मकवानपुर । हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सवको आयव्यय तथा गतिविधि सार्वजनिक गरेको छ । विद्यालयले स्वर्ण महोत्सव अवधिमा कुल ४६ लाख ७१ हजार २४३ रुपैयाँ आम्दानी तथा ३३ लाख १३ हजार १०८ रुपैयाँ खर्च भएको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले बताए ।
बागमती प्रदेशका दुई ठूला विद्यालयमध्ये एक सिद्धार्थ माध्यमिक विद्यालय २०३२ साल माघ ८ गते तत्कालीन सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा स्थापना भएको थियो । “सिद्धार्थको आगामी दशक, प्रविधिमैत्री दक्ष शिक्षक” भन्ने मूल नारासहित २०८२ पुस २४ गतेदेखि माघ ८ गतेसम्म विद्यालयले स्वर्ण जयन्ती महोत्सव विभिन्न कार्यक्रम गरेको थियो।
स्वर्ण महोत्सवको तयारीका लागि हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति तथा ४० सदस्यीय सचिवालय गठन गरिएको थियो । सचिवालयको नियमित बैठकमार्फत आवश्यक कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
महोत्सवको अवसरमा विद्यालय भवन, सरस्वती मन्दिर तथा गेटहरूको रंगरोगन, चउर तथा चौतारा निर्माण, स्मारिका प्रकाशन, मायाको चिनो खरिद तथा स्वर्ण स्तम्भ निर्माणलगायतका पूर्वाधार निर्माणका काम सम्पन्न गरिएको थियो ।
महोत्सवअन्तर्गत पुस २४ र २५ गते सञ्चालन गरिएको दुईदिने आँखा शिविरमा ९४८ जना विद्यार्थी तथा शिक्षकको परीक्षण गरिएको थियो । जसमध्ये ५३ जनामा समस्या देखिएको विद्यालयले जनाएको छ । त्यसैगरी पुस २८ गते सम्पन्न दन्त शिविरमा ४५० जना विद्यार्थीको दाँत परीक्षण गरेको थियो ।
मकवानपुर । हेटौंडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि समय सापेक्ष विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। क्याम्पसले बागमती विश्वविद्यालयसँगको सहकार्यमा नवीन तथा समयसापेक्ष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेकाे हाे ।
क्याम्पसले शुक्रबार हेटौंडामा आयोजना गरेको “नवीन शैक्षिक कार्यक्रम र करियरका अवसरहरू” विषयक अन्तरक्रिया कार्यक्रम मार्फत नयाँ कार्यक्रमहरूबारे जानकारी गराएकाे हाे । उक्त शैक्षिक कार्यक्रम सम्बन्धमा रायसुझाव संकलन गर्ने लक्ष्य लिएको क्याम्पसले जनाएकाे छ।
आगामी शैक्षिक सत्रदेखि सूचना प्रविधि, व्यवस्थापन, कानून, होटल व्यवस्थापन र शिक्षा संकायअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गरिने क्याम्पसका प्रमुख डाक्टर देवचन्द्र मानन्धरले बताए । उनका अनुसार क्याम्पसले स्थानीय स्तरमै गुणस्तरीय र व्यावसायिक शिक्षा उपलब्ध गराउँदै विद्यार्थीलाई आधुनिक ज्ञान, सीप र रोजगारीसँग जोड्ने उद्देश्य रहेको छ। सूचना प्रविधि स्नातक (BIT) कार्यक्रम डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै तयार गरिएको बताइएकाे छ । यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले सफ्टवेयर निर्माण, डाटाबेस व्यवस्थापन, नेटवर्किङ तथा साइबर सुरक्षासम्बन्धी ज्ञान हासिल गर्नेछन्। यो अध्ययनपछि सफ्टवेयर इन्जिनियर, वेभ डिजाइनर, साइबर सुरक्षा विशेषज्ञ तथा आईटी व्यवस्थापकका रूपमा करियर बनाउन सकिने मानन्धरले बताए ।
त्यसैगरी व्यवसाय प्रशासन स्नातक (BBA) कार्यक्रममार्फत नेतृत्व क्षमता, व्यवस्थापन कला तथा व्यावसायिक रणनीतिको विकासमा जोड दिइनेछ। यसबाट बैंकिङ, वित्तीय संस्था, मार्केटिङ तथा मानव संसाधन व्यवस्थापन क्षेत्रमा रोजगारीका अवसर प्राप्त हुनेछन्। कानून शिक्षातर्फ क्याम्पसले पाँच वर्षे एकीकृत कानून स्नातक (BALLB) तथा तीन वर्षे कानून स्नातक (LLB) सञ्चालन गर्ने तयारी गरेको छ। यस कार्यक्रमले विद्यार्थीलाई न्यायिक प्रणाली, संविधान, फौजदारी र दिवानी कानूनको गहिरो अध्ययन गराउनेछ।
