मकवानपुर । चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा हेटौंडा १३ पदमपोखरीको नमोबुद्ध एफसीले विजय सुरुवात गरेको छ ।
मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेको गोलघर खेल मैदानमा शुक्रबारबाट सुरु दोस्रो सस्करणको प्रतियोगिताको उद्घटनमा खेलमा नमोबुद्धले मनहरी ४ नम्बर वडालाई २–० गोल अन्तरले हरायो । नमोबुद्धको जितमा खेलको २६ औं मिनेटमा सुनिल लामाले र ४३ औं मिनेटमा सामुयल सुनारले १/१ गोलको योगदान दिए । हारसंगै मनहरी ४ नम्बर वडा पहिलो खेलबाटै बाहिरिएको छ । खेलको म्यान अफ द म्याच नमोबुद्धका सामुयल सुनार घोषित भए।
प्रतियोगितामा शनिबार हाँडीखोला यूथ क्लव र जनसिद्ध क्लव बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । मंसिर ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ र अन्य विधागत उत्कृष्टले जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।
मनहरी गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन एवम् अन्य विभिन्न संघसंस्थाको सहयोगमा सुरु प्रतियोगिताको शुक्रबार बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन उदघाटन गरेका थिए । उदघाटनमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश सभापति सञ्जिव पाठक, पर्साखैरहनी जेसीजका अध्यक्ष नारन उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको राक्सिराङ पालिकाले आफ्नो क्षेत्रभित्र कुनै पनि गतिविधि र कार्यक्रम संचालन अनिवार्य स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ ।
राक्सिराङ गाउँपालिकामा कुनै पनि गतिविधि र कार्यक्रम सञ्चालन गर्नु पुर्व गाउँपालिकाको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो ।गाउँपालिकाभित्र अनधिकृत व्यक्ति, संघ, संस्थाका आफूखुसी गतिविधि रोक्न गाउँपालिकाले सूचना जारी गरी समन्वय गरेर मात्रै गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार गैरसरकारी संघसंस्था, उपभोक्ता समिति, सहकारी संस्थालगायतका सामाजिक तथा सामुदायिक संघसंस्थाले स्थानीय तहसँगको समन्वयमा रही कार्य गर्नुपर्ने कानुनी व्यवस्था छ ।
कानुनी व्यवस्थाको उल्लंघन हुने गरी नियमनकारी निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयबिना नै विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थानका विपन्न जातजाति, भाषाभाषी, धार्मिक समुदायको नाममा खाद्यवस्तु, लत्ताकपडा वितरण, चन्दा सहयोग, स्वास्थ्य शिविर सञ्चालन गर्ने, विभिन्न सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन हुने गरेको भन्दै गाउँपालिकाले समन्वय गरेर मात्रै गतिविधि गर्न आग्रह गरेको हो ।
अवैधानिक गतिविधिका कारणले सिर्जना हुनसक्ने प्रतिकूल परिस्थिति, समुदायको परनिर्भरता बढ्ने, लाभग्राही छनोटमा पारदर्शिता नहुने, सञ्चालक व्यक्ति वा संस्था जवाफदेही नहुने जस्ता अवस्थालाई मध्यनजर गर्दै त्यस्ता गतिविधि निरुत्साहित गर्न पालिकाले उक्त निर्णय कार्यान्वयनकाे लागि सूचना जारी गरेको गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिकासँगको समन्वय र स्वीकृतिबेगर गतिविधि सञ्चालन हुन नदिन सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, जनप्रतिनिधि, नगरप्रहरी इकाई र सरोकारवालालाई अनुरोधको साथै निर्देशन दिइएकाे गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानधारी दिए ।
मकवानपुर । दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको भोली शुक्रबारबाट सुरु हुने भएको छ । चैनपुर जेसीज मनहरीको आयोजना तथा मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिताको हुने भएको हो ।
