पालुङ। जाजरकाेट भूकम्प पीडितलाई पालुङ जेसीजले राहत रकम उपलब्ध गराएकाे छ । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले भूकम्पका कारण पीडितहरुलाई राहत उपलब्ध गराउन २५ हजार २५ रुपैंया नेपाल जेसीज मार्फत पठाएको छ ।
कात्तिक १७ गते मध्यरात जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पठाउनको लागि जेसीज सदस्यहरुको सक्रियतामा स्थानीय स्तरमा संकलन गरी नेपाल जेसीज मार्फत उक्त रकम नेपाल जेसीजको खातामा मंगलबार जम्मा गरिएको पालुङ जेसीज बर्ष २०२३ का कानुनी सल्लाहकार निरज रायमाझीले बताए ।
भूकम्प गए लगत्तै पालुङ जेसीजले स्थानीय स्तरमा संकलन गरेकाे र जेसीजको बिपत राहत कोषमा जम्मा भएको रकम सहयाेग गरिएकाे रायमाझीले जानकारी दिए । ‘मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो’ भन्ने जेसीजको नारालाई आत्मसाथ गर्दै भूकम्प पीडितहरुको घाउमा थोरै भएपनि मलम लगाउनको लागि पालुङ जेसीजले नेपाल जेसीज मार्फत सहयोग रकम पठाईएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एपम् नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार संगम कार्कीले बताए ।
मकवानपुर । यातायातकाे सुविधाबाट वञ्चित हेटौंडा–१ शिखरकोट (ध्याङसिंटार) का बासिन्दा सडक सुबिधाबाट लाभाम्वित हुने भएका छन् ।
हेटौंडा–१ शिखरकोट (ध्याङसिंटार) का स्थानीयले हेटौंडा बजारसम्म आउन धेरै समय खर्चनु पर्ने भएपछि हेटौंडा १ शिखरकोट र हेटौडा ११ स्मारक जोडिने गरी सडक स्तरीकरणकाे कामले निरन्तराता पाएकाे छ । हेटौंडा उपमहानगरपालिका र हेटौंडा १ नम्बर वडा कार्यालयको लगानीमा हेटौंडा–११ बनदेबी बाट सडक स्तरीकरणको कामले निरन्तरताले बिकट गाउँमा रहेका स्थानिय सडक सुबिधाबाट लाभाम्बित हुने भएका हुन् ।
उपमहानगर र वडा नम्बर १ बाट छुट्याइएको बजेट बाट गत आर्थिक बर्षमा ३० लाख बराबरको काम भएको थियो । बहुबर्षे योजनामा झै काम भैरहेको हेटौंडा–११ बनदेबी बाट उकालो लाग्दै जाने सडकमा गत आर्थिक बर्षमा उपमहानगरले २० र १ नम्बर वडा बाट १० लाख रुपियाँ गरी ३० लाख बराबरको काम भएको थियो ।
चालु आर्थिक बर्ष २०८०/०८१ मा उपमहानगरपालिकाले बिनियोजन गरेको ५० लाख रुपियाँ बजेटले बुधबारबाट सडकको स्तरीकरण सुरु गरीएको छ । उपमहानगरले बिनियोजन गरेको बजेटबाट थालिएको स्तरीकरणको कामलाई नगर उपप्रमुख राजेश बानियाँले शिलान्यास गरेका छन् । करीब ८७० मिटर लामो सडकको शिखरकोट पुगेर उनले शिलान्यास गरेका हुन् । सडक निर्माण सम्पन्न भएसँगै हेटौंडा ११ हुँदै बजारसम्म आउन करिब २० मिनेटको समय लाग्ने स्थानीयको भनाई छ । अहिले भैरबडाँडा हुँदै बजारसम्म आउँने करिब २ घण्टा बन्दा बढि समय लाग्ने स्थानीय नामग्याल सिन्तानले बताए ।
सडकको शिलान्यास गर्दै कार्यवाहक नगर प्रमुख समेत रहेका बानियाँले पूर्वाधार निर्माणको कामलाई बिशेष प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले तत्कालिन नगरपालिकासँग जोडिएका गाउँपालिका लक्षित बिकासलाई उपमहानगरले अघि बढाएको भन्दै उनले जनताको भावनालाई समेट्दै अहिलेको नेतृत्व अघि बढ्ने बताए । उनले उपमहानगर भित्र रहेर पनि धेरै वडाका ठाउँहरु बिकट रहेको भन्दै त्यस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न तत्पर रहेको बताए । हेटौंडा–११ स्मारक सम्म जोडिनका लागि आगामि दिनमा पनि बजेट निर्माण प्रकृयामा ध्यान दिन प्रतिबद्धता जनाए ।
