मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
हेटौंडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मंसिर १९ गते राती गोली प्रहार गरी २० गते रकम माग्ने ३ जनालाई नै प्रहरीले पक्राउ गरी ९० दिनसम्म आवश्यक अनुसन्धान गरी अदालत पेश गरेको थियो । जिल्ला अदालतकी माननिय न्यायाधीश मन कुमारी जिएम विकको इजलाशमा अभियुक्तहरुलाई पूर्पक्षका लागि भीमफेदी जेल चलान गरिएको हो ।
गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसाद पौडेलसँग एक करोड रुपैयाँ माग गरेका थिए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली बरामद गरेको थियो । हेटौंडा उपमहानगरपालिका–९ मा घर भएपनि हेटौंडा उपमहानगरपालिका–४ मा पौडेल डेरा लिएर बसेका थिए ।
लागुऔषध समेतको कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ नगद बरामद गरेको थियो । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाएको छ ।
मकवानपुर । बिद्युत पोलले ढलेर लाग्दा घाइते भएका मकवानपुर बकैयाका रामकुमार तितुङको मृत्यु भएको छ ।
४० बर्षीय तितुङ मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नं. ७ का वडा सदस्य हुन् ।
मंगलबार दिउँसो १:३० बजे मकवानपुर जिल्ला बकैया गाउंपालिका ७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो । पोलमा करेन्ट नभएको प्रहरीले जनाएको छ ।
घाईते भएका उनको हेटौंडाको चुरेहिल अस्पताल पठाएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रति आमनागरिकको भरोसा विश्वास बढाउन आवश्यक भएको बताएका छन् ।
अदालतको कार्य प्रकृतिले नै यो विश्वास बढाउने भएकोले कार्यशैलीलाई प्रविधिमैत्री बनाउनु पर्ने उनले बताएका छन् । “कुनै पनि हालतमा हामीले न्याय मर्न दिनु हुदैन, छिटो र छरितो न्यायको लागि संविधानको मर्म पनि ख्याल गरिनु पर्छ” प्रधानन्यायधीश श्रेष्ले भने ।
मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रविधिको विकाससँगै न्याय कार्यान्वयन लयमा आएको बताउँदै उनले भने मुद्दा फर्स्याैट दर बढेको छ, सर्वोच्चमा कार्यालय समय बाहेक पनि इजलाश बस्ने गरेको छ, जिल्ला र उच्चमा पनि यो सुरु हुन्छ ।” सर्वोच्च र उच्च अदालतमा पेशी तोक्ने सम्बन्धका गुनासो घटेको बताउँदै उनले भने “प्रविधिको प्रयोग जरुरी छ,यसले घरघरमै बसेर बहस गर्न सकिन्छ, अदालत प्रवेश गर्नै पर्छ भन्ने छैन ।”
उनले अदालतमा अनलाइन बहसको थालनी गर्नुपर्नेमा आफूहरु लागि परेको बताए । “अदालतको अनावश्यक भिडभाड कम गर्न, गुनासा र विकृती कम गर्न सकिन्छ” उनले अदालत प्रशासनलाई निर्देशन दिंदै भने “सेवालाई चुस्त पार्न ध्यान दिनोस, वैतनी वकिलमार्फत सेवा सहज बनाउनुहोस्, न्यायपालिकाको सुधारबाट मात्रै शासन सुधार हुन्छ, आम नागरिकको अपेक्षा प्रती न्यायपालिका सचेत हुनुपर्छ ।”
उनले आमनागरिकालाई पनि न्यायपालिकाको सुधार प्रती विश्वस्त हुन आग्रह गर्दै भने “हामीले चाहेर पनि आजको भोलि नै फैसला हुन सक्दैन, यसबारे बुझिदिनुस, कार्यविधगत प्रक्रिया पनि पु-याउन प-यो, संविधान कानुनका पछिपछि हामी छौ, तर अलिअलि ढिलो हुदैमा, अन्याय हुने हैन ।”
