मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ढुङ्गा लागेर एक स्कुले बालिकाको मृत्यु भएकाे छ।
बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बिहीबार बाटो माथिबाट खसेको ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बिहीबार विद्यालयबाट घर फर्किदै गरेकी हिरालाल थिङको छोरी १० वर्षीया बालिका सुष्मा थिङलाई ढुङगाले लागेर ज्यान गएको हाे ।
उनकाे शव परिवारले लगेको भन्ने जानकारी वडा अध्यक्ष फुलबहादुर भोम्जन मार्फत प्राप्त भएकाे प्रहरीले बताएकाे छ । उनी बकैया गाउँपालिका–६ साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा २ कक्षामा अध्ययनरत छात्रा भएको बुझिएको छ।
इलाका प्रहरी कार्यालय फापरबारीका टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा एउटा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान मनहरी-६ प्रतापपुरस्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
बाघले राईको गोठमा रहेको भैंसीलाई आक्रमण गर्दा भैंसी घाइते भएको र सोहि गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोली र पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट बाघलाई भैसीले हान्दा मरेको हुन सक्ने मकवानपुर प्रहरी जानकारी दिएको छ।
उक्त स्थान चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकोले निकुञ्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मृत बाघ अनुसन्धानका लागि जिम्मा लिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । शनिबार हेटौंडा–९ मा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय सिभांस अर्यालकाे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मयुरधापबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उक्त बालकको मृत्यु भएको हो । स्थानीय रामचन्द्र अर्यालका छोरा सिभांस बाटो छेउमा हिडिरहेको अवस्थामा उक्त माेटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरकाे टोलीले हेटौंडा–१४ बस्ने १७ वर्षीय मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएकाे बताइएकाे छ ।
मकनवापुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको भवनको उद्घाटन गरिएकाे छ । हेटौंडा ११ थानाभर्याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको प्रशासनिक भवनको बुधबार लामाले उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री लामाले भवन उद्घाटन कार्यक्रममा नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अंग प्रहरी प्रशासन भएको बताए । ‘प्रहरी प्रशासनकाे व्यवहारबाट समग्र राज्य प्रति नागरिकको धारणा तय हुन्छ’ उनले भने । ‘मुलुकमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने मुख्य दायित्व प्रहरीको हो,’ भवन उद्घाटन गर्दै मुख्यमन्त्री लामाले भने, ‘त्यसैले प्रहरी संगठनलाई सक्षम र सबल बनाउन सकेमा समाजमा आपराधिक घटना पनि न्यून हुन्छन् ।’ प्रदेश सरकारले विगतदेखि नै प्रहरी संगठनलाई सवल र सक्षम बनाउन सहयोग गर्दै आएको पनि उनले बताए ।
नेपाल सरकारले लागू गरेको भवन निर्माणसम्बन्धी आचासंहितालाई पालना गरी भूकम्पीय जोखिमलाई न्यूनीकरण हुने गरी उक्त भवन निर्माण गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले बताए । साढे ५ तले उक्त भवन सुविधायुक्त छ । २० करोड ५१ लाखको लागतमा निर्माण गरिएको भवनमा १ सय ३२ कोठा रहेका उनले बताए ।
आ.व.२०७८/०७९ बाट निर्माण सुरु गरिएकाे प्रदेश प्रहरी कार्यालयको कार्यको लागि प्रदेश सरकारबाट स्ट्रक्चर सम्मको लागि ४ करोड ९७ लाख १ हजार १ सय २५ को लागत अनुमानमा थियो । उक्त भौतिक संरचना कर सहित ३ करोड ३ लाख २४ हजार ६ सय निर्माण सम्पन्न गर्ने गरी २६ वैशाख २०७८ मा आरआर अर्वान विल्डर्स एण्ड सप्लायर्ससँग सम्झौता भएको थियो ।
स्ट्रक्चर बाहेका भौतिक पूर्वाधारहरुको निर्माण कार्यको लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट २५करोड ३० लाख ७२ हजार ५७ रुपैयाँ लागत अनुमान स्वीकृत भई आएकाे हाे । बहुबर्षिय योजना अन्तर्गत कर सहित १७ करोड ५१ हजार २७ हजार ४ सय ४० रुपैयाँमा निर्माण गर्ने गरी मिति २८ चैत्र २०७८ मा हनुमान कन्ट्रक्सन हेटौडासँग सम्झौता भएकाे प्रदेश प्रहरी प्रम्ख केसीले जानकारी दिए ।
संघीयता कार्यान्वयन पछि प्रहरी संगठन समायोजन भई प्रदेश सरकारको मातहत आएकाे छैन । बागमती प्रदेश सरकारले प्रहरी संगठनलाई सवल र सक्षम बनाउन भवन निर्माणदेखि सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाले विनियोजित गरेको रकमबाट ०७५/०७६ मा ४६ वटा भवनको निर्माण कार्यको थालनी गरिएको थियो । आव २०७७/०७८ मा पहिलो चरणका भवनहरूको निर्माण सम्पन्न गरी दोस्रो चरणमा २१ वटा भवन निर्माण गरेको मन्त्रालयले जनाएको छ ।
हालसम्म प्रदेश सरकारले १३ जिल्लाका विभिन्न क्षेत्रमा ६२ वटा प्रहरी इकाइ भवनहरूको निर्माण गरिसकेको छ भने ३ वटा प्रहरी इकाइ भवनको निर्माण कार्य सम्पन्न हुन बाँकी छ । आव २०७९/०८० मा विनियोजित रकमबाट तेस्रो चरणअन्तर्गत ४ वटा प्रहरी इकाइ भवन निर्माण कार्य भइरहेको छ ।
आव ०८१/०८१ मा बागमती प्रदेश प्रहरी अस्पतालका लागि पनि टेन्डर आह्वानको प्रक्रिया अगाडि बढाइएको केसीले बताए ।
मकवानपुर । बागमती प्रदेशकाे दुई जिल्लामा भएकाे छुट्टाछुट्टै घटनामा दुई जनाकाे मृत्यु भएकाे छ । मकवानपुर जिल्लामा अरिँगालले टाेकेर एक जना तथा चितवन जिल्लामा धारामा चिप्लिएर लड्दा एक जनाकाे मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा अरिँगालले टोकेर एक जनाको मृत्यु भएको छ । ईन्द्रसरोबर गाउँपालिकामा –४, छापडाँडामा अरिँगालले टोकेर ३२ वर्षीय सुमन गोलेकाे मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार गोले छिमेकीको बारीमा काम गर्ने क्रममा अरिँगालले टोकेर घाईते भएका थिए । घाइते गोलेलाई उपचारका लागि मनमोहन स्मृती सामुदायिक अस्पताल फर्फिङ काठमाडौंमा लगिएकोमा बिहीबार डाक्टरले मृत घोषणाकाे प्रहरीले जानकारी दिएको छ ।
यसैगरी चितवनकाे भरतपुरमा चिप्लिएर लड्दा एक जनाकाे मृत्य भएकाे छ । मृत्यु हुनेमा भरतचपुर १० स्वस्तिक चोक वस्ने ८५ वर्षीय मुक्तिनाथ सापकोटा रहेका छन् ।
बुधबार बेलुका ८ बजे सापकाेटा घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लड्दा घाईते भएकाेमा उपचारकाे नयाँ मेडिकल कलेज भरतपुर लगिएकाे थियाे । उनकाे उपचारकाे क्रममा बुधबार राती मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।