मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा ट्याङ्करको टायर पड्किएर १ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् ।
हेटौडा–११,थानाभर्याङस्थित टायर मर्मत पसलमा मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्याङ्करको टायर पड्किएर भारतका महमद ऐजाजकाे भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । सोमबार राती १ बजेको समयमा पेट्रोल लोड भएको उक्त ट्याङ्करको टायर पन्चर भएकाेमा टायर खोलेर मर्मतपछि हावा भर्ने क्रममा टायर पड्किएकाे हाे ।
घटनामा टायर पसलका संचालक भारतको भोजपुरका ३४ वर्षीय महमद मृत्यु भएको प्रहरीले जनाएकाे छ । टायर पड्किएर गम्भीर घाइते भएका महमदलाई उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएकाे थियाे । डाक्टरले मंगलबार बिहान ४ बजेर १६ मिनेटको समयमा महमदलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै टायर पड्किएर अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा टायर मर्मत पसलका कामदार पर्सा धोबिनी गाउँपालिका–२ का १८ वर्षीय जाबिर हवारे, ट्याङ्कर चालक हेटौंडा–११, स्मारकका ३९ वर्षीय देवान लामा, हेटौ्डा–११ नवलपुरका ४७ वर्षीय मोहनलाल दुलाल, सहचालक धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–२, भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, धादिङ जिल्लाकै थाक्रे गाउँपालिका–८ का ३८ वर्षीय लक्ष्मण थापा घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो । प्रहरीका अनुसार ट्याङ्कर चालक लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते डिस्चार्ज भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौडाबाट १६२ किलाे गाँजा बरामद गरेकाे छ । गाजाँसहित सहित प्रदेश ३-०१-०२४ च ६३६१ नम्बर योद्धा पिकअप गाडीका चालकलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीले हेटौंडा १९ नेवारपानी स्थित पुर्व पश्चिम लोकमार्गकाे सडकखण्डमा मनहरीबाट हेटौंडातर्फ आउदै गरेको उक्त पिकअप गाडीबाट १६२ किलो ५८० ग्राम लागूऔषध बरामद गरेकाे हाे । आइतबार बिहान इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले उक्त गाडीका चालक काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १२ बस्ने २९ वर्षीय किरण वाग्ले तथा गाडी समेतको जाँच गर्दा उक्त गाँजा बरामद भएकाे हाे ।
गाडीको पछाडीको भागमा खाली प्लाष्टिकको क्रेटहरू मुनी लुकाई राखिएको अवस्थामा फेला पारेकाे १६२ किलो ५८० ग्राम लागूऔषध गाँजा, योद्धा गाडी सहित किरण वाग्लेलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरीका अनुसार मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद लिइ थप अनुसन्धान भईरहेको छ ।
मकवानपुर । १६ मंसिर २०८१ मा हुने स्थानीय तहकाे उपनिर्वाचन हुँदैछ । देशभरका ४४ पदका लागि हुने निर्वाचन अन्तरगत मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाकाे वडा नम्बर १२ पनि एक हाे ।
उक्त स्थानमा वडाध्यक्ष पद रिक्त छ। वडाध्यक्ष पद १ का लागि मकवानपुरमा क्रियाशील राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउँदैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हेटौंडा १२ को अध्यक्ष पदको उम्मेदवार टुंग्याएको छ । राप्रपाले प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने निर्णय गरेको हाे ।आइतबार बसेको राप्रपाको जिल्ला र नगर कार्यसमितिको बैठकले वडा अध्यक्ष पदका लागि भ्लोनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
