- गाेपिनी दाहाल
मकवानपुर । मकवानपुरमा बाघको आक्रमणबाट ४ वटा गाइको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारका रुद्र बहादुर रानाकाे गाई बाघको आक्रमणबाट मृत्यु भएको छ ।
स्थानीय ६५ वर्षीय रानाको ४ वटा गाई चराउनको लागि शुक्रबार मनकामना सामुदायिक बनमा छाडेकोमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । वन क्षेत्रमा चराउन छाडेको गाई घर फर्की नआएपछि खोजी गर्दै जाने क्रममा सोमबार गाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
साेमबार वन क्षेत्रमा गाई मृत रहेकाे जानरकाी स्थानीयले प्रहरी चौकी झुरझुरेमा गराएका थिए । झुरझुरे प्रहरी चौकीबाट टोली खटी गई उक्त स्थानमा हेर्दा २ वटा बाघको आधा भाग खाएको अवस्थामा र २ वटा मारेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मकवानपुर । लागूऔषध अफिमसहित २ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
शनिबार हेटौंडा १० को एक खाजा घरबाट थाहा नगरपालिका ८ का ५४ वर्षीय तेज बहादुर थिङ र ४३ वर्षीय शरण लामालाई २ किलो अफिमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले हेटौंडा १० स्थित खाजा घर भित्र बसिरहेका थिङ र हेटौडा २ डेरा गरि बस्ने लामालाई जाच गर्ने क्रममा शरण लामाले बोकेको झोलाबाट अफिम २ किलो फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार उक्त परिमाणको अफिमसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा ८ कमानेमा रहेकाे निलगिरी बाल समुहले रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । कालिकामाई टोल विकास सस्थाको सहकार्य रहेकाे कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन्।
१८ वर्ष भन्दा कम उमेरको बालबालिकाकाे समूहले आयाेजना गरेकाे कार्यक्रममा ३१ जना पुरुष र १० जना महिलाले रक्तदान गरेका थिए ।
बालबालिकालाई सामाजिक कार्यमा सहभागी गराउने तथा हेटौंडामा रगत अभावको कारण काेहि पनि बिरामी जाेखिममा नपरून भने उदेश्यले रक्तदान कार्यक्रम गरिएकाे बाल समुह अध्यक्ष सिमोन भट्टराई बताए । यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलने साथै र वडालाई बालमैत्री कायम गर्न सहयाेग पुग्ने उनले बताए ।
कार्यक्रमकाे हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापा, जिल्ला रेडक्रस सोसाइटी मन्त्री सुमित्रा काफ्ले, कालिकामाई टोल विकास अध्यक्ष रामकृष्ण प्रसाद घिमिरे, वडा जनप्रतिनिधि, टोल विकास समन्वय समितिका बिष्णु अर्याल, बालमैत्री सहजकर्ता रोजिता दङ्गाल,टोल बिकास आमा समूह, निलगिरी बाल समूहका अभिभावक भिमसेन घिमिरेलगायतकाकाे कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । हेटौंडा बजार क्षेत्रमा खानेपानीको उपलब्धता पर्याप्त बन्दै गएको छ । पानी दिवसको अवसरमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबारदेखि हेटौंडा बजार क्षेत्रमा वितरणका लागि दैनिक करिब ६० लाख लिटर खानेपानी थपिएको जनाएको छ ।
विश्व पानी दिवसको सन्दर्भ पारेर बोर्डले हेटौंडा उपमहानगरपालिका र गढीगाउँपालिकाको संगमस्थल सामरी खोला नजिकै निर्माण गरिएकाे हालसम्मकै ठूलो समवेल उद्घाटन गरिए पछि उक्त परिणाममा खानेपानी थपिएकाे हाे । उक्त समवेल निर्माण गरी दैनिक ६० लाख लिटर खानेपानी थप भएकाे बाेर्डले जनाएकाे छ ।
बोर्डले यसअघि हेटौंडामा दैनिक २ करोड ६२ लाख लिटर पानी वितरण गर्दै आएकोमा अब दैनिक ३ करोड २२ लाख लिटर पानी वितरण गर्नेछ ।बोर्डले हेटौंडामा २६ हजार नौसय धारामार्फत् पानी वितरण गरिरहेको छ । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार बोर्डको आफ्नै आन्तरिक आयबाट करिब २५ लाख रुपैयाँ लगानीमा उक्त समवेल निर्माण गरिएको हो । हेटौंडामा जनसंख्या बढ्दो अवस्थामा रहेपछि पिउने पानीको समस्या बढ्दै जांदा बोर्डले अब २४ सै घण्टा धारामा पानी उपलब्ध गराउन सक्ने गरि ठुलो परियोजना सुरु गरेको अध्यक्ष प्रताप विष्टले बताए ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालगायतले समवेलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख दोर्जे लामा, हेटौंडाका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरमा यस बर्ष ६ हजार १ सय ७१ विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी हुने भएका छन्।
मकवानपुरमा एसइई परीक्षामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी हुनेछन् भने एक्जाम्टेड तर्फ १ सय ४९ जना सहभागी हुनेछन् । नियमित, प्राविधिक तर्फ र एक्जाम्टेड गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
आगामी चैत १५ गते बिहीबारबाट सुरु हुने एसइईको सम्पूर्ण तयारी पुरा भएको ईकाईले जनाएको छ। इकाईका अनुसार यस बर्ष हुने एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने भएका छन् ।
गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मावि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो। मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको इकाइले जानकारी दिएकाे हाे । परीक्षाको तयारी पुरा भइसकेको बताइएको छ ।