संघीयता कार्यान्वयसँगै विकास निर्माणको सवालमा अदालतमा मुद्दा बढेकोले महिनामा ४/५ वटा सवाल विकास निर्माणका सवाल हेर्नुपर्ने अवस्था आएको उनले बताए । “राजस्व र विकास निर्माणको मुद्दा ढिलो नहोस् भनेर विशेष व्यवस्था गरेर सुनुवाइ गर्न प्रयास गरेको उनले बताए । जिल्ला अदालतमा कार्यबोझ घटाउन स्थानीय तहमा निमार्ण भएको न्यायिक समितिलाई सघाउन उनले आग्रह गरे । “संविधानको चाहना घर घरमा न्यायलय भनेको स्थानीय तह हो, यसलाई सहयोग गरौ, अदालतको बोझ आफै्रं कम हुन्छ, बोझ घटेपछि काममा छरितोपना आफैं आउँछ ।”

सलामी ग्रहण गर्दै प्रधानन्यायधीश श्रेष्ठ
कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले जनताले सरकारको अङ्गमाथी प्रश्न उठाउन थालेको र यसमा आफ्नो ध्यानाकर्षण भएको बताए । “अदालत बन्यो यो पुर्वधार मात्रै अब सेवाग्राहीलाई दिइने सेवा पनि सुन्दर हुनुपर्छ,नागरिक मैत्री हुनुपर्छ” उनले भने ।
यसैगरी उच्च अदालत पाटन हेटौंडा इजलाश मुख्य न्यायाधीश यमुना भट्टराइले हेटौंडा इजलासको भवनमा पनि कागजात जतन गरिराख्न समस्य भएको भन्दै धमिराबाट दस्तावेज सुरक्षा गर्न डरैडरै भएकोले गुनासो गरिन् । यसैगरी सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालले भौतिक अवस्था न्यायसम्पादनको महत्वपूर्ण पाटो भएको बताउँदै यसले काम गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा प्रकट गरे ।
मकवानपुर । सर्वोच्च अदालतको अदालत व्यवस्थापन समितिको २०७६ फागुन २२ गतेको निर्णय अनुसार नयाँ भवन निर्माणको लागि नक्सा स्वीकृत भइ कवीन्द्र नवसिर्जन सेलेट जेबि कम्पनी काठमाडौँले निर्माण गर्ने सम्झौता २०७७ माघ २१ गते भएको थियो ।
२०७७ चैत १५ गते भवनको शिलान्यास गरिएको थियो । २०८० साउन २० मा निर्माण सम्पन्न भएको थियो । भवन निर्माणपछि सुपरभिजनलगायतको कार्य सम्पन्न गरी २०८० माघ ९ गते निर्माण कम्पनीले हस्तान्तरण गरेको थियो ।
१० कठ्ठा जग्गा बनेको भवनको भुमिगत तल्लामा पार्किङको सुविधा रहेको छ, भने पहिलो तल्लामा श्रेस्तेदार कक्ष, तहसिल्दार कक्ष, मुद्दा दर्ता, प्रशासन दर्ताचलानी शाखालगायत गरी ११ कोठा रहेको छ । यसैगरी दोस्रो तल्लामा २ वटा इजलाश शाखा सहित पुस्तकालय सरकारी वकिल प्रतिक्षालयसमेत गरी १५ कोठा छन् । तेस्रो तल्लामा १६ कोठा, चौथो तल्लामा १४ कोठा, पाँचौमा १३ कोठा र छतमा एक कोठा गरी जम्मा ७१ कोठा रहेको मुख्यन्यायाधीश श्रीप्रसाद संजेल श्रीप्रसाद सञ्जेलले बताए ।
अदालतमा अपाङ्गमैत्री र्याम्प, अपाङ्गमैत्री शौचालय, सेवाग्राहीको लागि र न्यायधीश कर्मचारीको लागि २ वटा लिफ्ट, ४८ थान सिसि क्यामरा, विद्युत व्याक अपको लागि ५० केबि क्षमताको सोलार प्यान, आगो निभाउन प्रयोग हुने ग्याँस सिलिण्डर समेत छ ।
बेलपत्र लागतमा २७ करोड ८९ लाख १४ हजार रहेकोमा १८ करोड १२ लाख ३३ हजारमा कवीन्द्र नवसिर्जन सेलेट जेबि कम्पनी काठमाडौँको बोलपत्र स्वीकृत भएको थियो । भवन निर्माणको क्रममा मुल्य अभिवृद्धिलगायतको कारण निर्माण लागतमा २३ करोड ७७ लाख ४ हजार लागतमा निर्माण सम्पन्न भएको सञ्जेलले बताए ।