हस्पिटालिटी र पर्यटन क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि होटल व्यवस्थापन स्नातक (BHM) कार्यक्रम ल्याइने भएकाे छ। यसअन्तर्गत होटल सञ्चालन, पाहुना सत्कार, खाना पकाउने कला, कोठा व्यवस्थापन तथा खाना र पेय पदार्थ सेवा सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
त्यसैगरी शिक्षा संकायअन्तर्गत सञ्चालन हुन लागेको शिक्षाशास्त्र स्नातक (B.Ed.) कार्यक्रमलाई आधुनिक र प्रविधिमैत्री बनाइएको छ। यसमा दोहोरो मुख्य विषय (Double Major), व्यावसायिक विषय र सूचना प्रविधि सम्बन्धी पाठ्यक्रम समावेश गरिएको छ। यसले विद्यार्थीलाई आधुनिक शिक्षण पद्धति, नेतृत्व क्षमता, शैक्षिक परामर्श तथा पाठ्यक्रम विकासमा दक्ष बनाउने विश्वास लिइएकाे छ ।
क्याम्पसका सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीका अनुसार क्याम्पसमा उक्त शैक्षिक कार्यक्रमहरू सञ्चालनमा आएपछि हेटौंडा शैक्षिक केन्द्रका रूपमा स्थापित हुने छ । स्थानीय स्तरमै गुणस्तरीय र व्यावसायिक शिक्षा उपलब्ध हुँदा विद्यार्थीहरूको बाहिरिने क्रम कम हुने, समय र खर्च बचत हुने तथा स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन हुने पराजुलीले बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पाठ्यक्रमको प्रभावकारिता, पूर्वाधारको तयारी, दक्ष जनशक्ति व्यवस्थापन तथा बजारको मागअनुसारको शिक्षामा जोड दिनुपर्ने सुझाव दिएका छन्। क्याम्पस परिवारले यो नवीन शैक्षिक योजनाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणसँगै हेटौंडा र समग्र मकवानपुरको शैक्षिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा क्याम्पसका सहायक प्रमुख डाक्टर लिलानाथ ढुंगेल, डाक्टर विजय नेपाल, प्राध्यापक अर्पण पराजुली लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर। हेटौंडा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीहरुलाई सार्वजनिक यातायातको भाडामा दिइदै आएको ४५ प्रतिशत छुट पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेको छ।
स्ववियुले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल सरकारद्वारा व्यवस्था गरिएको उक्त सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको जनाएको हो।
स्ववियुका अनुसार जिल्लाभित्र सञ्चालनमा रहेका कतिपय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई ४५ प्रतिशत छुट नदिने, मनोमानी भाडा असुल गर्ने तथा विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने जस्ता गुनासाहरू निरन्तर प्राप्त भइरहेका छन् । यातायातमा तोकिएको प्रतिशतमा पूर्ण छुट नहुदा विद्यार्थीलाई आर्थिक भार थपिएको साथै शैक्षिक गतिविधिमा प्रत्यक्ष असर पारिरहेको बताइएको छ।
ध्यानाकर्षण पत्रमा जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सार्वजनिक यातायातका साधनहरूमा नेपाल सरकारको नीतिअनुसार विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत छुटलाई अनिवार्य तथा प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक अनुगमन, निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ।
