मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्बर–२ स्थित मंगलेश्वर युवा क्लबले हात पारेकाे छ ।
हेटौंडा जारी दोस्रो वृहत्,खेलकुद कृषि तथा पर्यटन महोत्सवमा स्थलमा मंगलबारकाे फाइनल खेलमा हेटौंडा–११,स्थित छहारी युवा समाजलाई ३–० को सोझो सेटले हराउँदै मंगलेश्वरले उपाधि जितेको हो । छहारीलाई मंगलेश्वरले २७–२५, २५–२० र २५–१६ को सेटले पाखा लगाउँदै उसले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएकाे छहारीले ५० हजार रुपैयाँ र शिल्ड, मेडल प्राप्त गर्यो ।
मंगलबार भएको पहिलो सेमीफाइनलमा मंगलेश्वरले थाहा नगरपालिका ६ काे नव प्रतिभा साँस्कृतिक युवा क्लबलाई २५–१९, २५–१८ र २५–१४ को सोझो सेटले पराजित गर्दै फाइनलमा स्थान बनाएकाे थियो । यसैगरी दोस्रो सेमीफाइनलमा छहारीले मनहरी गाउँपालिकालाई २८–२६,२५–२३ र २५–१६ को साझो सेटले पराजित गर्दै फाइनल समिकरण पुरा गरेकाे थियो ।
सेमीफाइनलमै रोकिएका प्रतिभा साँस्कृति युवा क्लब बज्रबाराही र मनहरीको टिमले १५/१५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् । मकवानपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका मंगलेश्वर युवा क्लबका कुशल लामाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी उत्कृष्ट डिफेन्डर मङ्गलेश्वरका विवेक कार्की, उत्कृष्ट स्पाइकर छहारीका पुजन गुरुङ, उत्कृष्ट सेटर मङ्गलेश्वरका उत्सव आले मगर, उत्कृष्ट ब्लकर प्रवेश कार्की, उत्कृष्ट प्रशिक्षक छहारीका योगबहादुर लामा र उद्यान खेलाडी मनहरीका जोशन गौतमलाई जनही २/२ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएकाे छ ।

