मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार कैलाश गाउँपालिकाका रामबहादुर मोक्तान र भीमफेदी गाउँपालिकाका दिनेश लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो ३ बजेर १० बजेको समयमा भैंसेबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बरको बसको हेटौंडा–१ चौकिटोलस्थित प्रहरी चौकीले सुरक्षाजाँच गर्ने क्रममा मकवानपुरको कैलाश गाउँपालिका–५, गोगनेका ४२ वर्षीय राम बहादुर मोक्तानको साथबाट लागुऔषध गाँजा २ केजी ९०० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ समेत सेवन गरेका मोक्तानले बसको क्याबिनमा राखी ल्याएको झोला जाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार साँझ ५ बजेर ३० बजेको समयमा हेटौंडा–१०, भुटनदेवीस्थित विद्युत प्राधिकरण अगाडि प्रहरीले भीमफेदी गाउँपालिका–४, निबुवाटारका २९ वर्षीय दिनेश लामालाई लागुऔषध ओनरेक्स सहित नियन्त्रणमा लोएको हो ।
बिशेष सूचनाको आधारमा बाटोमा हिडिरहेका लामालाई सोधपुछ तथा जाच गर्दा उनको साथबाट लागुऔषध ओनरेक्स ८ बोतल (प्रतिबोतल १०० मिलिलिटर) फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
लागूऔषध सहित नियन्त्रणमा लिइएका मोक्तान र लामालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । सन्चारमा बहिरा नागरिकको पहुँच बढाउन दोभाषे तालिम प्रदान गरिएको छ ।
सांकेतिक भाषा सन्चार बहिरा नागरिकहरूको अधिकार भन्ने नाराका साथ दुई महिने नेपाली सांकेतिक भाषा (दोभाषे) तालिम दिइएको हो । साङ्केतिक भाषामा दख्खल कृष्ण गजुरेलले सहभागीहरूलाई तालिम दिएका थिए ।
तालिममा धेरै सिकाइ भएको र यो तालिम दोभाषेको लागि कोशेढुङ्गा साबित हुने प्रशिक्षक गजुरेलले बताए। सात वटै प्रदेशबाट १८ जना सहभागीलाई साङ्केतिक भाषाको प्रशिक्षण दिइएको हो । “आ-आफ्नो स्थानमा दोभाषेको अमुल्य भूमिका हुनेछ” गजुरेलले भने ।
तालिम समापन कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिभा राईले सिपको लागि सरकारले लगानी गरेपछि तालिम प्राप्त जनशक्तिबाट सरकारले पनि अपेक्षा गर्ने बताइन् । व्यवसायीक दोभाषे जीवनको लागि निजि क्षेत्रबाट पनि आफैले पहल गर्न राइले सहभागीलाई आग्रह गरिन ।
हेटौंडा ५ का वडा अध्यक्ष सुशील घिमिरेले स्थानीय तहबाट सेवा दिने क्रममा समेत दोभाषेको आवश्यकता महसुस गरेको बताए । वडाले समन्वयको लागि सहकार्य गर्ने उनले बताए ।
बहिरा नागरिकको पहिलो अधिकारको रूपमा सांकेतिक भाषा सन्चार रहेको राष्ट्रिय अपांग महासँघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए । “बहिरासंग सम्बन्धी संस्थाले मात्रै यो भाषा सीप लिएर हुँदैन, सबैमा यी सीप नभएसम्म सन्चार अधुरो हुन्छ” लम्सालले भने । सरकारले आफ्नो नीति कार्यक्रममा नै ब्यवस्थापन गरेर सांकेतिक भाषा सिपको विस्तार गर्नुपर्ने उनले बताए । हरेक नेपालीमा सांकेतिक भाषाको सीप अनिवार्य हुनुपर्ने उनले बताए ।
कार्यक्रममा बहिरा संघ जिल्ला अध्यक्ष सन्तोष पौडेलले जिल्ला प्रशासन कार्यालयमा सेवा लिदा होस् वा अन्य कार्यालयमा सेवा लिंदा भाषिक समस्या नहोस् भन्नेर यसतर्फ सोच्नुपर्ने केशीले बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत सरस्वती कटुवालले बोल्न नसक्नेहरूको सवाललाई सम्बन्धित ठाउँको सम्बन्धित व्यक्तिलाई बुझाउन कठिनाइ हुँदै आएको बताइन् ।
“पूर्ण सिपको अभावमा आफूले पूर्ण जानकारी दिन सकिन जस्तो लाग्थ्यो अब तालिमले क्षमता बढाएको छ” उनले भनिन । मन्त्रालयमा प्रस्ताव पेश गर्न, अनुदान कार्यक्रम लिदा बहिरा नागरिकहरूको उपस्थिति हुने गरेको उनले बताइन् ।
