मकवानपुर । सिन्धुलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा दोलखाको गौरीशंकरका २८ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको छ।
झापाबाट काठमाडौँ जान आउँदै गरेकाे बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरकाे गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका- ५ स्थित बीपी राजमार्गमा शुक्रबा बिहान पौने पाँचबजे सडकबाट झण्डै चारसय मिटर तल खसेर दुर्घटना भएको थियाे।
उक्त दुर्घटनामा घाइते हुनेहरुमा इलामको देउमाई- ८ का ५३ वर्षीय सनबाहादुर तामाङ, मोरङको लेटाङ- २ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौँको कागेश्वरी मनोहरा- ५ की २८ वर्षीया श्वेता गिरी, सोही ठाउँमा २८ वर्षीय सञ्जय रोका र झापाकाे बारादशी- १ का २७ वर्षीय तिस्कु मण्डल रहेका छन्।
घाइतेमध्ये मोरङ लेटाङकी देवी लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । घाइतेहरुकाे जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। ‘गम्भीर घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेकाे बताइएकाे छ ।
गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ भने दुर्घटना भएकाे गाडी चालककाे पहिचान खुलेकाे छैन ।
मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिबाट भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका– १ गडुवानका ५२ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मनहरी– ९ स्थित हरियाली सामुदायिक वनमा थिङलाई भरुवा बन्दुक काँधमा बोकी हिँडिरेहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले थिङको साथबाट एक थान अबैध भरुवा बन्दुकसहित फलामको विभिन्न साइजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साइजको लाम्चो आकारको वस्तु ३३ थान, बारुदजस्तो देखिने पाउडर ३०५ ग्राम, ढुंगाजस्तो देखिने वस्तु २४ थान र एक थान खुकुरी बरामद गरेको प्रवक्ता अर्यालले जानकारी दिए।
थिङलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ‘शुभयात्रा अभियान’ सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले अभियान सुरु गरेकाे हाे ।
जिल्लामा मोटरसाइकलकाे दुर्घटना बढी हुने गरेकाले मोटरसाइकल चालक लक्षित गरी अभियान सुरु गरिएकाे कार्यालयले जनाएकाे छ । माेटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्ने उद्देश्यले शुभयात्रा अभियान सुरु गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख केशव अधिकारीले जनकारी दिए ।
अधिकारीका अनुसार अभियान अन्तर्गत ट्राफिक प्रहरीले चालकलाई शुभकामना दिनुका साथै सुरक्षित यात्राका लागि सचेत गराउने छन् । “शुभयात्रा मात्रै नभनी नमस्कार,आरामसँग चलाउनुहोस्, पछिल्लो समय मोटरसाइकल दुर्घटना बढेकाले तपाईंहरूको विवरण राख्दै सुरक्षित यात्राको कामना गर्छौं” भन्दै ट्राफिक प्रहरीले चालकलाई सचेत गराउने गरेका छन् ।
यसैगरी हेलमेट लगाउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र जीवनको महत्व बुझ्न प्रहरीले सम्झाउने गरेको अधिकारीले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाकाे राक्सिराङ गाउँपालिकाबाट २१२ केजी गाँजासहित बाेलेराे गाडी नियन्त्रणमा लिएको छ । राक्सिराङ ५ चैनपुरमा प्रहरीले उक्त परिमाणको गाँजासहित बोलेराे नियन्त्रणमा लिएको हो ।
कैलाश गाउँपालिका तर्फबाट मनहरी बजारतर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो गाडीका चालकले प्रहरीलाई देख्नासाथ गाडीमा सवार १ जना व्यक्तीसहित गाडी सडकमा छोडी भागेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उक्त गाडीको पछाडी ढालाको भागमा लुकाइ ल्याइएको अवस्थामा २१२ केजी गाँजा बरामद गरिएकाे हाे ।
बरामद गरिएकाे गाँजा र गाडी नियन्त्रणमा लिई फरार रहेका व्यक्तीहरुकाे खोजतलास तथा आवश्यक अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमफेदी ३ ईचुङ बस्ने ५३ वर्षीय चमेली माया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चमेली माया शनिबार बेलुका घरबाट ५ सय मिटर दक्षिणमा रहेको घट्टेखोलाको भीरमा घाँस काट्न गएकोमा २ सय मिटर तल खसी मुत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भैंसेबाट प्रहरी वरिष्ठ हबल्दार सुयन कुमार यादव र इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक ललिता ढकाल सहितको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरेको छ । मृतकको शव पाेष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।