मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी चैनपुर जेसीज कप फुटबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । जेसीज कप फुटबल प्रतियोगिताको सोमबारको सेमीफाइनलबाट एफसी परेली क्लब प्रवेश गरेसँगै फाइनल समिकरण पुरा भएकाे हाे ।
यसैगरी प्रतियोगिता अन्तरगत शुक्रबार भएकाे पहिलाे सेमिफाइनलबाट मकवानपुरगढी गाँउपालिकाकाे जेसीआई टिमले फाइनलमा स्थान बनाएकाे थियाे । सोमबार हुने फाइनलमा उपाधी रक्षाका लागि मकवानपुर गढीले परेलीकाे सामना गर्ने छ ।
शनिबार मनहरी गाउँपालिकाको गोलघर खेलमैदानमा भएको दोस्रो सेमीफाइनल खेलमा मनहरी–५ लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै एफसी परेली फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकर धकेलिएकाे थियाे । यसैगरी मकवानपुरगढी जेसीआई शुक्रबार भएको सेमीफाइनल खेलमा एफसी नमोबुद्धलाई २–१ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेकाे हाे ।
मनहरी–४, मसिनेस्थित गोलघर खेल मैदानमा प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मनहरी–४, एफसी नमोबुद्ध, सक्षम युवा क्लब, एफसी ढिँडो, कमाने फुटबल एकेडेमी, जेसीआई मकवानपुरगढी, पदमपोखरी युनाइटेड एफसी, आरआर एफसी, हाँडीखोला युथ क्लब, जनसिद्ध युवा क्लब, एफसी परेली क्लब, टिएनटी मनहरी, हेटौंडाको नारायणी कलेज, मनहरी २ नम्बर वडा, मनहरी ५ नम्बर वडा र ऋषेश्वर युवा क्लबको टिमसहित १६ टिमको सहभागिता रहेकाे थियाे ।