ग्रामीण महिला सेवा केन्द्र अध्यक्ष सुलोचना स्ताङ्तानले भाषाकै कारण सेवा लिने समस्या अब समाधान हुने बताइन् । मकवानपुर बहिरा संघ अध्यक्ष दुर्गा बानियाँलगायतको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ महासचिव सन्तोष केसीको अध्यक्षता कार्यक्रम भएको थियो ।
देशभरको सबै स्थानीय तहमा कम्तीमा एक एक जना दोभाषेको ब्यवस्थापन गर्ने महासंघको उदेश्य रहेको केसीले बताए । तालिम लिएका जनशक्ति देशको लागि सधै तत्पर रहने उनले बताए । नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघले समेत यो उदेश्यको लागि तयार रहेको आश्वासन दिएको उनले बताए ।
कृष्ण गजुरेल र जशोदा कंडेलले प्रशिक्षण दिएको तालिममा ७ प्रदेशबाट ३ पुरुष सहित १८ जनाको सहभागीता रहेको थियो ।
मकवानपुर । प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
बैशाख १८ गते सोमबार बिहान ८ बजे लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौ र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरीक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिएको संयुक्त टोलीले थाहा नगरपालिका वडा नं.-७ आग्रा बस्ने वर्ष ७६ का भिम बहादुर थिङ, वर्ष ३९ का शिवराज थिङ र वर्ष ६७ का ईन्द्र बहादुर थिङको घरमा खानतलासी गर्दा लागू औषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा २ सय २ किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भिम बहादुर थिङ र शिवराज थिङको घरबाट ३० वटा पोकाहरुमा २७ किलो ग्राम गाँजाको धुलो र ईन्द्र बहादुर थिङको घरबाट १० वटा बोराहरुमा १ सय ७५ किलो लागू औषध गाँजा गरी २ सय २ किलो लागू औषध गाँजा तथा धुलो फेला सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुर ल्याइएको र कारबाहीको लागि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिमा शनिबार पत्रकार सम्मेलन गर्दै गारक्षेश्वर विकास समितिका अध्यक्ष एवम् संरक्षक अजयराज सुमार्गीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
हरेक ५ वर्षको अन्तरालमा बैशाख १ गते नयाँ वर्षबाट सुरु हुने महायज्ञ यो वर्ष बृहष्पति अस्थ भएका कारण बैशाख २० गतेबाट सुरु हुने भएको हो । यसअघि २०६० साल २०६५ साल २०७० साल २०७५ सालमा महायज्ञ आयोजना गरिएको थियो । पाँचौं संस्करणको रुपमा २०८० बैशाख १ गतेदेखि गर्ने सम्पूर्ण तयारी भएपनि बैशाख २० मा महायज्ञ सारिएको समितिका अध्यक्ष सुमार्गीले बताए ।
महायज्ञ अनन्त श्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा.सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने जनाएको छ ।
महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरुहरु, सामाजिक व्यक्तिहरु एनआरएनसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तिहरु, समाजसेवी, बुद्धिजीवी , प्राध्यापक, शिक्षक, उद्योगपति, व्यवसायी लगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिहरुको सामुहिक उपस्थिति रहने सुमार्गीले जानकारी दिए ।
पछिल्लो चरणमा धर्म संस्कृति र परम्परा लोपोन्मुख हुँदै गएको हुँदा त्यसलाई जोगाउन यो महायज्ञले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । यो महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको हुँदा सबैले खुला मनले महायज्ञमा सहभागी हुन आग्रह समेत उनले गरे ।
हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा बैशाख २० देखि २६ गतेसम्म आयोजना हुने महायज्ञ बैशाख २० गते बिहान ७ बजे शङ्ख, घण्ट, खैजडी भजन, डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा, १० बजे समुद्घाटन, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्ति संगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।
