालिका १ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता सबिन न्यौपाने, वडा २ का अध्यक्ष बिष्णुगोपाल श्रेष्ठ, जिल्लाका गैरसरकारी संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको थियो । स्थानीय क्षेत्रमा विकास तथा समृद्धिको लागि गैससहरूको समन्वय र सहजीकरण सधैं रहने अध्यक्ष सापकोटाले बताइन् ।