मकवानपुर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरकमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएकी छिन् । हेटौंडामा भएको सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा लक्ष्मी उप्रेती मैनाली, सहसचिवमा सुभद्रा खड्गे, कोषाध्यक्षमा सुनिता मानन्धर चयन भएका छन् । सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा भएको भेलाले कार्यसमिति चयन गरेको हो ।
संघले सौन्दर्यकर्मीहरुको क्षमता विकासका लागि नयाँ तालिमहरु सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष सिटौलाले बताइन् ।
मकवानपुर । आगामी भदौ २८ र २९ गते युवा संघ नेपाल मकवानपुर जिल्लाको अधिवेशन हुने भएकाे छ । युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको दोस्रो बैठकले उक्त मितिमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।
जिल्ला संयोजक राजेश नगरकोटीको अध्यक्षतामा भएकाे बैठकले अधिवेशनसहितका छ वटा निर्णयहरू गरेको छ । गत जेठमा भएकाे नेकपा एमाले मकवानपुरको १२ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा मनोनीत सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ । त्यस्तै एमालेबाट प्रदेश र केन्द्रीय पदमा मनोनीत तथा विभिन्न जिम्मेवारीमा नियुक्त सम्पूर्ण सदस्यहरूलाई बधाई दिने निर्णय भएकाे नगरकाेटीले जानकारी दिए ।
बैठकले वातावरण संरक्षण र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने लक्ष्य सहित आगामी दिनहरूमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै युवा संघ त्यागेर समाजवादी पार्टीमा प्रवेश गरेकी मेनुका श्रेष्ठलाई संगठनको नियमानुसार कारबाही गर्ने निर्णय भएकाे उनले बताए । युवा संघ बागमती प्रदेशको आगामी श्रावण २६ र २७ गते भक्तपुरमा हुने अधिवेशनका लागि मकवानपुर जिल्लाबाट प्रतिनिधिहरू छनोट गरिएको छ ।
संयोजक नगरकोटीले बैठकमा गरिएका निर्णयहरूले संगठनलाई थप सुदृढ र क्रियाशील बनाउने बताए। ‘आगामी दिनहरूमा युवाहरूको हितका लागि अझ बढी कार्यक्रमहरू ल्याउने योजनामा रहेको छ’ उनले भने । उनले राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आगामी गतिविधिहरूको लागि बैठकबाट महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको बताउँदै संगठनले युवाहरूको सशक्तीकरण र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जानकारी दिए ।
बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना, मकवानपुर अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्ट, जिल्ला सदस्य तथा युवा ईन्चार्ज सानु लामा दोङ, युवा संघ बागमती प्रदेश संयोजक राजु तिवारी लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । रमेशमोहन अधिकारीको नियात्रा संग्रह ‘संयात्राको संयोग’ सार्वजनिक भएको छ । शनिबार हेटौंडामा अधिकारीको नियात्रा सङ्ग्रह सार्वजनिक भएको हो ।
झरना साहित्यिक परिवारको ३०६ औं साहित्य श्रृङ्खलामा अधिकारीकाे कृति विमोचन गरिएकाे हाे । अधिकारीको नियात्रा सङ्ग्रहमाथि साहित्यकार दीपक गौतम र रजनी पौडेलले समीक्षा गरेका थिए ।
अधिकारीको यो पाँचौं कृति हो । यसअघि अधिकारीका तीन वटा नियात्रा सङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् । अधिकारीको कृति ‘संयात्राको संयोग’ मा २८ वटा शीर्षकमा संस्मरण समावेश छन् । बुलबुल पब्लिकेसनले प्रकाशन गरेको नियात्रा सङ्ग्रहलाई पाँच खण्डमा प्रस्तुत गरिएकाे अधिकारीले बताए ।
झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जालको अध्यक्षता तथा साहित्यकार रामचन्द्र आचार्य ‘फुर्सदी’ को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
