मकवानपुर । मकवानपुरमा यस बर्ष ६ हजार १ सय ७१ विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी हुने भएका छन्।
मकवानपुरमा एसइई परीक्षामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी हुनेछन् भने एक्जाम्टेड तर्फ १ सय ४९ जना सहभागी हुनेछन् । नियमित, प्राविधिक तर्फ र एक्जाम्टेड गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
आगामी चैत १५ गते बिहीबारबाट सुरु हुने एसइईको सम्पूर्ण तयारी पुरा भएको ईकाईले जनाएको छ। इकाईका अनुसार यस बर्ष हुने एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने भएका छन् ।
गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मावि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो। मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको इकाइले जानकारी दिएकाे हाे । परीक्षाको तयारी पुरा भइसकेको बताइएको छ ।