मनहरी–४, मसिनेस्थित गोलघर खेल मैदानमा हुने खुला फुटबलको खेल तालिका सार्वजनिक भएको हो । शुक्रबारको उद्घाटन खेल मनहरी गाउँपालिकाको ४ नम्बर वडा र एफसी नमोबुद्धको टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मनहरी–४, एफसी नमोबुद्ध, सक्षम युवा क्लब, एफसी ढिँडो, कमाने फुटबल एकेडेमी, जेसीआई मकवानपुरगढी, पदमपोखरी युनाइटेड एफसी, आरआर एफसी, हाँडीखोला युथ क्लब, जनसिद्ध युवा क्लब, एफसी परेली क्लब, टिएनटी मनहरी, हेटौंडाको नारायणी कलेज, मनहरी २ नम्बर वडा, मनहरी ५ नम्बर वडा र ऋषेश्वर युवा क्लबको टिमसहित १६ टिमको सहभागिता रहनेछ ।
चैनपुर जेसीज मनहरीले गत वर्षबाट जेसीज कप खुला फुटबल प्रतियोगिताको सुरुवात गरेको हो । मंसिर ३ गते फाइनल हुने प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकाका १ जना वडा अध्यक्ष पुर्पक्षका लागि भीमफेदी कारागार पठाइएकाे छ । बकैया ४ नम्बर वडाध्यक्ष राजन दंगाललाई कागजात कीर्ते गरेकाे आरोपमा थुनामा पठाइएकाे हाे ।
वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता कीर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ। बुधबार सरकारी कागजात कीर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दाकाे पुर्पक्ष गर्न जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले आदेश दिएकाे हाे । वडाध्यक्ष दंगाल विरुद्ध गत असारमा अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।
दंगाल चार महिनापछि बुधबार अदालतमा उपस्थिति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयमा गुरुङको श्रीमान् एमसी परेराले ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएको मकवानपुर प्रहरीले जनाएको छ । दंगालसहितले मृतक गुरुङको नाममा ललितपुर, कीर्तिपुर र चितवनमा रहेको जग्गा हत्याउने प्रयास भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ ।
गुरुङको २६ भदौ २०७४ मा मृत्यु भएको थियो। उनका श्रीमान् परेरा चितवनको भरतपुरमा बस्दै आएका थिए । प्रहरीले गत असारमा वडाध्यक्ष दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, नक्कली छोरा बनेका पूर्णबहादुर ब्लोनसहित सर्जमिन मुचुल्कामा साक्षी बसेका स्थानीय ४३ वर्षीय सानुमान थिङ, ३९ वर्षीय जितमान थिङ, ३५ वर्षीय जमानसिं भुलून, ६९ वर्षीय रामबहादुर न्यासुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उनीहरुविरुद्ध लिखत सम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो।
बकैया–४ का ४६ वर्षीय ब्लोनलाई मृतक गुरुङको नक्कली छोरा बनाएर वडाध्यक्ष दंगालले १८ मंसिर ०८० मा मृत्युदर्ता र नाता प्रमाणित लगायतका कागजात तयार पारिदिएकाे बताएकाे ।
मकवानपुर । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूका सवालमा अधिकार, पहुँच, र अवसरहरूमा सुधारको लागि प्रस्ताव पेश गरिएको छ ।
मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता अनुभव गरेका व्यक्तिको संजाल सदस्यहरुले राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल बागमती प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । महासंघ प्रदेश समितिको सल्लाहकार सरिता थापा, प्रदेश व्यवस्थापक सिता मल्ल ठकुरीसमेतलाई उनीहरुले पत्र बुझाएका हुन् ।
मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता अनुभव गरेका व्यक्तिको संजाल सदस्यहरुसँग पत्र बुझ्दै प्रदेश सल्लाहकार थापाले आफूहरुले सधै सहकार्यमा काम गर्दै आएको बताइन् । यसैगरी प्रदेश व्यवस्थापक मल्लले मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुको सवाललाई महासंघले समान सवालको रुपमा अधि बढाउँदै आएको बताइन् ।
कोशिश मकवानपुरको सहजिकरणमा भएको कार्यक्रममा कोशिश मकवानपुरको पैरवी अधिकृत सुनिरा लामा, सामुदायिक अभियानकर्ता सकुन्तला पौडेल, सिता घलानलगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । जनगणना २०७८ सालको तथ्यांक अनुसार मकवानपुरमा महिला २३० पुरुष २९४ र हेटौंडा उपमहानगरपालिका महिला ७८ पुरुष १०७ जना मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरु छन् ।
यस्तो छ सरोकारवालाहरुले प्रस्ताव पत्रमार्फत उठाएका सवालहरुः
koshish