काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।
यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ । राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ । अनलाइनखबरबाट
मकवानपुर । घरबाट ३ किमी बाटो धाएर स्कुल पुग्नु पर्ने बाध्यता हट्न लागेकोमा खुसी छिन् मकवानपुरगढी गाउँपालिका १ लेनडाँडाकी चमेली थिङ । वडा २ काे चण्डिका माविमा अध्ययनरत चमेली बस चढेर स्कुल आउँछिन ।
तर विद्यालय सञ्चालकहरुलाई भने बस खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा न.२ को चण्डिका माध्यमिक विद्यालयलाई बागमती प्रदेश सरकारले बस प्रदान ग-यो । बस नहुदा विद्यार्थीलाइ समस्या, बस प्राप्त हुँदा स्कुललाई आर्थिक जोहोको चिन्ता सुरु भएको छ ।
“बस सञ्चालन सुरु गरेपछि मासिक खर्च ७० देखि ७५ हजार हुने रहेछ, कहाँबाट खर्च धान्नेहोला स्रोतको खोजि गरिरहेका छौ” प्रध्यानाध्यापक कमल फूयाँलले भने । हालै मात्रै स्कुल बस प्राप्त भएको चण्डिमा माविले यसै महिना अन्तिमबाट विद्यार्थीहरुको लागि सुरु गर्दैछ ।
सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार ल्याउन विद्यालयमा गर्ने लगानी बढाउँदै लगेको छ तर यसको उपभोग सहज छैन । यसको एउटा उदाहरण हो स्कुल बसको लागि सरकारको लगानी ।
भौगोलिक दुरी टाढा भएको कारण विद्यालय छाड्न बाध्य हुने छात्रछात्राहरुलाई मध्य नजर गरेर विद्यालयलाई सरकारले बस सेवामा अनुदान दिने कार्यक्रम ल्यायो तर, यो कार्यक्रममा सामुदायिक विद्यालयहरुको पहुँच नै पुग्ने गरेको छैन । सामुदायिक विद्यालयहरुको आय स्रोत नै नहुने भएपछि बसमाथि लगानी गर्ने हिम्मत नै गर्दैनन् स्कुलहरु । सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । विद्यालयले विद्यार्थीबाट कुनै पनि शिर्षकमा शुल्क लिन नपाउने भएपछि बस सञ्चालन खर्च धान्नै नसकिने भएकोले हिम्मत नगरेको विद्यालय सञ्चालकहरुको भनाइ छ ।
शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस सेवा अनुदान कार्यक्रम अघि सारेको छ, तर यसको प्रभावकारीता देखिएको छैन ।
“स्कुल बस मार्गे विद्यालयहरु नै साह्रै न्यून छन्” मन्त्रालयको भनाइ छ । आर्थिक वर्ष २०७६÷७७ देखि मन्त्रालयले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि बस सेवा सुरु गरेको थियो । त्यसका लागि मन्त्रालयले प्रतिविद्यालय २५ लाख रुपैयाँ अनुदान दिँदै आएको छ । मन्त्रालयले बस खरिदका लागि रकम उपलब्ध गराए पनि दुर्गम स्थानका विद्यालयहरुले यस्तो माग नै गर्ने गरेका छैनन् । प्रदेशको दुर्गम जिल्लाबाट बस किन्नको लागि अनुदान माग नै नगन्य मात्रामा छ ।
विद्यालयले बस सेवा संचालन गर्न इन्धन, चालक, सहचालक, मर्मतसम्भार, दुर्घटना बीमा, अन्य भैपरि आउने खर्च विद्यालयले नै गर्नुपर्ने हुन्छ । “चालक र सहचालकलाई श्रम ऐन अनुसार पारिश्रमिक दिंनै प¥यो, कच्चि बाटोमा चलाउँदा मर्मत खर्च पनि अधिक हुने रहेछ, यही बस पाल्न गाह्रो भैसक्यो, बस चलाएर फाइदा छैन” हेटौंडा उपमहानगरपालिका वडा २ को सिद्धार्थ माविका प्रअ मोहन शर्माले भने “फाइदाभन्दा पनि विद्यार्थीको हितको लागि मात्रै बस राखिएको छ।”
