मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाे छ । जिल्ला दररेट पुनरावलोकन गरी जिल्ला दररेटमा संशोधन लगायतकाे माग राख्दै निर्माण व्यवसायी संघले बिहीबार प्रजिअ समक्ष ज्ञापन पत्र पेश गरेकाे हाे ।
‘अहिले सिमेन्ट, छड लगायतका निर्माण सामाग्रीहरुको अत्याधिक मुल्यवृद्धि भएको छ’ ज्ञापन पत्रमा उल्लेख छ ‘आर्थिक मन्दि जस्ता समस्या भोग्दै आइरहेको वर्तमान अवस्थामा अर्थतन्त्रको सिद्धान्तलाई समेत बेवास्ता गर्दै कार्टेलिङ्ग गरी हालै बजारमा सिमेन्ट, छडको भाउ बढाइएकोले गर्दा निर्माण व्यवसायीहरुले आफ्नो काम गर्न समेत नसकिने अवस्था सिर्जना भएकोले ध्यानाकर्षण गराउदछौं ।’
‘अप्रत्याशित रुपमा भएको सिमेन्ट, छडको मुल्यवृद्दि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन हाल बजारका निर्माण सामाग्रीहरुमा अत्याधिक रुपले भएको मुल्यवृद्धि नियन्त्रण हुनुपर्ने तथा अप्रत्याशित मुल्यवृद्धिलाई सम्बोधन हुनेगरी जिल्ला दररेटमा संशोधन गर्न पर्ने समेत अनुरोध गर्दछौं’ ज्ञापनपत्रमा भनिएकाे छ ।
यसैगरी अव्यवहारिक एवं अवैज्ञानिक ढगंले सिमेन्ट उधोगीहरुले सिमेन्ट लगायतका निर्माण सामाग्री उत्पादनसँग सम्बन्धित इन्धन, ढुवानी, कामदार (मजदुर) सहित कुनै पनि कच्चा पदार्थमा मुल्यवृद्धि नहुँदा पनि कार्टेलिङ्ग गरी पटक पटक गरी सिमेन्टमा प्रति बोरा २ सय र डण्डी (छड) मा प्रति केजी २० रुपैया मुल्यवृद्दि गरिनु कानून विपरित रहेकोले संघले ज्ञापनपत्र मार्फत प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण समेत गरेकाे छ । यस्तै निर्माण व्यवसायीहरुको बाँकी रहेको भुक्तानीहरु नभएको हुदाँ निर्माण व्यवसायीहरु धराशायी स्थितिमा पुगेको बेलामा अप्रत्याशित रुपमा भएको मुल्यवृद्धि नियन्त्रण हुनुपर्ने संघले माग समेत गरेकाे छ ।
हालको अप्रत्याशित र अव्यवहारीक मुल्यवृद्धि नियन्त्रण नभए सम्पुर्ण निर्माण क्षेत्र प्रभावित भई सबै तर्फ नकारात्मक असर हुने भएकाेले निर्माण व्यवसायीहरु थप आन्दोलनमा जान बाध्य हुने अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए । संघ जिल्ला अध्यक्ष कँडेल लगायतका पदाधिकारीले प्रजिअ तिर्थराज चिलवाललाई ज्ञापनपत्र बुझाएकाे हाे ।

