मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो नागस्वती कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएकाे छ । शुक्रबारकाे सेमिफाइनल खेलबाट आयोजक नागस्वती भेट्रान्स र जोरपाटी भेट्रान्स काठमाडौं फाइनल प्रवेश गरेका छन् ।
नागस्वती भेट्रान्स क्लबको आयोजनामा हेटौडा ७ नागस्वती स्थित नवज्योति माविको खेल मैदानमा प्रतियोगिता भएकाे हाे । प्रतियोगिता अन्तरगत शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा हेटौंडा भेट्रान्सलाई १–० गोलले पराजित गर्दै जोरपाटी भेट्रान्स फाइनल प्रवेश गरेको हो । जोरपाटीकाे जीतका लागि खेलको ८ औँ मिनेटमा जोरपाटीका सुरज सुबेदीले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच जोरपाटीका सुवेदी घोषित भए ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स बि ले लेक साइड भेट्रान्स पोखरालाई १–० गोल अन्तरमा हराउँदै फाइनल यात्रा तय गरेकाे हाे । खेलको ४३ औँ मिनेटमा नागस्वतीको तर्फबाट राजकुमार घिसिङले गोल गर्दै टिमलाई फाइनल प्रवेश गराए । खेलको म्यान अफ द म्याच घिसिङ घोषित भएका थिए ।
प्रतियाेगिता अन्तरगतकाे फाइनल खेल शनिवार दिउँसो २ बजे नागस्वती भेट्रान्स बी र जोरपाटी भेट्रान्स बीच हुनेछ । प्रतियोगितामा १५ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहेको थियाे । ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागी रहेकाे भेट्रान्सकाे यो तेस्राे संस्करण हाे । चार वर्ष अघि स्थापना भएको क्लबले लगातर गर्दै आएकाे प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले एक लाख १ हजार नगद हात पार्ने छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ मा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । शुक्रबार विहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा १५ चुरियामाई मन्दिर सडकखण्डमा ग २ ख १६२१ नम्बरको बस दुर्घटना भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
बिरगंजबाट पोखरा जादै गरेको उक्त बस हेटौडा १५ चुरियामाईमा ब्रेक फेल भई खोल्सामा पल्टिएर दुर्घटना भएकाे हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा सवार १८ जना यात्रु मध्ये चालकसहित १७ जना घाईते भएको हाे । घाईतेहरुलाई उद्धार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाे छ । प्रहरीका अनुसार सबै घाइतेकाे अबस्था सामान्य रहेको छ ।
हेटौडा अस्पतालमा उपचार भई रहेकोका १७ जनाकाे विवरणः
१. जिल्ला बारा कलैया उ.म.न.पा. २३ बस्ने बर्ष ३२ को सुरेन्द्र शर्मा शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
२. देश भारत हाजियापुर बस्ने बर्ष ४१ को रन्जन कुमार शिङ शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
३. जिल्ला बारा पर्सैनि गा.पा. ३ बस्ने बर्ष ९ की जोनीशा कुमारी ठाकुर टाउकोमा चोट अबस्था गम्भिर
४. जिल्ला पर्सा घर भएकी बर्ष १६/१७ की रमिता चौधरी टाउकोमा चोट अवस्था मध्यम
५. ऐ.ऐ. बर्ष अं. ३ की निकिता चौधरी शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
६. ऐ.ऐ. बस्ने ११ की अमिता चौधरी शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
७. जिल्ला बारा कलैया उ.म.न.पा.३ बस्ने अलोक ठाकुरको छोरी १८ महिना शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
८. ऐ.ऐ. बस्ने वर्ष अं. २८ की अन्जु ठाकुर शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