विभिन्न सामाजिक कार्यमा संलग्न रहेका भ्लोनलाई उम्मेदवारकाे टिकट दिने निर्णय सर्वसम्मत भएकाे राप्रपा हेटौंडा उपमहानगरपालिका अध्यक्ष अरुण लामाले जानकारी दिए । हेटौंडा–१२ का स्थानीय बासिन्दा भ्लोनलाई जिताउन राप्रपाले चुनावी अभियान संचालन गर्ने तयारी समेत गरिएको उनले बताए ।
यसअघि नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी र नेकपा माओवादी केन्द्रबाट रविन प्रधान वडाध्यक्षको उम्मेदवार हुने टुंगो लगाइसकेकाे ती दलहरुले जनाएका छन् । २०७९ सालमा भएको निर्वाचनबाट वडाध्यक्ष निर्वाचित ललित बहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि वडाध्यक्षको पद रिक्त रहेकाे थियो ।
मकवानपुर । हेटाैंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले शैक्षिक सुधारलाई प्राथमिकता राखिएकाे बताएका छन् । नन्दस्थान टाेल विकास संस्थाकाे साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हेटाैंडालाई शैक्षिक केन्द्रकाे रूपमा विकास गर्न आवश्यक छ’ वडाध्यक्ष सिग्देलले भने धेरै शैक्षिक संस्था रहेकाेवडा भएकाेले यस वडाका शैक्षिक संस्थामा शैक्षिक गुुणस्तर कायम गर्नु पर्छ । शैक्षिक सुधारमा गुणस्तरमा वडाले ध्यान दिएर अभियान सञ्चालन गरिरहेकाे उनले बताए । विद्यालयकाे गुणस्तर सुधार्न स्थानीय सरकारले प्रत्यक्ष रूपमा ध्यान दिनपर्ने र पर्याप्त लगानी गर्नुपर्ने उनले जनाकारी दिए ।
विकासमा जनताकाे लागि भएकाेले विकासमा जनसहभागिता र परिचालन महत्व पूर्ण हुने भन्दै वडालाई व्यवस्थित सुविधा सम्पन्न बस्ती र व्यवसायिक शहर बनाउन सबै तहकाे सरकारसँग समन्वय गरिरहेकाे उनकाे भनाई रहेकाे छ । ‘खेलकुद क्षेत्र अगाडि बढाउन र धार्मिक पर्यटनकाे रूपमा वडालाई विकास गर्न विशेष ध्यान दिइएकाे छ‘ उनले भने । सामाजिक रूपान्तरणकाे लागि सबै खाले विभेद, विकृति र हिँसा अन्त्य गर्ने र हरियाली र उज्यालाे वडा बनाउन सामाजिक अभियान सञ्चालन गर्नुकाे साथै भाषा, संस्कृति र साहित्यलाई जनस्तरमा पुर्याउन वडा कार्यालय लागि परेकाे उनले बताए ।
साधारणसभाले पुन: देवकुमारी ढकालकाे अध्यक्षतामा उपाध्यक्ष उत्तरा कुमारी रूपाखेती, सचिव किसाेर दुलाल, सहसचिव निर्मल श्रेष्ठ र काेषाध्यक्ष उत्तम थापा सहित ९ सदस्यीय कार्य समिति चयन गरेकाे छ ।
कार्यक्रममा हेटाैंडा उपमहानगरपालिका सामुदाय परिचालन शाखा प्रमुख गंगा चाैलागाई, अरनिकाे टाेल विकास संस्थाका अध्यक्ष बीरेन्द्र ढुङ्गाना, संस्थाका प्रमुख सल्लाहकार उत्तम शर्मा ढकाल, सल्लाहकार राम श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार भएको कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।
ब्लड डोनर्स एशोसिएशन नेपाल मकवानपुर शाखा (ब्लोदान)को आयोजनामा भएको रक्तदान कार्याक्रममा २३ जनाले रक्तदान गरेका हुन् । शनिबार बिहान हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा ५ जना महिला र १८ जना पुरुषले रक्तदान गरेको ब्लोदान अध्यक्ष कपिला जोशीले जानकारी दिइन् ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र हेटौँडाको प्रहविधिक सहयोग रहेको थियो । केन्द्रमा अहिले ए पोजेटिभ रगतको अभाव रहेको छ भने बाँकि समुहको रगत अभाव नरहेको केन्द्रले जनाएको छ ।