कुल ७ वटा इजलास कक्ष रहेको उक्त भवनमा १५० जना अट्ने क्षमताको सभाहल पनि रहेको छ । अदालतले गत माघ २८ गते आइतबारबाट नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । पुरानो भवन भत्काएपछि जिल्ला अदालत मकवानपुरले उच्च अदालत पाटन हेटौँडा इजलासको परिसरमा रहेको एकनाले भवनबाट आफ्ना सेवा दिँदै आएको थियो । साँघुरो भवन भएकाले अदालतका कर्मचारी र न्यायाधीश कोचाकोच गरी सेवा प्रवाह गरिरहेका थिए भने सेवाग्राहीले पनि समस्या भोगिरहेका थिए । जिल्ला अदालत मकवानपुर ४ जना न्यायाधीशसहित ५६ जना कर्मचारी कार्यरत छन् ।
मकवानपुर / खानी उत्खननपछि निस्केको डस्टले खोला भरिएर दुर्घटनाको संभावना हुंदासम्म खानी सन्चालक शिवम सिमेन्टले वास्ता नगरेपछि स्थानीयले प्रशासन गुहारेका छन् । खानी पीडितहरू खानीको ओभर बडेनको कारण ग्रामीण बस्तिमा हुनसक्ने दुर्घटना औल्याउँदै जीवन रक्षाको माग गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाको सुकौरामा शिवम् सिमेन्ट उद्योगले जंगलका सालका रुख समेत काटेर खानी क्षेत्र बिस्तार गर्दै ओभर बडेन समेत यत्रतत्र फालेको छ । खानी बिभागसँगको सम्झौता विपरित सुकौराको खोटार खानी क्षेत्रमा हरिया सालका रुख समेत एक्साभेटरले उखलेर फालेको पाईएको छ । खानी क्षेत्रको ओभरबडेन समेत त्यसै फालिएको छ ।
जंगलको पहाड जथाभावि रुपमा खन्दै तल त्यसै फाल्दा यहाँको बस्ती समेत जोखिममा परेको छ । शिवम सिमेन्ट उद्योगले तोकिएको जंगल क्षेत्रबाट मात्र उत्खनन् गर्नुपर्ने स्थानमा त्यसको पाँच गुना समेतको क्षेत्रफलमा उत्खनन् गरिरहेको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् । जंगलको एरिया समेत उत्खनन् गरेर त्यसै फाल्दा मकवानपुरगढीको चार वटा वडाका वासिन्दाहरु निकै समस्यामा परेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।
मकवानपुर गढी गाउँपालिकास्थित खोटार खानीमा भएको अव्यवस्थित उत्खनन् कारण उत्पन्न समस्याहरुका बारे ब्यापक जनगुनासो आएपछी शनिबार मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौलाको नेतृत्वमा खानी क्षेत्रको अनुगमन गरिएको छ ।
खानी क्षेत्रका वासिन्दाहरुलाई प्रत्यक्ष रुपमा असर पर्नेगरी भएको उत्खनन् र ओभरबडेन फालेका कारण तलको वस्ती जोखिममा परेको भन्दै सांसद बतौलाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, स्थानीय वासिन्दाहरु सहितले खानी क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा सांसद बतौलाको नेतृत्वको टोलिले पाँच वुँदे निर्देशन दिएको छ । शिवम सिमेन्ट उद्योगले खानी सन्चालन सम्बन्धी मापदण्ड र सम्पुर्ण शर्तहरू पुर्ण कार्यान्वयन गरेर मात्रै खानी सन्चालन गर्नुपर्ने, खानीबाट निस्किएको र जथाभावी रुपमा खोलामा फालिएको ओभरबडेनलाई तत्काल व्यवस्थित गर्नुपर्ने, उक्त कार्य सम्पन्न नहुँदासम्म खानी उत्खनन कार्य बन्द गर्नुपर्ने, प्रभावित क्षेत्रमा बस्ती संरक्षणलगायत सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरु गर्नुपर्ने, आगामी दिनमा गाउँपालिकाको नेतृत्वसँग परामर्श, जानकारी र समन्वय गरेर मात्रै खानी सम्बन्धी सम्पूर्ण कार्य अगाडि बढ्ने र बढाउने निर्देशन दिइएको सांसद बतौलाले बताए ।
अनुगमनमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईं, जिल्ला समन्वय समिति सभापति ललित घलान, गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो । अनुगमनको क्रममा पुगेका नेतृत्वसंग स्थानीयहरूले जीवन सुरक्षाको माग गरेको थिए ।