९. ऐ.ऐ. बस्ने बर्ष अं. १८ की रन्जना ठाकुर शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
१०. जिल्ला चितवन भरतपुर म.न.पा. ९ बस्ने बर्ष अं.४ की बद्रि प्रसाद पैडेल शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
११. देश भारत घर भएका बर्ष अं. २४ को इन्जमान खान टाउकोमा चोट अबस्था मध्यम
१२. ऐ.ऐ. बस्ने वर्ष अं. २३ को आर्यव खान नाधारमा चोट अबस्था मध्यम
१३. जिल्ला कैलाली ३ बस्ने बर्ष ३५ की सिमा चौधरी शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
१४. जिल्ला बारा पर्सैनि गा.पा. ३ बस्ने बर्ष ७ की जेस्मी ठाकुर नाक र टाउकोमा चोट अवस्था मध्यम
१५. जिल्ला स्याङजा घर भएका बर्ष अं. ५२ को भिम ब.रेग्मी टाउकोमा चोट अबस्था मध्यम
१६. जिलल् बाता पर्सैनि बस्ने शुनिल ठाकुर को छोरी अं. बर्ष ५ रिया ठाकुर अवस्था सामान्य
१७. देश भारत बिहार पट्ना बस्ने बर्ष अं. २५ की अल्कामा युसुफ घाटीमा चोट अवस्था सामान्य
मकवानपुर । मकवानपुरकाे हेटौंडा सामुदायिक आँखा अस्पतालको सेवा प्रारम्भ भएको १६ वर्ष पुरा भएकाे छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाको रुपमा हेटौडामा सामुदायिक आँखा अस्पताल स्थापना भएको हो ।
हेटौडा पश्चात भक्तपुर र निजगढमा पनि आँखा अस्पतालकाे शाखा विस्तार गरी सेवा प्रदान गरिदै आएकाे छ । २०६५ मंसीर ५ गते अष्ट्रेलियन राजदुत ग्राहम लेडले हेटौंडा साुमदायिक आँखा अस्पतालको उद्घाटन गरेका थिए । अस्पतालमा स्थापनाकालदेखि हालसम्म ८ लाख ९३ हजार जनाले सेवा लिएकाे अस्पतालका प्रवन्धक सुधिर श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा हालसम्म ६० हजार मोतिविन्दुका बिरामीको शल्यक्रिया भएको छ । बिभिन्न क्षेत्रमा निशुल्क आँखा शिविर संचालन गरेर २२ हजारको निशुल्क शल्यक्रिया गरिएको उनले बताए ।अस्प्तालमा आँखा जाँच, चश्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गरिदै आईरहेको छ । यसका साथै आँखा स्वाथ्य सम्बन्धी जनचेतना प्रदान गर्न बिभिन्न समयमा शिक्षक, स्वास्थ्य कार्यकता, महिला स्वास्थ्य स्वयंसेविका, कारखानाका कामदार लगात बिभिन्न समुहलाई तालिम गोष्ठी आयोजना गर्दै आएको छ । प्रवन्धक श्रेष्ठका अनुसार अस्पतालसम्म आँखा उपचारकाे सेवा लिन आउन नसक्नेहरुलाई ग्रामीण क्षेत्रमा नै पुगी निःशुल्क आँखा शिविर पनि आयोजना गर्दै आएकाे छ ।
अस्पतालले मकवानतपुरकाे थाहा नगरपालिका, मनहरी गाँउपालिका र बागमती गाँउपालिकासँग समन्वय गरेर सामुदायिक आँखा केन्द्र संचालन गरेको उनले बताए ।त्यसैगरी ईन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिका र बकैयाँ गाँउपालिकासँगको सहकार्यमा ग्रमीण आँखा केन्द्र पनि संचालन गरी ग्रामिण भेगका जनतालाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आई रहेको छ । यसैगरी राक्सिराङ्ग, भीमफेदी र मकवानपुर गढी गाँउपालिकामा पनि ग्रामीण आँखा केन्द्र स्थापनकोलागि पहल भइरहेकाे उनले बताए । आँखा अस्पतालमा दैनिक करिब तीन सयजनाले सेवा लिने गरेका छन् ।
दैनिक बिहान ६ बजेदेखि साढे ११ बजेसम्म टोकन लिएर बहिरंग सेवा एक सय ५० रुपैयाँ शूल्कमा लिन सकिने व्यवस्था छ । बहिरंग सेवा बिहान साढे ८ बजेबाट सुरु हुन्छ भने दिउँसो ३ः३० बजेबाट विस्तारित सेवामा चार सय ५० रुपैयाँको टिकटमा आँखाको परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । माेवाइलबाटै पनि टिकट लिने सुविधा अस्पतालले दिदै आएकाे छ ।