सडक स्तरीकरणको शिलान्यास कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेले शिखरकोट क्षेत्रमा रहेको स्वास्थ्य र खानेपानीको समस्या समाधानका लागि आपू तत्पर रहेकाे बताए । बजार क्षेत्र भन्दा पर ग्रामीण भेगलाई ध्यान दिँदै वडा कार्यालयले काम गरिरहेको उनले बताए ।
सडक स्तरीकरण समितिका अध्यक्ष लवाङ सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी रसाईली, वडा सदस्यहरु सोनामसिंह व्लोन, मनु दाहाल, वडा सचिव गंगा राई, प्राबिधिक छठु साह, नेपाली काग्रेस १ नम्बर इकाई सभापति हरीकृष्ण महर्जन, स्थानीय समाजसेवी नामग्याल सिन्तान लगाएको उपस्थिति थियो ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका चेपाङ्गहरूले स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन गाउँपालिकालाई आग्रह गरेका छन् ।
गाउँपालिका र चेपाङ्ग समुदायका अग्रज व्यक्तित्वबीच आज बुधबार मनहरीमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो सवाल उठाएका हुन् । चेपाङ्ग समुदायका अगुवाहरुले विकास निर्माणका कार्यहरुमा सो समुदायलाई समेट्नु पर्ने माग गरेका छन् । चेपाङ्गलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउन पनि उनीहरुले अनुरोध गरे ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ्गले आफ्नो कार्यकालमा चेपाङ्ग जातिका लागि उल्लेखनीय कार्य गरेको दावी गरे । हालसम्म १ अर्ब ६० करोँड लगानी गरी चेपाङ्ग समुदायको लागि स्तरोन्नतीका कार्यक्रमहरु ल्याइएको उनले दाबी गरे ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले चेपाङ्ग समुदाय लक्षित बजेट निर्माणका लागि सबैको सल्लाह अनुसार अघि बढ्ने बताए । सीमान्तकृत चेपाङ्ग समुदायको निशुल्क शिक्षा र स्वास्थ्यका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउँदै आवश्यकता अनुसार वडा कार्यालयको सीफारीस अनुसार सेवा लिन आग्रह गरे ।
कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ४ नं वडाअध्यक्ष प्रकास थापा, १ नं वडाअध्यक्ष शिव खनाल र ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्याल, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल र ४५ जना चेपाङ्ग समुदायका अग्रज व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
आदीवासी जनजाती समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया भएको थियो ।

मकवानपुर । बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएकाे छ । नियमित कार्यक्रम अन्तरगत बुधबारबाट सुरु भएकाे जेसीज सप्ताहकाे पहिलाे दिन बुधबार फुटसल प्रतियाेगिता आयोजना गरिएकाे हाे ।
