मकवानपुर । वैदेशिक रोजगारीका लागि ठगी गर्ने १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आराेपमा राक्सिराङ गाउँपालिका–१ की ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरेको हाे ।
वैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दामा जारी पक्राउ पुर्जीकाे आधारमा खटिएको प्रहरी टोलीले गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गोलेलाई काठमाडौंको ताहाचलस्थित बैदेशिक रोजगार विभाग पठाइने बताइएकाे छ ।
मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएकाे वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत जिल्लास्तरीत कराँते प्रतियोगिताकाे उपाधी बकैया गाउँपालिकाको हात्तीसुडे डोजोले हात पारेकाे छ ।
२ दिनसम्म सञ्चालन भएकाे प्रतियोगिताकाे मंगलबार सम्पन्न भएकाे हाे । हात्ती सुडे डोजोले १४ स्वर्ण पदक हासिल गर्दै उपाधी जितेकाे हाे । ३ स्वर्ण पदक प्राप्त गर्दै बकैया ११ काे सिमात दोस्रो हुँदा २ स्वर्ण पदक सहित हेटौंडाको मेन डोजो तृतीय भएको छ । नेपाल सितोरियो कराँते संघ मकवानपुरकाे व्यवस्थापनमा हेटौंडा-४,स्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबारबाट प्रतियोगिता सुरु भएकाे हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिता अन्तर्गत ३० केजी तौल समूहदेखि ६५ केजी तौल समूह सम्मको खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । एकल काताको खेल समेत भएको प्रतियोगितामा ३ सय ६५ जना खेलाडीको सहभागीता रहेको थियो ।
मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्बर–२ स्थित मंगलेश्वर युवा क्लबले हात पारेकाे छ ।
हेटौंडा जारी दोस्रो वृहत्,खेलकुद कृषि तथा पर्यटन महोत्सवमा स्थलमा मंगलबारकाे फाइनल खेलमा हेटौंडा–११,स्थित छहारी युवा समाजलाई ३–० को सोझो सेटले हराउँदै मंगलेश्वरले उपाधि जितेको हो । छहारीलाई मंगलेश्वरले २७–२५, २५–२० र २५–१६ को सेटले पाखा लगाउँदै उसले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएकाे छहारीले ५० हजार रुपैयाँ र शिल्ड, मेडल प्राप्त गर्यो ।
मंगलबार भएको पहिलो सेमीफाइनलमा मंगलेश्वरले थाहा नगरपालिका ६ काे नव प्रतिभा साँस्कृतिक युवा क्लबलाई २५–१९, २५–१८ र २५–१४ को सोझो सेटले पराजित गर्दै फाइनलमा स्थान बनाएकाे थियो । यसैगरी दोस्रो सेमीफाइनलमा छहारीले मनहरी गाउँपालिकालाई २८–२६,२५–२३ र २५–१६ को साझो सेटले पराजित गर्दै फाइनल समिकरण पुरा गरेकाे थियो ।
सेमीफाइनलमै रोकिएका प्रतिभा साँस्कृति युवा क्लब बज्रबाराही र मनहरीको टिमले १५/१५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् । मकवानपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका मंगलेश्वर युवा क्लबका कुशल लामाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी उत्कृष्ट डिफेन्डर मङ्गलेश्वरका विवेक कार्की, उत्कृष्ट स्पाइकर छहारीका पुजन गुरुङ, उत्कृष्ट सेटर मङ्गलेश्वरका उत्सव आले मगर, उत्कृष्ट ब्लकर प्रवेश कार्की, उत्कृष्ट प्रशिक्षक छहारीका योगबहादुर लामा र उद्यान खेलाडी मनहरीका जोशन गौतमलाई जनही २/२ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएकाे छ ।
मकवानपुर । हेटौंडाको टिसिएन चौरमा सञ्चालन भैरहेको खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा जारी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सोमबार भएको क्वाटरफाइनल खेलबाट जित निकाल्दै ४ वटा टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । क्वाटरफाइनलमा जित निकाल्दै थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लव, बज्रबाराहीको नवप्रतिभा क्लव, मनहरी गाउँपालिका र छहारी युवा क्लव हेटौंडा ११ ले अन्तिम चारमा स्थान बनाएका छन् ।
सोमबार भएकाे पहिलो खेलमा मंगलेश्वर क्लवले मिलन युवा क्लवलाई २५–२० र २५–१४ को सोझो सेटमा हराएको छ । दोस्रो खेलमा नवप्रतिभाले बागमती गाउँपालिकालाई २५–१९ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । सोमबारै भएको अर्को खेलमा मनहरी गाउँपालिकाले सफल केयर हेटौंडा १५ लाई २५–१२ र २५–२२ को सोझो सेटमा हराएको हो । अन्तिम खेलमा छहारी युवा क्लवले पशुपति युवा क्लव हेटौंडा ९ लाई २५–१४ र २५–१८ को सोझो सेटमा पाखा लगाएको हो ।
फाइनल प्रवेशका लागि मंगलेश्वर र नवप्रतिभा क्लव तथा मनहरी गाउँपालिका र छहारी युवा क्लवको बीचमा खेल हुनेछ । सेमिफाइनल मंगलबार बिहान र फाइनल दिउँसो १ बजेबाट हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टिमले एकलाख र उपविजेता टिमले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमले समान नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । मकवानपुर जिल्लाका ८ वटा टोली सहभागी प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालकी बागमती प्रदेश सदस्य सुमि थिङकाे मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ को विमोचन गरिएको छ ।
शनिबार चौतारीको ४२ ओैँ शृङ्खलाकाे अवसरमा थिङको कृति विमोचन एवम् विमर्श हेटौंडामा गरिएको हो । हेटौंडा १ स्थित अमर माविमा कक्षा ९ मा अध्ययनरत सुमिले पहिलाे कृति मुक्तक सङ्ग्रह प्रकाशन गरेकी हुन् ।कृतिमाथि साहित्यकार सानु खनाल तथा विविशा रुम्बाले समीक्षात्मक टिप्पणी गरेका थिए । यस्तै नवसर्जक राेज कार्की, नम्रता पराजुलीले कृतिमा समेटिएका मध्ये प्रतिनिधि रचना वाचन गरेका थिए ।
नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार डीबी बर्ताैलाकाे सम्पादन रहेको मुक्तक सङ्ग्रह नवसर्जक साहित्य चाैतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेकाे हाे । कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रअ मालती उप्रेती, चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
नवसर्जक चाैतारीले देशभरका २५ वर्षमुनिका नवसर्जककाे नेतृत्वमा पठन तथा लेखन संस्कृतिकाे विकास गर्दै आएकाे छ । नवसर्जकका कृति प्रकाशन गर्दै आएकाे चौतारीले आगामी दिनमा यसलाई निरन्तरता दिइने संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिइन् ।
चौतारीकी उपमहासचिव रचना भण्डारीकाे सहजीकरण गरेको कार्यक्रम चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालकाे अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेकाे प्रमुख आतिथ्यमा भएको थियो ।