प्रदेश सरकारले बसमा अनुदान दिएपनि प्रदेशका दुर्गम जिल्लाका कतिपय विद्यालयले बस आवश्यक भए पनि सेवा दिन नसेको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले बताए ।
“गाउँमा टाढाटाढाबाट विद्यार्थीहरु स्कुल आउनु पर्ने हुन्छ, उनीहरुको लागि बाटो कै कारण पढाइ नछुटोस भनेर बसमा अनुदान दिएको हो, तर त्यति प्रभावकारी देखिएन” दर्जीले भने । ‘विद्यालय बस संचालनका लागि विद्यालयले खर्च ब्यहोर्नु पर्ने हुन्छ । विद्यालयले संचालन खर्च गर्न नसकेको अवस्थामा सम्बन्धित स्थानीय तहले ब्यहोर्ने गरी प्रतिबद्धतापत्र चाहिने हुन्छ,’ निमित्त निर्देशक दर्जीले भने, ‘संचालन नै गर्न नसकेपछि हामीले बस मात्रै उपलब्ध गराएर पनि हुँदैन ।’ स्थानीय तहहरुलाई पनि बस सेवा सञ्चालनको लागि आर्थिक भार नै पर्ने भन्दै खर्च ब्यहोर्न साहस गर्ने गरेको पाइदैन । उनका अनुसार सुगम जिल्लाका विद्यालयबाट बसको माग धेरै आउने गरेको छ ।
तथ्याङ्क अनुसार प्रदेशको चितवन, मकवानपुर, काठमाडौं, धादिङ जिल्लाका विद्यालयबाट बस माग आउने गरेका छन् । रसुवा, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोकका विद्यालयबाट भने बसको माग त्यति आउने गरेको छैन ।
मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीका अनुसार बागमती प्रदेशका १३ वटा जिल्लामध्ये धेरैजसो विद्यार्थी टाढाको बाटो धाएर विद्यालय पुग्छन् । तर दुर्गमका विद्यालयमा भने बस पुग्न सकेको छैन । गत आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयले २७ वटा बसमा अनुदान वितरण गरेको थियो । त्यस क्रममा प्रदेशकै दुर्गम मानिने रसुवा जिल्लाको एउटा मात्रै विद्यालयमा बस पुगेको थियो । गत वर्ष रसुवा जिल्लाको कोभेनस्यामे वाङछेल माविमा मात्रै बस पुगेको हो ।
त्यसैगरी, प्रदेशको अर्काे दुर्गम जिल्ला रामेछापमा पनि एक विद्यालयमा मात्रै बस पुगेको छ । जिल्लाको डहु माविमा मात्रै बस पुगेको हो । सिन्धुपाल्चोकले पनि एउटा विद्यालय बस पाएको छ। सिन्धुपाल्चोकको साँगाचोकडी गाउँपालिकाको सिद्धिगणेश माविले बस पाएको हो ।
गत वर्ष मकवानपुर, धादिङ र चितवनका विद्यालयले सबैभन्दा धेरै बस पाएका छन् । ५ वटा बस पाउने जिल्ला मकवानपुर छ । धादिङका विद्यालयले ४ र चितवनका ४ विद्यालयले बस पाएका छन् । मकवानपुरको थाहा नगरपालिकाको बागेश्वरी मावि, बागमती गाउँपालिकाको जनता मावि, हेटौंडाको महेन्द्र मावि, इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधिनी मावि र मकवानपुरगढी गाउँपालिकाको चण्डिका माध्यमिक विद्यालयले बस पाएका छन् ।
नयाँ बस सञ्चालन सुरु गर्दा विद्यार्थिसँग लिएको शुल्कले बसको आधा खर्च ब्यहोर्ने रहेछ, बस पुरानो हुँदै जादाँ यसलाई पाल्न सकिदैन, हामीले अन्दाज गरिसक्यौ” सिद्धार्थ मावि हेटौंडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरेले भने “विद्यालयको नियमित आन्दानी नहुने विद्यालयको त यो रहर मात्रै हुने रहेछ ।”