मंसिर २३ गतेसम्म संचालन हुने जेसीज सप्ताहमा सात वटा कार्यक्रमको आयोजना गरिने जेसीजले जनाएकाे छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन मनिष खड्काको संयोजकत्वमा कमलडाँडा अन्तर जेसीज फूटसल प्रतियोगिता भएकाे हाे । यसै गरी आज नै ध्रुव गौतमको संयोजकत्वमा जनप्रिय माबि हटियामा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम हुने जेसीआई बसामाडी अध्यक्ष जनक भण्डारी जानकारी दिए ।
यस्तै, २२ गते प्रमोद उप्रेतीको संयोजकत्वमा आशा फाउन्डेसन स्कुलमा खाद्यान्न बितरण कार्यक्रम र दिपेन्द्र यादबको संयोजकत्वमा सिद्धार्थ शिशु सदन माबि मा बक्तृत्वकला प्रतियोगिता हुनेछ । सप्ताह कार्यक्रमको अन्तिम दिन मंसिर २३ गते बुद्धराज अर्यालको संयोजकत्वमा होटल लियो इन हेटौंडामा समापन तथा पुरस्कार बितरण कार्यक्रम हुने जनाइएको छ ।
मकवानपुर । माइती नेपाल मकवानपुरले संस्थामा ४ महिनासम्म आवासीय तालिम लिएका किशोरीहरुलाई मंगलबार प्रमाणपत्र वितरण गरेको छ ।
पढाई छोडेका, आर्थिक रुपमा विपन्न, बेचविखनको जोखिममा पर्न संभावना भएका वर्गका २० किशोरीहरुलाई आधारभूत तथा एड्भान्स सिलाई सिप सिकाएको प्रशिक्षक सरिता देवकोटाले बताइन् । उनीहरुलाई नेतृत्व विकास, जीवनपयोगी कलाबारे प्रशिक्षण गराइएको थियो ।
माइती नेपाल मकवानपुर प्रमुख माया लामाको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रमका हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलले सिपलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरे । सिपले व्यक्तिलाई आत्मानिर्भर बनाउने र आत्मानिर्भरताले हिंसाबाट माथि उठ्न सहायता गर्ने भएकोले जीवनमा उर्जाशील हुन अध्यक्ष सिग्देलले आग्रह गरे । आर्थिक रुपमा सशक्त भएपछि व्यक्तिको जीवन सहज बन्छ, सिपलाई अझै समय सापेक्ष बनाउन युट्युबबाट समेत ज्ञान लिन सकिने सिग्देलले बताए ।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा बेचविखन विरुद्धको जिल्ला सञ्जाल अध्यक्ष आरती पाठकले माइती नेपालको कामको प्रशंसा गर्दै सिप सिकेका किशोरीहरुले आफ्नो गाउँमा गएर अन्यलाई समेत समन्वय गरेर सिपलाई बढाउनु पर्ने बताइन् । कार्यक्रममा हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले सिप जीवनको आधार बन्ने भएकोले प्रमाणपत्रको भरपुर प्रयोग गर्न किशोरीहरुलाई प्रेरित गरिन् । तालिममा मकवानपुरगढी, मनहरी, बकैया, बागमती, राक्सिराङलगायत गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका किशोरीहरु सहभागी रहेको संस्थाकी सुपरभाइजर मन लामाले बताइन् ।
यसैगरी संस्थाले माइती नेपालमा अघिल्लो समूहमा सिलाई सिकेर व्यवसायमा लागेकी मकवानपुरगढी १ रानीसेराकी सरिता बम्जनको व्यवसाय अवलोकन गराएको छ । सोमबार भएको अवलोकन भ्रमणमा गाउँपालिकाको वडा १ का अध्यक्ष आइतसिं लोको समेत उपस्थिति रहेको थियो । मानव बेचविखन रोकथाम परियोजना अन्तरगत भएको कार्यक्रममा पालिकामा रहेका किशोरीहरुको हितको लागि आफूले समन्वय गर्ने वडा अध्यक्ष लोले बताए ।
व्यवसाय अवलोकनपछि संस्थाबाट तालिम लिएका किशोरी तथा संस्थाका प्रतिनिधिहरुले माइती नेपालद्वारा उत्पादित सूचना तथा जानकारीमुलक ब्रुसरहरु वितरणको लागि घरदैलो कार्यक्रम समेत गरिएको प्रमुख माया लामाले बताइन् ।