मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालकी बागमती प्रदेश सदस्य सुमि थिङकाे मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ को विमोचन गरिएको छ ।
शनिबार चौतारीको ४२ ओैँ शृङ्खलाकाे अवसरमा थिङको कृति विमोचन एवम् विमर्श हेटौंडामा गरिएको हो । हेटौंडा १ स्थित अमर माविमा कक्षा ९ मा अध्ययनरत सुमिले पहिलाे कृति मुक्तक सङ्ग्रह प्रकाशन गरेकी हुन् ।कृतिमाथि साहित्यकार सानु खनाल तथा विविशा रुम्बाले समीक्षात्मक टिप्पणी गरेका थिए । यस्तै नवसर्जक राेज कार्की, नम्रता पराजुलीले कृतिमा समेटिएका मध्ये प्रतिनिधि रचना वाचन गरेका थिए ।
नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार डीबी बर्ताैलाकाे सम्पादन रहेको मुक्तक सङ्ग्रह नवसर्जक साहित्य चाैतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेकाे हाे । कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रअ मालती उप्रेती, चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
नवसर्जक चाैतारीले देशभरका २५ वर्षमुनिका नवसर्जककाे नेतृत्वमा पठन तथा लेखन संस्कृतिकाे विकास गर्दै आएकाे छ । नवसर्जकका कृति प्रकाशन गर्दै आएकाे चौतारीले आगामी दिनमा यसलाई निरन्तरता दिइने संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिइन् ।
चौतारीकी उपमहासचिव रचना भण्डारीकाे सहजीकरण गरेको कार्यक्रम चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालकाे अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेकाे प्रमुख आतिथ्यमा भएको थियो ।