शहरी क्षेत्रको पिच बाटोमा बस गुडाउँदा त खर्च धान्न गाह्रो भएको बताउँदै ग्रामिण कच्चि सडकमा गुडाउँदा आउने मर्मत खर्चकै कारण विद्यालयले बस राख्ने हिम्मत गर्न नसकेको हुन सक्ने उनले बताए ।
नियम अनुसार विद्यार्थीबाट शुल्क उठाउन नपाइने भए पनि सामुदायिक विद्यालयहरुले पनि निजी विद्यालयकै हाराहारीमा विद्यार्थीबाट बस सेवाको लागि एक हजारदेखि १५ सय रुपैयाँसम्म लिने गरेको छन् । विद्यालय शिक्षा ऐन अनुसार विद्यार्थीबाट कुनै पनि शिर्षकमा विद्यालयले पैसा लिन पाउँदैन ।

२०७९/०८० मा काठमाडौंको १, काभ्रेको २, दोलखाको २, नुवाकोटको २ वटा सामुदायिक विद्यालयमा बस पुगेको छ । भक्तपुरको १, ललिपुरको १ र सिन्धुलीको २ वटा सामुदायिक विद्यालयमा बस पुगेको शिक्षा विकास निर्देशनालय बागमती प्रदेश कार्यालयले जनाएको छ ।
प्रदेश सरकारद्वारा ५ वर्षमा ४१ विद्यालयलाई बस सेवा प्रदान
स्कुल बसमा सरकारले अनुदान दिए पनि यसमा आकर्षण देखिएको छैन । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले बितेको ५ वर्षमा प्रदेशको १३ वटा जिल्लामा गरी जम्मा ४१ वटा विद्यालयलाई बस खरिदमा अनुदान दिएको छ । जसमध्ये मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लाको ५/५ वटा सामुदायिक विद्यालयमा बस संचालन भइसकेको छ ।
यसैगरी सिन्धुली जिल्लाको ८ वटा सामुदायिक विद्यालय, सिन्धुपाल्चोकको ४ वटा विद्यालय, चितवन, धादिङ र दोलखा जिल्लाको ३/३ वटा सामुदायिक विद्यालयमा बस संचालनमा छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं,ललितपुर, भक्तपुर, नुवाकोट र रामेछाप जिल्लाको २/२ वटा सामुदायिक विद्यालयले अनुदान लिएर स्कुल बस सञ्चालन गरेका छन् । रसुवाको एक सामुदायिक विद्यालयमा बस संचालनमा छन् ।

प्रदेश सरकारबाट बस सञ्चालको लागि २५ लाख अनुदान लिएर बस सञ्चालन गर्दै आएका यि विद्यायहरुको गुणस्तरको अवस्था र बसको अवस्थाबारे प्रदेश सरकारले कुनै अनुगमन गरेको छैन । “अपेक्षाकृत गुणस्तर बृद्धि नै भएको होला भन्ने आशा गरिएको छ” मन्त्रालय स्रोतले भन्यो ।
प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामुदायिक विद्यालयमा बस सेवाले विद्यार्थीलाई विद्यालय आउन प्रोत्साहन गरेको र यसले ड्रप आउन घटाएको अनुमान गरेको बताइन् । बस सेवाले सामुदायिक विद्यालयका विद्यार्थी घण्टौं हिँड्नुपर्ने समस्याको सामाधान हुनुका साथै विद्यार्थीमा पढ्ने उर्जा मिलेको दाबी गरिन् ।
विद्यार्थीलाइ सजिलो स्कुललाई गाह्रो
स्कुल बस सञ्चालनपछि विद्यार्थीहरुलाई आवतजावत गर्न सजिलो भएको छ । “३ घण्टा हिडेर विद्यालय आउने बालबालिका बसमा एकै छिनमा विद्यालय आइपुग्छन्, सजिलो त हुन्छ नै” चण्डिका माविका प्रअ फूयाँलले भने ।
प्रदेश सरकारले सामुदायिक माविलाई बसमा अनुदानको लागि सम्बन्धित स्थानीय तहले आफू बस सेवा सञ्चालन गर्न तयार रहेको व्यहोराको सिफारिस अनिवार्य गरेको छ । विद्यालयले पनि बस सेवा सञ्चालन गर्ने इच्छा जाहेर गरेपछि स्थानीय तहहरुले आर्थिक भारमा सहायता नगर्ने र कागजी रुपमा सिफरीस भने बनाउने गरेको छ । यसपछि प्रदेश सरकारबाट बस त पाउने तर सञ्चालनमा समस्या भोग्ने गर्दछ सामुदायिक विद्यालयहरु ।
