मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नवनिर्मित महिला व्यारेक भवन उद्घाटन गरिएको छ । बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले भवन उद्घाटन गरेका हुन् ।
महिला व्यारेक भवन एक करोड ९५ लाख ७३ हजार रुपैयाँमा निर्माण भएको हो । व्यारेक भवन निमार्णका लागि २०८० साल असोज ८ गते रौतहट जिल्लाको गौरीगणेश कन्स्ट्रक्सन र जिल्ला प्रहरी कार्यालय मकवानपुर बीच निर्माण सम्झौता भएकाे थियाे । केहि डिजाइनहरु थपघट भएकोले परिमार्जित सम्झौता रकम वृद्धि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानएको छ । मूल्य अभिवृद्धिकरसहित एक करोड ९१ लाख ९ हजार रुपैयाँ लागतमा निर्माण सम्झौता भएकाे थियाे ।
५०४ वर्गमिटर क्षेत्रफलको तीन तल्ले नवनिर्मित व्यारेकमा ५० जना महिला प्रहरी कर्मचारीकाे आवासीय सुविधा सहितकाे सेवा रहने बताइएको छ । प्रमुख अतिथि लामिछानेले नवनिर्मित महिला भवन निर्माण कार्यमा योगदान पुर्याएको भन्दै निर्माण कम्पनी गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवन कुमार मिश्रलाई प्रशंसापत्र प्रदान गरेका थिए । यसैगरी प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फीलाल साहलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको छ ।

