मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेसीजलाई युवालक्षित उत्कृष्ट कार्यक्रम पहिचान गरि अगाडि बढ्न शुभकामना दिएका छन् । मकवानपुरमा हेटौंडा जेसीजको आयोजनामा भएको पब्लिक स्पिकिङ समापन कार्यक्रमकामा उनले यस्तो शुभकामना दिएका हुन् ।
युवालाई उद्धमशीलतामार्फत् स्वरोजगार र रोजगारी सृजनाको बाटाेमा युवा डाेर्याउने जेसीजको आर्थिक कृयाशीलताको योगदान उत्कृष्ट रहेको प्रदेश प्रमुख देवकाेटाले बताए । ‘संस्कृति जगेर्ना र सामाजिक कार्यको धरातलमा स्थापित जेसीजले नेतृत्व, ब्यक्तित्व र उद्यमशीलता विकासमा अहम् भूमिका खेलेको छ’ उनले भने ।
देशको भविष्य थाम्ने युवापिढी कुहिराको कागजस्तै गन्तव्यहीन दिशामा गुज्रेको हो कि भन्ने अवस्था आएको भन्दै यस्तो पिरलोबाट बचाउन जेसीजले नेतृत्व तथा व्यक्तित्व विकासकोलागि योगदान गर्दै आएको उनले बताए । उनले युवालाई संस्कार, शिक्षा, सहयोग, श्रमशीलता, ब्यक्तिगत विकास र सकारात्मकता उर्जा थप्ने युवालक्षित जेसीजका कार्यक्रमहरूको प्रशंसायोग्य रहेको बताए ।
“युवाकालमा व्यक्ती कृयाशील छ भने उसमा बुढ्यौलीको आभाष कहिल्यै हुदैन, मान्छे उमेरभन्दा सोच र सक्रियता विहिन हुँला बुढो देखिन्छ” उनले भने । मान्छे क्षमता नभएर होइन क्षमता नचिनेर पछि परेको उनको भनाइ थियोे । जेसीजले युवामा उत्साह उजागर गर्ने गरेको उनले बताए । ‘भनिन्छ ९६ प्रतिशत डर वास्तविक नभएर काल्पनिक हुन्छन्’ उनले भने ‘महानभन्दा महान विचार नबोल्दासम्म अर्थहीननै रहने गर्छन् ।’
युवालाई उच्च मनोबलका साथ प्रगति पथमा लम्किनको लागि उनले आग्रह समेत गरे । निरन्तर र अर्थपूर्ण अभ्यासले राम्रो वक्ता बन्न सकिने बताउँदै,यसैको बलमा ब्यक्तित्व विकास हुने उनकाे धारण थियाे ।
देशभरबाट सहभागी ५८ मध्येबाट उत्कृष्ट १० जनाबाट पुरस्कृत छनौटको लागि कार्यक्रम गरिएको अध्यक्ष बिकेशलाल श्रेष्ठले बताए । प्रतियोगिताबाट सुस्मा आचार्य (पोखरा), रमेश भुर्तेल (कावसोती) र बन्दना विश्वकर्मा (कावसोती) क्रमशः प्रथम द्वितीय र तृतीय भएका थिए । उनीहरूलाई २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । सन् २०२० बाट जेसीजले सुरु गरेकाे यो प्रतियोगिताकाे पाँचौ संस्करण भएको उनले बताए ।
मकवानपुर । मकवानपुरको राक्सिराङमा एक जना मृत फेला परेका छन् । शुक्रबार बिहान राक्सिराङ गाउँपालिका–५, इन्चराङमा राक्सिराङ –८, शिखरपुरका २१ वर्षीय समिर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उनी हाल बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगंज बस्ने गरेकाे बताइएकाे छ । प्रहरीका अनुसार सुनार इन्चराङ स्थित चैनपुरबाट काँकडा जाने भित्री सडक खण्डमा मृत अवस्थामा फेला परेकाे थिए । प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान गर्दा मृतकको टाउकोमा चोट, नाक मुखबाट रगत बगेको अस्थामा फेला परेकाे थियो ।
घटनाबारे अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाकारी दिएको छ । भिनाजु नाता पर्ने मिलन घतानेले मृतकको सनाखत गरेका थिए । प्रहरीका अनुसार मृतकको शव हेटौडा अस्पतालमा रहेको ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा रहेको किताबघरले ‘कफी एट किताबघर’ नामक कार्यक्रम सुरुवात गरेको छ । कला साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूसँग साक्षात्कार गर्ने उद्देश्यले बिहीबारदेखि कार्यक्रम सुरु गरिएको हो ।
थर्ड आइ एजुकेसनल सेन्टर प्रालि सहयोगमा सुरु भएको ‘कफी एट किताबघर’को पहिलो कार्यक्रममा बिहीबार कथाकार मि रमा (रमा सुवेदी) सँग साक्षात्कार गरिएकाे छ । किताबघरमा भएको सो कार्यक्रममा कथाकार मि रमाले आफ्नो कथा लेखन यात्राको बारेमा जानकारी दिइन् । हेटौंडा स्थायी बसोबास भए पनि लामो समयदेखि काठमाडौंमा सञ्चारकर्ममा रहेकी उनले ढिला गरी साहित्य लेखनमा लागेको बताइन् ।
