मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएकाे वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत जिल्लास्तरीत कराँते प्रतियोगिताकाे उपाधी बकैया गाउँपालिकाको हात्तीसुडे डोजोले हात पारेकाे छ ।
२ दिनसम्म सञ्चालन भएकाे प्रतियोगिताकाे मंगलबार सम्पन्न भएकाे हाे । हात्ती सुडे डोजोले १४ स्वर्ण पदक हासिल गर्दै उपाधी जितेकाे हाे । ३ स्वर्ण पदक प्राप्त गर्दै बकैया ११ काे सिमात दोस्रो हुँदा २ स्वर्ण पदक सहित हेटौंडाको मेन डोजो तृतीय भएको छ । नेपाल सितोरियो कराँते संघ मकवानपुरकाे व्यवस्थापनमा हेटौंडा-४,स्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबारबाट प्रतियोगिता सुरु भएकाे हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिता अन्तर्गत ३० केजी तौल समूहदेखि ६५ केजी तौल समूह सम्मको खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । एकल काताको खेल समेत भएको प्रतियोगितामा ३ सय ६५ जना खेलाडीको सहभागीता रहेको थियो ।

