मकनवापुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको भवनको उद्घाटन गरिएकाे छ । हेटौंडा ११ थानाभर्याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको प्रशासनिक भवनको बुधबार लामाले उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री लामाले भवन उद्घाटन कार्यक्रममा नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अंग प्रहरी प्रशासन भएको बताए । ‘प्रहरी प्रशासनकाे व्यवहारबाट समग्र राज्य प्रति नागरिकको धारणा तय हुन्छ’ उनले भने । ‘मुलुकमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने मुख्य दायित्व प्रहरीको हो,’ भवन उद्घाटन गर्दै मुख्यमन्त्री लामाले भने, ‘त्यसैले प्रहरी संगठनलाई सक्षम र सबल बनाउन सकेमा समाजमा आपराधिक घटना पनि न्यून हुन्छन् ।’ प्रदेश सरकारले विगतदेखि नै प्रहरी संगठनलाई सवल र सक्षम बनाउन सहयोग गर्दै आएको पनि उनले बताए ।
नेपाल सरकारले लागू गरेको भवन निर्माणसम्बन्धी आचासंहितालाई पालना गरी भूकम्पीय जोखिमलाई न्यूनीकरण हुने गरी उक्त भवन निर्माण गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले बताए । साढे ५ तले उक्त भवन सुविधायुक्त छ । २० करोड ५१ लाखको लागतमा निर्माण गरिएको भवनमा १ सय ३२ कोठा रहेका उनले बताए ।
आ.व.२०७८/०७९ बाट निर्माण सुरु गरिएकाे प्रदेश प्रहरी कार्यालयको कार्यको लागि प्रदेश सरकारबाट स्ट्रक्चर सम्मको लागि ४ करोड ९७ लाख १ हजार १ सय २५ को लागत अनुमानमा थियो । उक्त भौतिक संरचना कर सहित ३ करोड ३ लाख २४ हजार ६ सय निर्माण सम्पन्न गर्ने गरी २६ वैशाख २०७८ मा आरआर अर्वान विल्डर्स एण्ड सप्लायर्ससँग सम्झौता भएको थियो ।
स्ट्रक्चर बाहेका भौतिक पूर्वाधारहरुको निर्माण कार्यको लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट २५करोड ३० लाख ७२ हजार ५७ रुपैयाँ लागत अनुमान स्वीकृत भई आएकाे हाे । बहुबर्षिय योजना अन्तर्गत कर सहित १७ करोड ५१ हजार २७ हजार ४ सय ४० रुपैयाँमा निर्माण गर्ने गरी मिति २८ चैत्र २०७८ मा हनुमान कन्ट्रक्सन हेटौडासँग सम्झौता भएकाे प्रदेश प्रहरी प्रम्ख केसीले जानकारी दिए ।
संघीयता कार्यान्वयन पछि प्रहरी संगठन समायोजन भई प्रदेश सरकारको मातहत आएकाे छैन । बागमती प्रदेश सरकारले प्रहरी संगठनलाई सवल र सक्षम बनाउन भवन निर्माणदेखि सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाले विनियोजित गरेको रकमबाट ०७५/०७६ मा ४६ वटा भवनको निर्माण कार्यको थालनी गरिएको थियो । आव २०७७/०७८ मा पहिलो चरणका भवनहरूको निर्माण सम्पन्न गरी दोस्रो चरणमा २१ वटा भवन निर्माण गरेको मन्त्रालयले जनाएको छ ।
हालसम्म प्रदेश सरकारले १३ जिल्लाका विभिन्न क्षेत्रमा ६२ वटा प्रहरी इकाइ भवनहरूको निर्माण गरिसकेको छ भने ३ वटा प्रहरी इकाइ भवनको निर्माण कार्य सम्पन्न हुन बाँकी छ । आव २०७९/०८० मा विनियोजित रकमबाट तेस्रो चरणअन्तर्गत ४ वटा प्रहरी इकाइ भवन निर्माण कार्य भइरहेको छ ।
आव ०८१/०८१ मा बागमती प्रदेश प्रहरी अस्पतालका लागि पनि टेन्डर आह्वानको प्रक्रिया अगाडि बढाइएको केसीले बताए ।

