मकवानपुर । २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने हेटौंडा उपमहानगरपालिकामा रहेका समुदायीक बिद्यालय तथा बिद्यार्थीलाई सम्मान गरीएको छ ।
नगर स्तरीय शैक्षिक समन्वय समितिले शनिबार हेटौंडामा उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक बिद्यालयहरु मध्य एसइईमा उत्कृष्ट नतिजा ल्याउने ८ बिद्यालय सहित ६६ विद्यार्थीलाई सम्मान गरेको हो । नगरभित्रका समुदायीक बिद्यालयमा अध्ययन गरी एसइईमा ३.६ जिपीए ल्याउने सिद्धार्थ, आधुनिक, भुटनदेवी, प्रगति, महेन्द्र किरण, जनप्रिय, बंशगोपाल माध्यमिक बिद्यालयका विद्यार्थीलाई सम्मान गरिएकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उक्त बिद्यालय तथा बिद्यार्थीलाई सम्मानित गरेकी हुन् । समन्यव समितिले नगरका समुदायीक विद्यालयका शिक्षकहरुलाई शैक्षिक सुधारका तालिम सहित नगरमा सञ्चालन हुने आधारभुत तथा निम्न माध्यमिक तहको परीक्षाका लागि प्रश्नपत्र तयारीकाे कार्य गर्दै आएकाे छ । प्रश्नपत्र तयार बापत आधारभुत तहमा ३० रुपियाँ र निम्नमाध्यमिक तहमा ४५ रुपियाँ शुल्क लिने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।
नगर स्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १६ का वडाध्यक्ष एवम् समाजिक विकास समिति संयोजक रामकृष्ण कोईराला, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश हुमागाई, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका मुकेश मिश्र, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष बसन्त राई, प्रगति माध्यमिक बिद्यालयका प्रधानाध्यापक निरञ्जन ढकाल र अभिभाबक फुर्वा आलेमगर लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