मकवानपुर । २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने हेटौंडा उपमहानगरपालिकामा रहेका समुदायीक बिद्यालय तथा बिद्यार्थीलाई सम्मान गरीएको छ ।
नगर स्तरीय शैक्षिक समन्वय समितिले शनिबार हेटौंडामा उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक बिद्यालयहरु मध्य एसइईमा उत्कृष्ट नतिजा ल्याउने ८ बिद्यालय सहित ६६ विद्यार्थीलाई सम्मान गरेको हो । नगरभित्रका समुदायीक बिद्यालयमा अध्ययन गरी एसइईमा ३.६ जिपीए ल्याउने सिद्धार्थ, आधुनिक, भुटनदेवी, प्रगति, महेन्द्र किरण, जनप्रिय, बंशगोपाल माध्यमिक बिद्यालयका विद्यार्थीलाई सम्मान गरिएकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उक्त बिद्यालय तथा बिद्यार्थीलाई सम्मानित गरेकी हुन् । समन्यव समितिले नगरका समुदायीक विद्यालयका शिक्षकहरुलाई शैक्षिक सुधारका तालिम सहित नगरमा सञ्चालन हुने आधारभुत तथा निम्न माध्यमिक तहको परीक्षाका लागि प्रश्नपत्र तयारीकाे कार्य गर्दै आएकाे छ । प्रश्नपत्र तयार बापत आधारभुत तहमा ३० रुपियाँ र निम्नमाध्यमिक तहमा ४५ रुपियाँ शुल्क लिने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।
नगर स्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १६ का वडाध्यक्ष एवम् समाजिक विकास समिति संयोजक रामकृष्ण कोईराला, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश हुमागाई, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका मुकेश मिश्र, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष बसन्त राई, प्रगति माध्यमिक बिद्यालयका प्रधानाध्यापक निरञ्जन ढकाल र अभिभाबक फुर्वा आलेमगर लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
काठमाडौं–सिस्नेरी–हेटौडा सडकखण्ड अन्तरगत जिल्लाकाे इन्द्रसरोवर वडा नम्बर ३, सिस्नेरीमा शनिबार भएकाे सुमो दुर्घटनामा हुँदा १० जना घाइते भएका हुन् । घाइते मध्य ३ को अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
काठमाडौंबाट विरगंजतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरकाे सुमो आँफै अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । घाइते सवैजनालाई उपचारको लागि काठमाडौं पठाइएको छ ।
घाइतेहरुकाे अवस्थासहितकाे विवरणः
१. चालक जिल्ला पर्सा बिरगंज घर भइ जिल्ला ललितपुर बल्खु बस्ने ३३ वर्षिय को जाकिर मिया तेली, टाउको र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम ।
२) देश भारत घर भई हाल जिल्ला काठमाडौं तारकेश्वर नगर पालिका नेपालटार बस्ने बर्ष ४० वर्षीय सन्तोष रन्जन, टाउको र घाटिमा चोट अबस्था गम्भिर ।
३) देश भारत घर भई हाल काठमाडौं बस्ने ६१ वर्षीय सतेन साह, टाउकोमा चोट अबस्था मध्यम ।
४) देश भारत घर भई हाल काठमाण्डौ बस्ने २० वर्षीय अफरोज आलम, टाउको र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम ।
५) जिल्ला बारा आदर्श कोतुवाला गापा ७ को औसान अन्सारी टाउको र छातीमा चोट अबस्था मध्यम ।
६) देश भारत घर भइ हाल काठमाडौं १४ कालिमाटी स्थित गारमेन्टमा काम गर्ने ५० वर्षीय सोभरती अन्सारी, बाँया खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम ।
७) देश भारत घर भइ काठमाडौं १४ कालिमाटी स्थित गारमेन्टमा काम गर्ने ३० वर्षीय सुनिल राम, बाँया हातमा चोट अबस्था मध्यम ।
८) देश भारत घर भइ काठमाडौं १४ कालिमाटी स्थित गारमेन्टमा काम गर्ने ३५ वर्षीय प्रदिप राम, टाउको र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम ।
९) देश भारत बस्ने काठमाडौं १४ कालिमाटी स्थित गारमेन्टमा काम गर्ने ४४ वर्षीय मोहमद मुस्लिम, दाँया कुममा चोट अबस्था मध्यम ।
१०) देश भारत घर भइ काठमाडौं १४ कालिमाटी स्थित गारमेन्टमा काम गर्ने २४ वर्षीय अनिल राम दुबै हातमा चोट अबस्था मध्यम ।