अर्को तर्फ स्थानीय क्षेत्रमा प्राथमिक विद्यालयहरु पनि यसको अप्रत्यक्ष मारमा पर्ने देखिएको छ । मावि स्कुलमा बस राखिएपछि नजिक रहेका प्राविका बालबालिका पनि बसमा चढेर माविमै आउन थालेपछि प्राविहरु खाली हुने संभावना बढेको बताउँछन् प्रअ फूयाँल । बस सेवा विद्यालयले भन्दा स्थानीय तहहरुले चलाउनु पर्ने र आवश्यकता अनुसार सम्बन्धित प्रावि वा माविका विद्यार्थी बोक्नु पर्ने उनको धारण छ । एउटा पालकाले आवश्यकता अनुसार ३ वा ४ वटा बस चलाउने र आ–आफ्नो रुटको विद्यार्थी बोक्ने व्यवस्था गर्नुपर्ने उनले बताए । सरकारले बसमा भन्दा छात्रावासमा अनुदान दिनुपर्ने शिक्षाविदहरुको भनाइ छ ।
तस्बिर साैजन्य: कमल फुयाँल प्र अ चण्डिका मावि
मकवानपुर । उच्चशिक्षालाई उच्च प्रामथिकता दिदै मकवानपुरकाे एउटा वडा कार्यालयले विद्यार्थीलाई क्याम्पस जान नि:शुल्क बस सेवा प्रदान गर्ने भएकाे छ । यसकाे लागि सम्बन्धित वडाकाे स्थायीवासी हुनुपर्ने छ ।
यसकाे लागि वडा कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेकाे छ । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाबाट वडा नम्बर १८ ले क्याम्पस पढ्ने बिद्यार्थीहरुलाई बसभाडाकाे समस्या भएमा वडा कार्यालयले सहयाेग गर्ने भएकाे हाे । हेटौडा बजार पुग्न दैनिक १८ किलोमिटरको यात्रा गर्नुपर्दा वडावाट उच्च शिक्षा लिन हेटौडा बजार ओहाेर दाेहाेर गर्ने विद्यार्थीले दैनिक चर्को बसभाडा खर्च गर्नुपर्ने अवस्थालाई वडाले सम्बाेधन गर्न लागेकाे हाे ।

भाडाकै कारण क्याम्पस पढ्न समस्या नहाेस भनेर वडा कार्यालयले याे याेजना अघि सारेकाे वडाध्यक्ष अनिल बानियाँले बताए । वडाध्यक्ष बानियाँका अनुसार वडाले निर्णय नै गरेर कक्षा ११ देखि स्नातकोत्तरसम्म पढ्ने वडाभित्रका विद्यार्थीको हेटौडा आउजाउको भाडा तिर्ने निर्णय भएको छ । यसै वडामा कक्षा १२ सम्म अध्यापन हुने ज्याेती मावि छ ।
वडाबाट हेटाैंडा नआइपुग्दै जनप्रिय मावि प्राविधिक विद्यालय पनि हेटाैंडा १६ मा छ । तर हेटाैंडा बजारमै आएर आफूले राेजेकाे विषय पढीरहेकाहरुकाे सहजताकाे लागि वडाले याे याेजना अघि सारेकाे बताइएकाे छ ।
वडा कार्यलयले स्थानीय यातायात व्यवसायीसँग सहकार्य गर्ने याेजना बनाएकाे छ । हाल हर्नामाडीदेखि हेटौडा आवतजाआत गरेकाे भाडा प्रतिव्यक्ति ८० रुपैयाँ भाडा लिने गरेकाे छ ।
वडा कार्यालयको यो निर्णयसँगै अब वडाभित्रका ७५ जना भन्दा वढी विद्यार्थी निःशुल्क बस चढेर हेटौडासम्म अध्ययन गर्न सक्ने भएका छन् । वडामा जम्मा ४ वटा सामुदायिक विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ । वाणिज्य, मानविकी र शिक्षा संकायका विषयमात्र पढाइ हुने र अन्य विषय पढ्न चाहने विद्यार्थीले हेटौडा बजारका क्याम्पससम्मै पुग्नुपर्ने बाध्यता छ । उपमहानगरपालिकाले एमविविएस पढ्न हरेक विद्यार्थीलाई ५ लाख रुपैयाँ सहयोग गर्दै आएकामा यस वर्षदेखि आफ्नो वडाले पनि १ लाख रुपैयाँ दिने नीति लिएको अध्यक्ष बानियाँले बताए । यसपटक याे वडाबाट २ जना एमविविएस पढ्न छानिएका छन् ।
