मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा दामोदर खनाल नियुक्त भएका छन् ।
बिहीबारको मन्त्रिपरिषद्को वैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुर बकैयाका खनाललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रभात तामाङले जानकारी दिए ।
खनाल नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ को सभापति हुन् भने बकैया गाउँपालिकाकाे २०७४ सालको निर्वाचनबाट निर्वाचित अध्यक्ष समेत हुन् । यसअघिका सल्लाहकार कांग्रेस मकवानपुर सभापति बुद्ध लामा गत २१ फागुन भएकाे प्रतिनिधिसभाका निर्वाचनमा उम्मेदवार भएपछि प्रमुख सल्लाहकार पद रिक्त रहेको थियो ।
सरकारका प्रवक्ता तामाङका अनुसार बैठकले बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा.प्रेमनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरेको उनले बताए ।
अन्य निर्णयहरुः
- सामाजिक विकास मन्त्रालयमा कार्यरत प्रदेश सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत थप जिम्मेवारी हेर्ने गरी खटाउने
- यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका बाबुराम पुरीलाई सो मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मात्र जिम्मेवारी तोकियो ।
- नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामालाई नियुक्त गर्ने ।
- प्रदेशको ११औँ तहमा कार्यरत स्वास्थ्य सेवाका डा.अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गर्ने ।
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीले स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत ।
- जेनजी आन्दोलनको क्रममा जलेका कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापनका लागि नयाँ नीति पारित ।
- गरिबी निवारण नीति २०८२ र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ लाई स्वीकृति ।
- प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ को मस्यौदा र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति ।
- त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति (पहिलो संशोधन) गठन आदेश २०८२ स्वीकृत ।
- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहहरूलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम स्वीकृत ।

