मकवानपुर । चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा हेटौंडा १३ पदमपोखरीको नमोबुद्ध एफसीले विजय सुरुवात गरेको छ ।
मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेको गोलघर खेल मैदानमा शुक्रबारबाट सुरु दोस्रो सस्करणको प्रतियोगिताको उद्घटनमा खेलमा नमोबुद्धले मनहरी ४ नम्बर वडालाई २–० गोल अन्तरले हरायो । नमोबुद्धको जितमा खेलको २६ औं मिनेटमा सुनिल लामाले र ४३ औं मिनेटमा सामुयल सुनारले १/१ गोलको योगदान दिए । हारसंगै मनहरी ४ नम्बर वडा पहिलो खेलबाटै बाहिरिएको छ । खेलको म्यान अफ द म्याच नमोबुद्धका सामुयल सुनार घोषित भए।
प्रतियोगितामा शनिबार हाँडीखोला यूथ क्लव र जनसिद्ध क्लव बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । मंसिर ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ र अन्य विधागत उत्कृष्टले जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।
मनहरी गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन एवम् अन्य विभिन्न संघसंस्थाको सहयोगमा सुरु प्रतियोगिताको शुक्रबार बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन उदघाटन गरेका थिए । उदघाटनमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश सभापति सञ्जिव पाठक, पर्साखैरहनी जेसीजका अध्यक्ष नारन उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

