मकवानपुर । चितवन जिल्लाकाे भतरपुर महानगरकाे विभिन्न स्थानमा भएकाे घटनामा ५ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर – १, ३, ४, ७ र २९ मा भएकाे छुट्टाछ्ट्टै घटनामा ५ जनाकाे मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका–१ मा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे छ । शुक्रबार मनास्लु होटल अगाडी पिपलको रुख मुनी नामथर नखुलेको अन्दाजी ५० वर्षीय पुरुष अचेत अवस्थामा फेला परेको प्रदेश प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हाे ।
यसैगरी भरतपुर महानगरपालिका–३, पुलचोकमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती आँपटारीबाट गैंडाकोटतर्फ आउँदै गरेको ग २ ख १०८० नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रेपलाञ्चोक जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–३, बस्ने ६० वर्षीय ताईसन तामाङ गम्भिर घाइते भएका थिए । घाइते ताईसनलाई उपचारका लागि चितवनस्थित भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा शुक्रबार राती नै डाक्टरले मुत्यु घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै चितवनको भरतपुर महानगरपालिका–४, गैंडाचोकमा एक जना पुरुषको शव फेला परेको छ । शुक्रबार नारायणी नदीको तिरमा हाल नाम थर नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–७, प्रेमबस्तीचोकमा बलेरोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो गितानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५ च २६४४ नम्बरको अण्डा लोड गरेको बलेरोले सोही दिसातर्फ जाँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा भरतपुर महानगरपालिका–६, ईन्द्रपुरीकी ५२ वर्षीया लक्ष्मी वाग्ले घाईते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बलेरो चालक मकवानपुरको मनहरी गाउँपालिका–६, बस्ने २५ वर्षीया पेमा लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९, सिमतालमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला ठोरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय माधव प्रसाद बाँस्कोटा रहेको प्रदेश प्रहरीले जानकारी दिएको छ । शुक्रबार बाँस्कोटा स्थानीय श्याम थकालीको घर अगाडि बरण्डामा अचेत अवस्थामा फेला परेका थिए । बास्कोटालाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे सवारी दुर्घटनामा नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल घाइते भएका छन् । आफैँले चलाएको स्कुटर दुर्घटना हुँदा अध्यक्ष पोखरेल घाइते भएका हुन् ।
हेटौंडा उपमहानगरपालिका–५, पुष्पलालपार्क अगाडि उनले चलाएकाे स्कुटर अनियन्त्रित भई दुर्घटना हुँला घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बिहान पाेखरेलले चलाएकाे बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । अध्यक्ष पोखरेलको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको र आइसीयूमा उपचार भइरहेको छ । उनकाे स्वास्थ्यमा सुधार भएकाे तथा अवस्था खतरामुक्त रहेको बताइएको छ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा माेटरसाइकलले ठक्कर दिंदा १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार राती मनहरी -७ लच्का स्थित पुर्व पश्चिम सडक खण्डमा मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प. १११४ नम्बरकाे माेटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिंदा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
नामथर वतन नखुलेको अन्दाजी ६०/६१ वर्षीय महिलाले बाटो पार गर्ने क्रममा उक्त माेटरसाइकलले ठक्कर दिँदा घाइते भएकाेमा उपचारकाे लागि हेटौंडा अस्पताल ल्याइएकाे थियाे । उक्त महिलाकाे बिहीबार राती नै डाक्टरले मृत घाेषणा गरेका थिए । महिलालाई ठक्कर दिए पछि फरार माेटरसाइकललाई इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटासहितको टाेलीले खोजतलाश गर्ने क्रममा बिहीबार राती माेटरसाइकल मनहरी – ६ प्रतापपुरबाट नियन्त्रणमा लिएकाे हाे ।
माेटरसाइकल चालक मनहरी-६ प्रतापुर बस्ने ३२ वर्षीय मन्शु गुरुङलाई निजकै घरबाट उक्त माेटरसाइकलसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । गुरुङ र माेटरसाइकललाई इलाका प्रहरी कार्यालय मनहरी ल्याई थप अनुसन्धान भईरहेको छ । मृतक महिलाको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ५ हजार ७५० पत्ता लागूऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्दा उक्त परिमाणमा लागूऔषधसहित २ जनालाई पक्राउ गरेकाे हाे ।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालयका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७, बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान र सोही स्थानका वर्ष २३ को सुनिल पटेल रहेका छन् । बारा जिल्लाको सिम्रौनगढबाट हेटौंडातर्फ आउँदै गरेको उक्त योद्धा पिकअप गाडीलाई सुरक्षाजाँच गर्ने क्रममा ५ हजार ७५० क्याप्सुल ट्रामाडोल बरामद गरिएकाे मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए ।
चालक पासवान र सहचालक पटेल माथि शंका लागेर तलासी गर्दा गाडीको अगाडिको ईन्जिन भएको भागमा लुकाई ल्याएको अवस्थामा ट्रामाडोल ५ हजार ७५० थान (५७ हजार ५०० क्याप्सुल) बरामद भएको हाे । उक्त ट्रामाडोलको बजार मूल्य प्रतिपत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ रुपैयाँ हुने प्रहरीले जनाएकाे छ ।
लागुऔषध ट्रामाडाल हेटौंडामै बिक्री वितरणका लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । पक्राउ गरिएका २ जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नवनिर्मित महिला व्यारेक भवन उद्घाटन गरिएको छ । बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले भवन उद्घाटन गरेका हुन् ।
महिला व्यारेक भवन एक करोड ९५ लाख ७३ हजार रुपैयाँमा निर्माण भएको हो । व्यारेक भवन निमार्णका लागि २०८० साल असोज ८ गते रौतहट जिल्लाको गौरीगणेश कन्स्ट्रक्सन र जिल्ला प्रहरी कार्यालय मकवानपुर बीच निर्माण सम्झौता भएकाे थियाे । केहि डिजाइनहरु थपघट भएकोले परिमार्जित सम्झौता रकम वृद्धि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानएको छ । मूल्य अभिवृद्धिकरसहित एक करोड ९१ लाख ९ हजार रुपैयाँ लागतमा निर्माण सम्झौता भएकाे थियाे ।
५०४ वर्गमिटर क्षेत्रफलको तीन तल्ले नवनिर्मित व्यारेकमा ५० जना महिला प्रहरी कर्मचारीकाे आवासीय सुविधा सहितकाे सेवा रहने बताइएको छ । प्रमुख अतिथि लामिछानेले नवनिर्मित महिला भवन निर्माण कार्यमा योगदान पुर्याएको भन्दै निर्माण कम्पनी गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवन कुमार मिश्रलाई प्रशंसापत्र प्रदान गरेका थिए । यसैगरी प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फीलाल साहलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको छ ।