मकवानपुर । मकवानपुरकाे हेटौंडामा शुक्रबारबाट सञ्चालन भएकाे बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत पहिलो दिन आज जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता भएको छ ।
हेटौंडामा भएकाे १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ १ का सुवास हेमजन प्रथम भएका छन् भने महिलातर्फ हेटौंडा १३ की साधना लोप्चन प्रथम भइन् । हेमजनले अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हाँसिल गरेका हुन् । दौडमा मनहरी ८ का सन्दिप विक द्वितीय र बकैया ८ का राजकुमार गोले तृतीय भए ।
यस्तै महिलातर्फ लोप्चनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै दौडको उपाधि जितेकी हुन् । महिलातर्फ हेटौंडा १३ कै अमृता मोक्तान द्वितीय, हेटौंडा ४ की सुविना गोले तृतीय र राक्सिराङ १ की निलिमा थिङ सान्त्वना भइन् । दुवैतर्फको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र एकहजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद महोत्सव सुरु भएको हो । महोत्सव अन्तर्गत विभिन्न ६ वटा विधामा खेलकुद प्रतियोगिता हुनेछ । दौडमा इच्छा भएका खेलाडीहरुको पहिचानसहित खेल क्षेत्रको विकासका निम्ति जिल्लास्तरीय महिला तथा पुरुष दौडको आयोजना गरिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।
शुक्रबारबाट नै जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता समेत सुरु भएको छ । हेटौंडा ११ थानाभर्याङस्थित कभर्ड हलमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले ब्याड्मिन्टन प्रतियोगिताको उद्घाटन गरे । ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५÷५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिए ।
खेलकुद महोत्सवकाे आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बानियाँले गौरीटार रङ्गशालामा आगामी एक महिनाभित्र बागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजन गर्न लागिएको जानकारी दिए । खेलाडीहरू समाज र राष्ट्रका पहिचान भएकाले अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे
खेलकुद क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले भने ’कृषि, पर्यटन क्षेत्रको विकास गरी प्रदेशका जनताको आयस्रोत वृद्धि गर्ने विषयमा प्रदेश सरकार गम्भीर छ । प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण, संवर्द्धन गरी पर्यटक क्षेत्रको विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ।’
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, मकवानपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाट, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायत उपस्थित थिए ।

