मकवानपुर। हेटौंडा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीहरुलाई सार्वजनिक यातायातको भाडामा दिइदै आएको ४५ प्रतिशत छुट पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेको छ।
स्ववियुले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल सरकारद्वारा व्यवस्था गरिएको उक्त सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको जनाएको हो।
स्ववियुका अनुसार जिल्लाभित्र सञ्चालनमा रहेका कतिपय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई ४५ प्रतिशत छुट नदिने, मनोमानी भाडा असुल गर्ने तथा विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने जस्ता गुनासाहरू निरन्तर प्राप्त भइरहेका छन् । यातायातमा तोकिएको प्रतिशतमा पूर्ण छुट नहुदा विद्यार्थीलाई आर्थिक भार थपिएको साथै शैक्षिक गतिविधिमा प्रत्यक्ष असर पारिरहेको बताइएको छ।
ध्यानाकर्षण पत्रमा जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सार्वजनिक यातायातका साधनहरूमा नेपाल सरकारको नीतिअनुसार विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत छुटलाई अनिवार्य तथा प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक अनुगमन, निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ।
विद्यार्थीहरूमाथि हुने अन्याय, दुर्व्यवहार तथा सेवा अस्वीकृतिलाई तुरुन्त नियन्त्रण गरी विद्यार्थीमैत्री वातावरण सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरिएको छ। स्ववियु हेटौंडा क्याम्पस काबा अध्यक्ष भरत मोहन देवकोटाले समयमै आवश्यक कदम नचालिए विद्यार्थीहरूको हकहित संरक्षणका लागि थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिएका छन्।
स्ववियुले यस विषयलाई गम्भीरतापूर्वक लिई शीघ्र समाधानका लागि आवश्यक पहल गरिदिन प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध समेत गरेको छ।