त्यसैगरी, बैशाख २१ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, होमहोमादी, विश्वस्तुति, ८ बजे मण्डव पुजन तथा पाठ पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, महाआरती, ५ बजेदेखि खैंजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुनेछ ।
बैशाख २२ गते तेश्रो दिन बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रहनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म खैँजडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुने जनाएको छ ।
बैशाख २३ गते बिहान सबैकार्य पुर्ववत्, दिवकार्य पुर्ववत्, अपरान्ह ३ बजे विश्वशान्तिको कामना सहित बाजागाजाका साथ नगरपरिक्रमा बुद्धचोक हेडम्बीचोक, मानसचोक, संगमचोक, कान्तिराजपथ हुँदै शीतल महलचोक, मेनरोड भुटनदेवी चोक हुँदै अखण्ड हरिकिर्तन चोकमा दीप प्रज्वलन साँझको कार्यक्रम हुने बताएको छ ।
त्यसैगरी, बैशाख २४ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, शिववस्तुति, ८ बजे ब्रतवन्ध कार्यक्रम तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती, ५ बजेदेखि खैँजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजनकिर्तन हुने जनाएको छ ।
बैशाख २५ गते बिहान ५ बजे वेदध्वदिन, विष्णुसहस्रनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपाराण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, साँझ ६ बजे राप्तीतटमा सवा ५ बजे दीपप्रज्वलन हुनेछ भने महायज्ञको अन्तिम दिन बैशाख २६ गते बिहान ७ बजे कथावाचन, ११ बजे तिलार्चना, पुर्णाहुति, समापन कार्यक्रम, पुरस्कार वितरण सामुहिक भोजनसहित विदाई कार्यक्रम हुने आयोजक समितिका महासचिव ह्याग्रीव आचार्यले जानकारी दिए ।
यसवर्ष २५ हजार महिलाहरुले एकै प्रकारको साडीमा कलशयात्रा गर्ने महासचिव आचार्यले बताए । पत्रकार सम्मेलनमा समितिका विरिष्ठ सह–संम्योजक उत्तर शर्मा ढकाल, सदस्य अरुण सुमार्गी, प्रचार विभाग संम्योजक माधव न्यौपाने लगायतको उपस्थिती रहिको थियो ।
मकवानपुर । हेटौंडा साइकल रन प्रतियोगितामा पुजन मगर विजयी भएका छन् । शनिबार बिहान भएको खुल्ला प्रतियोगितामा निर्धारित २५ किमिकाे दुरी ३८ मिनेट १९.३७ सेकेन्डमा पार गर्दै मगर विजयी भएका हुन् ।
रनकाे उपाधी विजेतासँगै मगरले ५० हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् । प्रतियाेगितामा सहभागी राजिव ठाकुरले ३७ मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेकाेमा उनी मकवानपुर जिल्लाको स्थायी बासिन्दा नभएकोे पाइएपछि मगरलाई प्रथम घोषणा गरिएको हेटाैडा उपमहानगरपालिकाका खेलकुद शाखाका अधिकृत बसन्तकुमार सिटौलाले बताए ।
यसैगरी ३८ मिनेट १९.७७ सेकेन्डमा २५ किमिकाे दुरी पार गर्दै आशिष थापा मगर द्वितीय भएका छन् । ३९ मिनेट ३८.२३ सेकेन्डमा निर्धारित दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् । द्वितीय र तृतीयले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्दा प्रतियोगितामा सान्त्वना भएका प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ हात पारेका छन् ।

सिटाैलाका अनुसार ५० जनाको सहभागिता रहेको प्रतियोगिता हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, चुच्चेखाेला, हटिया, कमाने हुँदै पुनः हुप्रचौरमा आएर समापन भएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएकाे हाे ।
प्रतियोगिताकाे समापनमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने र १४ का वडाध्यक्ष दीपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।