मकवानपुर । मकवानपुर जिल्लाकाे राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर १ जनाकाे मृत्यु भएकाे छ । राक्सिराङ २ बरेटारमा १ महिलाको चट्याङ लागेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मंगलबार साँझ घर नजिकै बारीमा गएकी राक्सिराङ २ बरेटार की ६२ बर्षीय कालिमाया स्याङतानकाे चट्याङकाे कारण ज्यान गएकाे हाे । स्याङ्तान सँगै अर्का एक ब्यक्तिलाई समेत चट्याङ लागेको प्रहरीले बताएकाे छ । उक्त ठाउँ विकट तथा मनहरीबाट जान टाढा भएकाेले प्रहरीलाई घटनास्थल पुग्न समस्या भएको बताइएकाे छ ।
घटनाको मुचुल्काको लागि बुधबार बिहान इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल तर्फ गएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताए। मंगलबार साँझनै मृत्यु भएकाे स्याङ्तानकाे शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउन पनि समस्या भएको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा राष्ट्रिय भू संरक्षण दिवस मनाईएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय मकवानपुरको आयोजनामा राष्ट्रिय भू संरक्षण दिवस, २०७९ मंगलबार मनाइएकाे हाे ।
हेटौंडा उपमहानगरपालिका वडा नं १५ भोर्लेमा २ सय वटा बाँसको बिरुवा राेपी भू संरक्षण दिवस मनाईएको हो । भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख सृजना गुरुङको सभाध्यक्षता तथा प्रदेश वन निर्देशक विद्यानाथ झा प्रमुख आतिथ्यतामा दिवस मनाइएकाे हाे । दिवसकाे अवसरमा निर्देशक झाले जनताको सहभागिताले जलाधार व्यवस्थापन कार्य सफल हुँदै आएकाे बताए । अव जनतासँग आर्थिक साझेदारी समेत गरी आगामी दिनमा जलाधार व्यवस्थापन थप सफल बनाउनु पर्ने उनले बताए ।
दिवसकाे अवसरमा हेटौडा उपमहानगरपालिका १५ नम्बर वडाध्यक्ष सुनिल मोक्तानले वन तथा वातावरण मन्त्रालयको साथ र सहयोगले बस्ती तथा खेतियोग्य जमिनको संरक्षणमा सहयोग पुगेको बताए ।
मकवानपुर । नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।
विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक कार्यक्रममा शुक्रवार बाघको संख्या ३ सय ५५ पुगेको जानकारी गराइएको थियो। प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन ।
पछिल्लो ४ वर्षमा १ सय २० बाघ थपिएको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ देखि फागुन २८ सम्म बाघ गणना गरेको थियो ।२०१८ मा नेपालमा २ सय ३५ बाघ थिए ।
अहिले सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुल्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेको वन्यजन्तु विभागले जनाएको छ ।
बाघ गणनाका लागि अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधि प्रयोग गरिएको थियो । १ सय ५० वटा क्यामेराका साथै २ सय जनशक्ति र आवश्यकताअनुसार हात्ती पनि प्रयोग गरिएको थियो ।
मकवानपुर । हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मकवानपुरमा पनि विहानैबाट हल्का वर्षा भइरहेकाे छ ।
हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर स्थान (normal position) को आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहेकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार श्रावण १२ गते (बिहीबार) देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैगरी श्रावण १३ गते (शुक्रबार) देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै श्रावण १४ गते (शनिबार) देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैशम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
यसैगरी,देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु समेत महाशाखाले सबैमा आग्रह गरेकाे छ ।
सप्तरी । एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणकाे दैनिकी निकै कष्टकर बनेकाे हाे । यहाँकाे तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट छ ।
गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी बढी प्रभावित भएका छन् । दिनहुँ साइकलमा राजविराज बजारमा घुमेर कपडा बेच्दै आएका कुनौलीका ५० वर्षीय मोहम्मद रहमान गर्मीकै कारण काममा जान सकिरहेका छैनन् । काम नगर्दा घर चलाउन समेत समस्या भएकाे उनले बताए ।
उनी भन्छन्,´गर्मीले घरभित्रै त बसी सक्नु छैन् । घाँममा डुलेर कसरी कपडा बेच्नु ? जीविकोपार्जन गर्ने घौ धौ भइसक्यो ।’ राजविराज नगरपालिका वडा- १ की दुर्गादेवी रजक अर्काको घरमा काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । तर, गर्मीका कारण एक सातादेखि उनी काममा जान सकेकी छैनन् । उनी भन्छिन्,´बिहान ६ बजेदेखि पोल्ने घाम लाग्छ । घरबाट निस्किन सकिँदैन, कसरी काम गर्नु ? दुई छाक टार्न एकदमै मुस्किल भए पनि पहिले ज्यान अनि जाहान भनेर बसिरहेका छाैं।’
गर्मीले सबैलाई काम गर्न समस्या भइरहेकाे नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । उनले भने, ´गर्मीका कारण ज्यानले काम गर्नै मान्दैन् । शरीरले सके न काम गर्ने हो ।’
कलबाट भरेर जग वा जुन भाँडोमा राखे पनि आधाघण्टामै तातो हुने गरेकाे राजविराज-२ की ५० वर्षीया लिलादेवी मण्डलले बताइन् । उनले भनिन्,´पहिले पहिले गर्मी लाग्दा कोठाको भुईमा सिमेन्टमा सुत्थेँ । अहिले त भुई पनि तातेको छ । कसरी सुत्ने ? मनमा भित्रबाटै बिरामी जस्तो महसुस हुन्छ।
गर्मीकै कारण विद्यार्थीहरू विद्यालय बेहोश पर्न थालेपछि राजविराज नगरपालिकाको सामुदायिक विद्यालयहरू २८ असारदेखि २८ साउनसम्म एक महिनाका लागि बन्द भएको छ। समाचार राजधानीबाट