विद्यार्थीहरूमाथि हुने अन्याय, दुर्व्यवहार तथा सेवा अस्वीकृतिलाई तुरुन्त नियन्त्रण गरी विद्यार्थीमैत्री वातावरण सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरिएको छ। स्ववियु हेटौंडा क्याम्पस काबा अध्यक्ष भरत मोहन देवकोटाले समयमै आवश्यक कदम नचालिए विद्यार्थीहरूको हकहित संरक्षणका लागि थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिएका छन्।
स्ववियुले यस विषयलाई गम्भीरतापूर्वक लिई शीघ्र समाधानका लागि आवश्यक पहल गरिदिन प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध समेत गरेको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा रहेको अरनिको माध्यमिक बिद्यालयले शैक्षिक सुधारमा राम्रो प्रगति गरेको दाबी गरेको छ ।
शिशु कक्षादेखि ४ सम्म अंग्रेजी माध्यम र त्यसमाथिको कक्षा नेपाली माध्यममा पढाइ हुँदै आएको छ । ४ बर्ष अघि अंग्रेजी माध्यम सुरु गरेको विद्यालयले अंग्रेजी माध्यमलाई प्रत्येक बर्ष विद्यार्थी पासभएसंगै अघिल्लो कक्षामा बढाउंदै लगेको विव्यास अध्यक्ष गान्धी घलानले बताइन् ।
“अहिले अंग्रेजी माध्यम ४ का विद्यार्थी पास भएर ५ मा गएपछि कक्षा ५ मा पनि अंग्रेजी माध्यम सुरु गर्नेछौ” घलानले भनिन् ।
भौतिक पुर्वाधारले सम्पन्न भएपनि अभिभावक शिक्षाको कमिले पढाइमा अपेक्षाकृत उपलब्धि हासिल गर्न समस्या भएको प्र.अ बिष्णु परियारले बताए ।
विद्यार्थीको बारेमा अभिभावकलाई नियमित जानकारी गराउन खोज्दा पनि अभिभावकले चासो नदिएको अभिभावक शिक्षा संघका अध्यक्ष रामप्रसाद पौडेलले बताए ।
यो बिद्यालयमा हाल ५ सय जना विद्यार्थी अध्ययनरत छन् । बिद्यालयको भौतिक अवसलाई अझै सशक्त बनाउंदै अभिभावकीय चासो बढाउन वडा कार्यालयले समन्वय गर्ने वडा अध्यक्ष नरनाथ सुवेदी (नवराज) ले बताए ।
स्थापना २०३२ सालमा स्थापना भएको यस विद्यालयमा हाल २८ जना शिक्षक कार्यरत छन् ।
भिडियो
मकवानपुर । क्याम्पसमा हुने बेथिति, विसंगति तथा अराजकताका विरुद्ध स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसको ध्यानाकर्षण भएको जनाएको छ ।
सधैं विद्यार्थीको आवाज उठाउँदै आएको उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधार र क्याम्पसको समग्र विकासमा आफूहरू प्रतिबद्ध रहेको बताउँदै हेटौंडा क्याम्पस स्ववियु इकाइ समितिका कार्यवाहक सभापति भरत मोहन देवकोटाको नेतृत्वमा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष आनन्दराम पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
विद्यार्थीहरूको साझा प्रतिनिधि संस्था स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा देखिएका विभिन्न समस्या समाधानका लागि उक्त ध्यानाकर्षण पत्र पेश गरेको जनाएको छ।
स्ववियुले विद्यार्थीहरूको गुनासो र समस्यालाई मध्यनजर गर्दै आठ बुँदे माग अघि सारेको छ। जसअन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित सबै कक्षा नियमित सञ्चालन गर्नुपर्ने, स्नातक तथा स्नातकोत्तर तहमा छुटेका छात्रवृत्तिको लागि तत्काल परीक्षा सञ्चालन गर्नुपर्ने, आन्तरिक परीक्षाको नतिजा समयमै सार्वजनिक गर्नुपर्नेलगायतका माग रहेका छन्।
यसैगरी, क्याम्पस प्रशासन, परीक्षा र लेखा शाखालाई पूर्ण रूपमा सञ्चालन गरी विद्यार्थीमैत्री र पारदर्शी सेवा सुनिश्चित गर्नुपर्ने, शौचालय मर्मत, ई–लाइब्रेरी व्यवस्थित सञ्चालन, कक्षाहरूलाई प्रविधिमैत्री बनाउने तथा चमेना गृहलाई स्वच्छ र व्यवस्थित बनाउने जस्ता माग समावेश गरिएको छ।
स्ववियुले प्रस्तुत मागहरूलाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र समाधान गरिने विश्वास व्यक्त गरेको छ। उक्त पत्रको बोधार्थ क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितिलाई समेत पठाइएको संगठनले जनाइएको छ।