मकवानपुर । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन अन्तरगत आइतबार उम्मेदवाहरुले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ ।
हेटौंडा-१२ मा नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादीसहित अन्य दल तथा स्वतन्त्र समेत गरी १४ जना उम्मेदवारले उम्मेदवारी दिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार ९ जना दलका उम्मेदवार र ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । १४ जना मध्ये ११ जना पुरुष र ३ जना महिला उम्मेदवार छन् ।
२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा हेटौंडा १२ काे वडाध्यक्ष पदमा विजयी ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरकाे प्रमुख निर्वाचित भएपछि रिक्त रहेकाे पदमा उप निर्वाचन हुन लागेकाे हाे । हेटौंडा-१२ मा उम्मेदवारी दिने उम्मेदवारहरुमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादीका रविनकुमार प्रधानले उम्मेदवारी दिएका छन् ।
यसैगरी राप्रपाबाट प्रेमबहादुर भ्लोन, रास्वपाका आशाबिर बल, जसपाका छविलाल वाईबा,मंगोल नेशनल अर्गनाइजेशनका दिपा लामा, नेमकिपाका फुलमाया तितुङ, नेकपा एसबाट बलराम बलले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्र तर्फ अर्जुन घलान, कुमार पोखरेल,गिताकुमारी नेवार, छत्रप्रकाश अधिकारी, युनेश लामा सिन्तानले उम्मेदवारी दिएकाे कार्यालयले जनाएकाे छ ।
निर्वाचन कार्यतालिका अनुसार मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म आइतबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारले मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारीकाे नाम फिर्ता लिन सक्ने छ भने् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेकाे छ ।