मकवानपुर । मकवानपुरकाे भीमफेदी गाउँपालिका १ जना वडा अध्यक्षले आफूले पाउने १ महिनाकाे रकम माध्यमिक शिक्षा परीक्षा एसईई उत्कृष्ट विद्यार्थीलाई सहयाेग गरेका छन् । भीमफेदी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष सागर पाण्डेले आफूले पाउने गरेकाे १ महिनाको मासिक भत्ताको रकम भीमफेदी ४ स्थित बाराही माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट विद्यार्थी लाई प्रदान गरेका हुन् ।
बाराही माध्यमिक विद्यालयबाट एसईई २०७९ मा सबैभन्दा बढी जिपिए ल्याउने बुद्दकुमारी थिङ्ग, उज्वल सुवेदी र सजिना घलानलाई अध्यक्षले नगर सहित सम्मान गरेका हुन् । वडा कार्यालयले शुक्रबार कार्यक्रम गरी उक्त विद्यालयबाट सबैभन्दा बढी जीपीए ल्याउने क्रमशः थिङ्गलाई १० हजार, सुवेदी र घदानलाई जनही ५/५ हजार रुपैया नगर सहित मायाको चिनोबाट सम्मान गरिएकाे थियाे ।
अध्यक्ष पाण्डेले परीक्षामा सफल भएका अन्य ३० जना विद्यार्धीलाई हाैसला प्रदान गर्दै मायाको चिनोले सम्मान गरेका थिए । पाण्डेले आफुले गरेको सानो सहयोगले आगामी दिनमा विद्यार्थीलाई अझ धेरै प्रगति गर्नकाे लागि शुभकामना दिए । उनले आगामी दिनमा अध्ययनमा राम्रो गर्ने विद्यार्थीलाई आफ्नाे सहयोग रहने बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्य, प्रधानाध्यापक डीपी गौतमलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । एसईई र बिबिएमा उच्च अंक ल्याउने ३ जना बिद्यार्थीलाई हेटौडा उपमहानगरपालिकाले सम्मान गरेकाे छ । एसईई र बिबिएमा उच्च अंक सहित ल्याउने र नेपाल टप हुने बिद्यार्थीलाई उपमहानगरपालिकाले नगद तथा प्रशंसा पत्रसहित सोमबार सम्मान गरेको हो ।
२०७९ सालको एसईई परिक्षामा हेटौंडा–७ को तासिर इ·लिस बोर्डिङ स्कुबाट सहभागी डाफिन राई, मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिएम सातौं सेमष्टरमा सहभागी हेटौंडा–९ की सृष्टी महर्जन र मकवानपुर क्याम्पसबाटै २०७८ सालको बिबिएसमा सहभागी हेटौंडा–६ का प्रकाश गौतमलाई हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मान गरेका हुन् ।
डाफिनले ४ जीपीए, बिबिएम सातौं सेमेष्टरमा सहभागि सृष्टी र बिबिएसमा सहभागी प्रकाशले सामुदायीक क्याम्पस तर्फ नेपाल टप गरेका थिए । सम्मान कार्यक्रममा नगर प्रमुख लामाले नगरको शैक्षिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउँदै उपमहानगरले आर्थिक अभाबका कारण कसैले पनि पढाईबाट बञ्चित नहुने वातावरण बनाउने बताइन् ।
कार्यक्रममा उप प्रमुुख बानियाँले शिक्षामा उज्वल भविष्य बोकेका बिद्यार्थीकाे अध्यापनमा सहयाेग गर्ने बताए । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, उपमहानगरका बिज्ञ सल्लाहकार कृष्ण धिताल, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल तासिर इ·लिस बोर्डिङका प्रिन्सिपल बिनोद थपलियाको आतिथ्यता रहेको थियो ।