अस्पताल परिसरमा शल्यक्रियाकाे लागि भनेर छुट्टै भवन निर्माण कार्य सुरु हुँदैछ भने न्यून दृष्टि भएका बालबालिकाहरुका लागि पनि छुट्टै सेवा प्रदान गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।
मकवानपुर । हेटौंडा रन–२०८१ को उपाधि सञ्जिव मिजारले जितेका छन् । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको हेटौंडा रन उपाधि हेटौंडा–१४ का धावक मिजारले हात पारेका हुन् ।
मंगलबार भएको रनको निर्धारित ५ किलोमिटर दुरी २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उनले उपाधि जितेका हुन् । यसैगरी हेटौंडा–१५ का निश्चल तितुङले द्वितीय स्थान हासिल गर्न २० मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । यसैगरी २० मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै हेटौंडा–१८ का अभिषेक रोक्क तृतीय भए ।
हेटौंडा–१८ का मनिष गोपली चौथो र हेटौंडा–१४ का अमृत सुनार पाँचौ हुँदा हेटौंडा–१८ का रुवि बुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जन प्रोत्सान पुरस्कार प्राप्त गरे । रन विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद प्राप्त गरे । य प्रतियोगितामा चौथो हुनेले ५ हजार, पाँचौंले पुरस्कार ३ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । दौडका विजेता, उपविजेता तथा अन्य खेलाडीहरुलाई नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतले पुरस्कार वितरण गरेका थिए ।
दौडमा २५ जना सहभागी थिए । सहभागीहरुले हेटौंडा–१०, बुद्धचोकबाट आफ्नो दौड यात्रा सुरु गरेर भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय, सत्यमचोक, थाहाचोक, शितलमहल चोक, ओमभवनहुँदै पुनः बुद्धचोकमा आएर दौड पूरा गरेका थिए ।
मकवानपुर । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन अन्तरगत आइतबार उम्मेदवाहरुले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ ।
हेटौंडा-१२ मा नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादीसहित अन्य दल तथा स्वतन्त्र समेत गरी १४ जना उम्मेदवारले उम्मेदवारी दिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार ९ जना दलका उम्मेदवार र ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । १४ जना मध्ये ११ जना पुरुष र ३ जना महिला उम्मेदवार छन् ।
२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा हेटौंडा १२ काे वडाध्यक्ष पदमा विजयी ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरकाे प्रमुख निर्वाचित भएपछि रिक्त रहेकाे पदमा उप निर्वाचन हुन लागेकाे हाे । हेटौंडा-१२ मा उम्मेदवारी दिने उम्मेदवारहरुमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादीका रविनकुमार प्रधानले उम्मेदवारी दिएका छन् ।
यसैगरी राप्रपाबाट प्रेमबहादुर भ्लोन, रास्वपाका आशाबिर बल, जसपाका छविलाल वाईबा,मंगोल नेशनल अर्गनाइजेशनका दिपा लामा, नेमकिपाका फुलमाया तितुङ, नेकपा एसबाट बलराम बलले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्र तर्फ अर्जुन घलान, कुमार पोखरेल,गिताकुमारी नेवार, छत्रप्रकाश अधिकारी, युनेश लामा सिन्तानले उम्मेदवारी दिएकाे कार्यालयले जनाएकाे छ ।
निर्वाचन कार्यतालिका अनुसार मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म आइतबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारले मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारीकाे नाम फिर्ता लिन सक्ने छ भने् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेकाे छ ।