मकवानपुर । हेटौंडामा रहेको सिद्धार्थ शिशु सदन माविमा पठन संस्कृति विकासका लागि अभिमूखीकरण भएको छ । बिहीबार किताबघर, हेटौंडाको संयोजनमा विद्यार्थीहरूको पठन संस्कृति विकासका लागि १ दिने अभिमूखीकरण भएको छ ।
विद्यालयका कक्षा ७, ८ र ९ का विद्यार्थीहरूका लागि किताब पढ्ने बानीको विकासका सन्दर्भमा अभिमूखिकरण कार्यक्रम आयोजना भएको किताबघरका संचालक छवि अनित्यले बताए । अभिमूखीकरणमा बालबालिकाहरूलाई पाठ्यक्रमभन्दा बाहिरका किताबको आवश्यकता र महत्त्वका विषयमा जानकारी गराइएको थियो । किताब पढ्ने बानीको विकासले शैक्षिक उपलब्धीमा पुग्ने सहयोग सम्बन्धमा बालबालिकाहरूलाई जानकारी गराइएको अनित्यले जानकारी दिए ।
यसैगरी शुक्रबार विद्यालयमा किताबघरको संयोजनमा बालबालिकाहरूका लागि पुस्तक प्रदर्शनी समेत आयोजना हुने भएको छ । किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८० अन्तरगत प्रदर्शनी हुन लागेको हो । कार्यक्रमले बालबालिकाहरूमा पठन संस्कृतिबारे अभिरुची बढाउन सहयोग पुग्ने विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक केदार न्यौपानेले बताए ।
यसअघि किताबघरले हेटौंडा उपमहानगरपालिकाका विभिन्न सरकारी तथा सस्थगत विद्यालयमा पुस्तक प्रदर्शनी गरिसकेको छ ।
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासत कक्षमा पुस्तकालय संचालनमा ल्याएको छ । प्रहरी कार्यालयले हिरासतमा पुस्तकालय कार्यक्रमलाई मंसिर ५ गते मंगलबारबाट संचालनमा ल्याएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौता अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव-प्रवर्तनीय कार्य `हिरासतमा पुस्तकालय´ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले मंगलबार एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् ।
उद्घाटनसँगै मंगलबारबाटै पुस्तकालयको सेवा प्रारम्भ भएको छ । पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका छन् ।
विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको महोत्तरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुबै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । `यसमा पूर्णरूपमा सुधारको आवश्यकता छ´, प्रहरी प्रमुख मल्लले भने – `मानिसमा चेतनाको विकास नभएसम्म केही पनि सुधार हुन सक्तैन, शिक्षाले मात्रै मानिसलाई चेतनशील बनाउँछ ।´
मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए । मल्लले यस अघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा `हिरासतमा पुस्तकालय´ अभियान स्थापना गराएको जानकारी दिए ।
मकवानपुर । मकवानपुरको पदमपोखरी स्थित महेन्द्र माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समूह गठन गरिएको छ ।
विहीबार २०५९ सालको एसएलसी ब्याजको भएको विद्यार्थी भेलाले वीर वहादुर स्याङ्वाेकाे अध्ययक्षतामा १३ सदस्यीय समुह गठन गरिएको हो । समूह उपाध्यक्षमा वगान सिं थिङ, सचिव राजेन्द्र थापा, सहसचिव देवेन्द्र पराजुली, काेषाध्यक्ष सुस्मा थापा, सदस्यहरु राजेश नगरकाेटी, उद्दव गाैतम, पुष्पा ओझा,सुरेश स्याङ्वाे लगायत रहेका छन ।
विद्यालयको पूर्व विद्यार्थीहरुले वनभाेज पुनर्मिलन तथा भेला कार्यक्रम गरि समूह गठन गरिएको हो । कार्यक्रम विधालयका पूर्व प्राधानाध्यापक वेलि थापाकाे प्रमुख आतिथ्यता तथा विद्यार्थी समुहका अध्यक्ष दिल वहादुर स्याङ्वाेकाे सभाध्यतामा भएकाे थियाे ।
पूर्व प्रधानाध्यापक वेलि थापाले जवसम्म मानिस सामाजिक हुन सक्दैन तवसम्म समाज विकास सम्भव नहुने बताइन् । ‘व्यक्तिमा हुने बौद्धिकतालेनै शिक्षाकाे गुणस्तर मापन गर्छ’ उनले भनिन् ‘समाजमा आफ्नाे उपस्थिति बनाउन सक्नु नै गुणस्तरीय शिक्षाकाे उपज हाे ।’ ‘मानिस इमाेसनल पनि हुनुपर्छ, मानिसमा आत्मपरक गुण हुनुपर्छ, आध्यात्मिकताले नै मानिसलाइ सही निर्णय लिन सक्छ र समाजमा राम्राे संस्कारकाे विकास गर्छ’ उनले भनिन् । थापाले हालकाे युग प्रविधिकाे युग भएकोले साेहि अनुरुपको शिक्षा दिइनु पर्ने बताउदै विधालयले शिक्षामा गुणस्तरीय मात्र नभै विद्यार्थीलाई संस्कारयुक्त शिक्षाको सिकाईमा ध्यान दिनु पर्ने बताइन् ।
कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठ, पूर्व प्राधानाध्यापक शंकर खतिवडा, विधालय व्यवस्थापन समिति अध्यक्ष पुष्करबहादुर रोक्का, शिक्षकहरु निबन्ध लामा, अमरनिधि उप्रेती, आशा थापा, श्यामकुमार भारद्वाज, रामकृष्ण रोक्का, रामप्रसाद यादव, मातृका दुलाल, लक्ष्मी थिङ, बालकुमार श्रेष्ठ, डेमिज़ थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।