पछिल्लो समय बाह्रखरी कथा प्रतियोगिता २०८० र २०८१ मा लगातार उत्कृष्ट २५ भित्र परेपछि उनको कथाको चर्चा चुलिएको छ । लेखन ढिलो सुरु गरे पनि आफू पहिलेदेखि नै नियमित पाठक रहेको उल्लेख गर्दै उनले आफू कथाकारकै रुपमा निरन्तर लागिरहने बताइन् । लेखनका हिसाबले कहिले काही भावना समेत लेख्ने गरेकाेमा कविता भनेर प्रकाशकले छापिदिने गरेकाे भए पनि आफूले कविता लेख्न नजानेकाे समेत उनले बताइन् ।
कार्यक्रमले मकवानपुर तथा अन्य जिल्लाबाट हेटौंडा आउने साहित्यकारहरूसँग साक्षात्कार गराउँदै जाने किताबघरका सन्चालक छवि अनित्यले जानकारी दिए । मकवानपुरके हेटौंडामा पठन संस्कृतिको विकासका लागि अघिल्लो साताबाट किताबघरले ‘बालबालिकासँग किताबका कुरा’ कार्यक्रम समेत सुरु गरिसकेको उनले बताए ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाे छ । जिल्ला दररेट पुनरावलोकन गरी जिल्ला दररेटमा संशोधन लगायतकाे माग राख्दै निर्माण व्यवसायी संघले बिहीबार प्रजिअ समक्ष ज्ञापन पत्र पेश गरेकाे हाे ।
‘अहिले सिमेन्ट, छड लगायतका निर्माण सामाग्रीहरुको अत्याधिक मुल्यवृद्धि भएको छ’ ज्ञापन पत्रमा उल्लेख छ ‘आर्थिक मन्दि जस्ता समस्या भोग्दै आइरहेको वर्तमान अवस्थामा अर्थतन्त्रको सिद्धान्तलाई समेत बेवास्ता गर्दै कार्टेलिङ्ग गरी हालै बजारमा सिमेन्ट, छडको भाउ बढाइएकोले गर्दा निर्माण व्यवसायीहरुले आफ्नो काम गर्न समेत नसकिने अवस्था सिर्जना भएकोले ध्यानाकर्षण गराउदछौं ।’
‘अप्रत्याशित रुपमा भएको सिमेन्ट, छडको मुल्यवृद्दि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन हाल बजारका निर्माण सामाग्रीहरुमा अत्याधिक रुपले भएको मुल्यवृद्धि नियन्त्रण हुनुपर्ने तथा अप्रत्याशित मुल्यवृद्धिलाई सम्बोधन हुनेगरी जिल्ला दररेटमा संशोधन गर्न पर्ने समेत अनुरोध गर्दछौं’ ज्ञापनपत्रमा भनिएकाे छ ।
यसैगरी अव्यवहारिक एवं अवैज्ञानिक ढगंले सिमेन्ट उधोगीहरुले सिमेन्ट लगायतका निर्माण सामाग्री उत्पादनसँग सम्बन्धित इन्धन, ढुवानी, कामदार (मजदुर) सहित कुनै पनि कच्चा पदार्थमा मुल्यवृद्धि नहुँदा पनि कार्टेलिङ्ग गरी पटक पटक गरी सिमेन्टमा प्रति बोरा २ सय र डण्डी (छड) मा प्रति केजी २० रुपैया मुल्यवृद्दि गरिनु कानून विपरित रहेकोले संघले ज्ञापनपत्र मार्फत प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण समेत गरेकाे छ । यस्तै निर्माण व्यवसायीहरुको बाँकी रहेको भुक्तानीहरु नभएको हुदाँ निर्माण व्यवसायीहरु धराशायी स्थितिमा पुगेको बेलामा अप्रत्याशित रुपमा भएको मुल्यवृद्धि नियन्त्रण हुनुपर्ने संघले माग समेत गरेकाे छ ।
हालको अप्रत्याशित र अव्यवहारीक मुल्यवृद्धि नियन्त्रण नभए सम्पुर्ण निर्माण क्षेत्र प्रभावित भई सबै तर्फ नकारात्मक असर हुने भएकाेले निर्माण व्यवसायीहरु थप आन्दोलनमा जान बाध्य हुने अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए । संघ जिल्ला अध्यक्ष कँडेल लगायतका पदाधिकारीले प्रजिअ तिर्थराज चिलवाललाई ज्ञापनपत्र बुझाएकाे हाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा रहेकाे पिप्ले युवा क्लवकाे आयोजनामा १५ वर्ष मुनीको पुरुष खेलाडीहरुको फुटबल प्रतियोगिता हुदैछ । २७ मंसिर (आज) बाट हेटौंडामा यू १५ एट ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको हाे ।
‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ हेटौंडा उपमहनागरपालिका वडा नम्बर ५ वडा कार्यालयको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको तयारी पुरा भएकाे आयोजक पिप्ले युवा क्लवका अध्यक्ष सुविन घिमिरेले जानकारी दिए । ‘खुला फुटबल प्रतियोगिता धमाधम भैरहेको छ । खेलाडी उत्पादनमा सघाउ पुर्याउने उद्देश्यका साथ १५ वर्ष मुनीका खेलाडीहरुको प्रतियोगिता आयोजना गरेका हौं’, अध्यक्ष घिमिरेले भने । खेलाडी उत्पादनका लागि उमेर समूहको प्रतियोगिता आयोजना हुनुपर्ने भएकाेले १५ वर्ष मुनीको फुटबल आयोजना गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
१६ टिमकाे सहभागिता रहने प्रतियोगिताको लागि करिब ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सुविन घिमिरेकै नेतृत्वमा रहेको एफसी मुण्डियालले अघिल्लो वर्ष यू २१ फुटबल प्रतियोगिता समेत आयोजना भएको थियो ।